बनेपा । १८ वर्षअघि काभ्रेको बनेपामा सामान्य अवस्थाबाट शुरु भएको रेयुकाई एईको मासुनागा आँखा अस्पतालले सेवा विस्तार गरेसँगै सेवाग्राहीको संख्या पनि बढेका छन् ।
सन् २००७ मा स्थापना भएको अस्पतालले २०२४ सम्ममा ११ लाखभन्दा बढी नागरिकहरुलाई सेवा उपलब्ध गराएको छ । हाल ६ जना विशेषज्ञ डाक्टरहरुद्वारा नियमित सेवा प्रदान गर्दै आएको अस्पतालले बनेपाका साथै भकुण्डे, सिन्धुपाल्चोकको खाँडीचौर र धनुषाको ढल्केबरमा समेत सेवा उपलब्ध गराउँदै आएको छ । ३ वटा उपचार केन्द्र र ३ वटा आँखा अस्पताल संचालन गरेको अस्पतालले बनेपामा मात्रै एकै दिन ओपिडी सेवा ४ सयलाई उपलब्ध गराएको छ ।
यसैबीच शुक्रबार रेयूकाइ एईको मासुनागा आँखा अस्पतालका संस्थापक संरक्षक युशुन मासुनागाको बनेपास्थित अस्पताल परिसरमा निर्माण गरिएको अर्धकदको शालिक अनावरण गरिएको छ । कार्यक्रममा रेयूकाइ एईको मासुनागा आँखा अस्पतालका संरक्षक हिरोको मासुनागा, रेयूकाई जापान आठौं शाखाका बोर्ड अफ डाइरेक्टर तुमोचुगु मासुनागा र मासारु मियाचीलगायतले शालिक अनावरण गर्नुभएको हो । सो अवसरमा कर्मचारी प्रगति श्रेष्ठले अस्पतालले उपलब्ध गराइरहेको सेवालगायत विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा अस्पतालका संरक्षक प्रमुख अतिथि हिरोको मासुनागाले नेपाल र जापानबीचको सम्बन्धलाई निरन्तरता दिन भइरहेका प्रयत्न तथा आँखा अस्पतालमार्फत नेपाल र नेपालीलाई सेवा उपलब्ध गराउन सकिएको बताउनुभयो । तुमोचुगु मासुनागाले बुद्धको जन्मभूमि नेपाल महान देश भएको उल्लेख गर्दै नेपालीले विश्व शान्तिको आँखा बनेर काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले अरुको दुःख आफ्नो दुःख र अरुको सुख आफ्नो सुख सोचेर काम गर्न पनि आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानेले अस्पतालले उपलब्ध गराएको गुणस्तरीय सेवाको प्रशंसा गर्दै आफू पनि यहाँको सेवाग्राही रहेको बताउनुभयो । कार्यक्रममा अस्पतालका कोषाध्यक्ष दिनेश कायश्थ, अस्पतालका महासचिव हिरामणि शर्मा, सहसचिव धर्मभक्त प्रधान, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यलगायतले अस्पतालको सेवा र आगामी दिनमा थप प्रगतिको कामना गर्नुभयो ।
अस्पतालका अध्यक्ष मधु आचार्यले रेयुकाई एईको मासुनागा आँखा अस्पतालले काभ्रेपलाञ्चोक र आसपासका क्षेत्रका नागरिकहरुमा आँखामा हुने रोगहरुको पहिचान, उपचारसँगै मोतियाविन्दु मुक्त बनाउने अभियानमा तीन तहकै सरकारको समन्वय आवश्यक रहेको बताउनुभयो । अध्यक्ष आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
