धुलिखेल । रोटरी क्लब धुलिखेलले विभिन्न चार वटा अस्पताललाई हेमोडायलाइसिस मेसिन हस्तान्तरण गरेको छ ।
क्लबले धुलिखेल अस्पताललाई १०, शिर मेमोरियल अस्पताललाई १०, बाँकेको कोहलपुरमा रहेको कौशल्या मेमोरियल अस्पताललाई १० र बर्दघाट स्थित शहीद स्मृति अस्पताललाई ६ गरी जम्मा ३६ वटा मेसीन हस्तान्तरण गरेको छ । आइतबार धुलिखेलमा आयोजित कार्यक्रममा मृगौला रोगीलाई थप सहज बनाउन जर्मन रोटरी भोलेन्टियर डाक्टर ईभीको सहयोगमा ३६ वटा हेमोडायलाइसिस मेशिन हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि सांसद तथा उद्योगपति विनोद चौधरीले अन्तर्राष्ट्रिय संस्थाले दिएका यस्ता खाले सहयोग नेपाली नागरिकसम्म पुर्याउन सरकारी प्रक्रियाले झन्झट भइरहेको बताए । उनले धुलिखेल नगरपालिकाको उदाहरण दिँदै सकारात्मक सोच राख्ने जनप्रतिनिधि भए विकासले गति लिने बताए ।
कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जु श्रेष्ठले संस्थाको सामाजिक भावना बृहत भयो भने देशव्यापी काम गर्न सकिने बताए । उनले धुलिखेल नगरपालिकाले स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको बताउँदै आगामी दिनमा वातावरणमैत्री, छुवाछुत मुक्त र गरिव नभएको शहर बनाउन प्रत्येक घरमा सर्वेक्षणको काम सुरु गरिएको जानकारी दिए ।
कार्यक्रममा धुलिखेल नगरपालिका, धुलिखेल अस्पताल र रोटरी क्लव अफ धुलिखेलको त्रिपक्षीय साझेदारीमा ब्लड बैंक तथा रिसर्च सेन्टर स्थापना गर्ने सम्झौता गरिएको छ । त्यस्तै धुलिखेल नगरपालिका र रोटरी क्लव अफ धुलिखेलको साझेदारीमा विद्युतीय शवदाह गृह निर्माण गर्ने सम्झौता पत्रमा समेत हस्ताक्षर गरिएको छ । कार्यक्रममा रोटरी क्वब अफ धुलिखेलकी अध्यक्ष ज्योत्सना सैंजुले हस्तान्तरण गरिएका हेमोडायलाइसिस मेसिनको मूल्य ५ करोडभन्दा बढी पर्ने जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *