बनेपा । नेपाल पत्रकार महासघं काभ्रे शाखाको आयोजनामा गत बुधबार बनेपाको चारदोबाटोमा चैत १५ गते हत्या गरिएका पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा गरिएको छ ।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, पूर्वअध्यक्ष भोजराज तिमल्सिना, ईश्वरी ओझा, महेश पौड्याल, मोतिराम तिमल्सिना, महासंघका पदाधिकारी लगायत सञ्चारकर्मीहरुको उपस्थितीमा पत्रकार रजकको फोटोमा माल्यार्पण गर्दै दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा काभ्रे शाखाका अध्यक्ष न्यौपानेले चैत १५ गते पत्रकार रजकको रहस्यमय तरिकाले हत्या भएको बताउँदै दोषीमाथी कडा कारबाहीका लागि एक हप्ताको अल्टिमेटम दिइएपनि त्यो अवधिमा सत्यतथ्य बाहिर नआएपछि महासंघ दोस्रो चरणको आन्दोलनमा उत्रिएको बताए ।
सरकारले दोषीको खोजी, पहिचान र कारबाही गर्नमा ढिलाई गरिरहेको भन्दै अध्यक्ष न्यौपानेले सामान्य घटनामा समेत तत्कालै छानविन समिति बनाउने सरकारले पत्रकार जिउँदै जलिरहँदा पनि छानविन समितिसमेत बनाउन नसकेको भन्दै आक्रोश पोखे । घटनाबारेमा न्यायिक समिति गठन गरेर सत्यतथ्य पत्ता लगाउँदै दोषीमाथी कारबाही गर्न माग गर्दै उनले सञ्चार क्षेत्रको सुरक्षाका लागि पनि माग गरेका छन् ।
प्रेस स्वतन्त्रता हननमा संलग्नहरूमाथि कानुनी कारबाही गर्न, रजकका परिवारका साथै क्षति पुगेका सञ्चार गृहलाई यथोचित क्षतिपूर्ति र घाइते पत्रकारको निःशुल्क उपचारका लागि सरकारले कुनै चासो नदेखाएकाले नेपाल पत्रकार महासंघले आफ्ना माग पूरा गराउन सरकारलाई थप दबाब दिनुपर्ने अवस्था सिर्जना भएको अध्यक्ष न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *