काठमाडौं । काठमाडौंको सडकमा चर्किरहेको शिक्षकहरूको आन्दोलनकाबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ ।
देशभरका शिक्षकहरूले सङ्घीय राजधानीको सडकमा आन्दोलन चर्काएको १९ दिन पुग्दा शिक्षामन्त्री भट्टराईले भने पदबाट राजीनामा दिनुभएको हो । उहाँले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाउनु भयो ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका देशभरका शिक्षकहरूको मागलाई सम्बोधन गर्न उहाँ सक्रिय रूपमा लाग्नुभएको थियो । तर शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्री ओली र सरकारले नै चासो नदिएपछि उहाँ दबाबमा पर्नुभएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
लामो समयदेखि संसदीय समितिमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकलाई पारित गर्न उहाँले सक्रियता बढाउनुभएको थियो । गत चैत्र २० गतेदेखि आन्दोलन शुरु गरेका शिक्षकहरूले चैत्र २५ गतेदेखि शैक्षिक सत्र ठप्प पारेर काठमाडौं केन्द्रित आन्दोलन शुरु गरेका थिए । सरकारले वैशाख १२ गतेदेखि शुरु हुने संसदको बजेट अधिवेशनबाटै विद्यालय शिक्षा ऐन जारी गर्ने आश्वासन दिँदै आन्दोलन छोड्न आग्रह गरिरहे पनि शिक्षकहरूले सडक छाडेका छैनन् ।
यता सरकारले रिक्त मन्त्रालयको जिम्मा रघुजी पन्तलाई दिएको छ । बुधबार नियुक्त पन्तले बिहीबार शपथ ग्रहण पनि लिइसकेका छन् । उनी एमालेका सांसद हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *