धुलिखेल । पत्रकारको योजनाबद्ध हत्या, सञ्चारगृह तथा पत्रकारमाथि भएका आक्रमण र आगजनीको विरोध गर्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखाले काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
पत्रकार महासंघ केन्द्रीय समितिको आह्वानमा मंगलबार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने नेतृत्वको टोलीले काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई सो ध्यानाकर्षण पत्र बुझाएको हो ।
प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारसमक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान, गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारवाही गर्न ध्यानाकर्षण पत्रमा माग गरिएको छ । पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले पत्रकारको सुरक्षालाई गम्भीरताका साथ लिने प्रतिबद्धता व्यक्त गरे ।
पत्रकार महासंघ काभ्रेले पछिल्लो समय पत्रकार तथा सञ्चारगृहमाथि भएका आक्रमणको भर्सना गर्दै यस्ता घटना दोहोरिन नदिन राज्य जिम्मेवार बन्नुपर्ने आफ्नो ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ । साथै साता दिनभित्र माग सम्बोधन नभए सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने पनि महासंघले जनाएको छ ।
शुक्रबार काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शनका क्रममा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको थियो । अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयको भुइँतल्लामा आगो लगाउनुको साथै ढुङ्गामुढा गरी क्षति पुर्याइएको, कान्तिपुर टेलिभिजनको भवनमा ढुङ्गामुढा गरी क्षति पुर्याइएको, हिमालयन टेलिभिजनको सवारीसाधनमा तोडफोड गरिएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको तथा फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको थियो । त्यसलगत्तै महासंघ आन्दोलनमा छ ।
