दिपकप्रसाद पौडेल
बनेपा । राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपालमै पहिलो पटक विसं २००० सालमा काभ्रेपलाञ्चोक जिल्ला साविक पूर्व १ नम्बरमा सहकारी संस्था खोल्न अगुवाई गर्दै नेतृत्व गर्नुहुने बनेपा निवासी प्रतिष्ठित सामाजिक व्यक्तित्व स्व राजदास बादेज्यू प्रति हार्दिक श्रद्धासुमन अपर्ण गर्दै नमन गर्न चाहन्छु ।
यस्तै चितवन जिल्लाका बाढीपीडित किसानहरुलाई संगठित गरेर सहकारी ऋण समिति गठन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै नेतृत्व गर्नुहुने स्व बखानसिंह गुरुङ्ग, सहकारी ऐन २०१६ ल्याउने प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व. बिपी कोइराला, सहकारी ऐन २०४८ जारी गर्ने तत्कालीन सरकार, प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालालाई सम्झन चाहन्छु । नेपालका सहकारी अभियानमा संलग्न सबै अग्रजहरु, सहकारी संघ संस्थामा आवद्ध सदस्य, सञ्चालक समिति, कर्मचारी, शुभेच्छक सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
काभ्रेपलाञ्चोक जिल्लाबाट सहकारीको शुरुवात भएको हो भनी तदारुकताका साथ लाग्ने र यो विषय उठाउने स्व कैलाशभक्त प्रधानाङ्गज्यू प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । सहकारीको विकासमा सहयोग पुर्याउनु हुने तिनै तह, स्थानीय, प्रदेश र संघीय सरकार र ती सरकारका सहकारी सम्बद्ध निकायहरुमा कार्यरत कर्मचारीहरु सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । नेपालमा राष्ट्रिय सहकारी दिवस मनाउन शुरुवात गरिएको र काभ्रेपलाञ्चोक जिल्लाबाट सहकारीको प्रारम्भ भएको ऐतिहासिक तथ्य यस प्रकार रहेको जानकारी गराउँदछु ।
१) चैत्र २० गते नेपालमा राष्ट्रिय सहकारी दिवस मनाउन शुरुवात सहकारी ऐन २०४८ अनुसार २०५० साल असार ६ गते राष्ट्रिय सहकारी संघको गठन भएपछि राष्ट्रिय सहकारी संघको पहलमा त्यसपछिका वर्षहरुबाट शुरु गरिएको र यससँगै नेपाल सरकारले पनि यसै दिनलाई सहकारी दिवस मनाउँदै आएको छ ।
२) २०१३ साल चैत्र २० गते चितवन जिल्लामा दर्ता भएको बखानपुर सहकारी ऋण समितिलाई नेपालमा दर्ता भएको पहिलो सहकारी संस्था मानेर सहकारी दिवस मनाउँदै आइएको छ । २०१३ बाट गणना गर्दा यो वर्ष हामी ६८औं सहकारी दिवस भनी मनाइरहेका छौं । तर त्यस अघि नै विसं २००० साल भदौमा काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा सहकारी संस्था खुलेको ऐतिहासिक तथ्य प्रमाणहरु सरकारी दस्तावेजहरुमा उल्लेख भएको पाइन्छ ।
३) काभ्रेपलाञ्चोक जिल्ला बनेपाबाट सहकारी संस्थाको प्रारम्भ भएको ऐतिहासिक तथ्यगत विषयहरुको प्रमाण सरदार भीमबहादुर पाण्डेले लेख्नुभएको त्यस बखतको नेपाल भाग २ र भाग ३ मा उल्लेख भए अनुसार विसं २००० साल भाद्र माहिनामा बनेपाका समाजसेवी प्रतिष्ठित व्यक्ति रानदास बादे श्रेष्ठको अगुवाइ, सकृयता, नेतृत्वमा मे.ज. विजयशम्सेर जबरा र श्री भीमबहादुर पाण्डेको सहयोगमा पूर्व १ नम्बर काभ्रेपलाञ्चोकका कृषकहरुको जमीन साहुको बन्धकीबाट निखनी उनीहरुको अवस्था सुधार ल्याउन, कृषि उत्पादनमा बृद्धि गर्न बनेपामा ल्याण्ड मोटगेज बैंक तथा को–अपरेटीभ सोसाइटी (भू–बन्धकी बैंक र को–अपरेटीभ सोसाईटी) स्थापना भएको थियो ।
यो बैंक र को–अपरेटीभ स्थापना गर्नु अघि सरकारीस्तरबाट विसं २००० साल बैशाख १० गतेदेखि असार १५ गते सम्म सर्वेक्षण गरी प्रतिवेदन बुझाएको थियो । सर्वेक्षण काभ्रेपलाञ्चोकको साँगा, बनेपा, नाला, धुलिखेल, दाप्चा, खड्पु, पनौती, तिमाल, पाँगु, खोपासी र सिन्धुपालाञ्चोकको सीपा, चौतारा, घुमथाङ्ग, जलवीरे, लिस्नी, कोदारीका सेरोफेरोका प्रमुख गाउँ र हटियामा गरिएको थियो । सर्वेक्षणका प्रश्नहरु मध्ये कसको को सँग कति कति ऋण छ ? ऋण कति पुरानो हो ? के दरमा साहु (व्याज) तिर्ने गरेकोछ ? त्यस ताका ढ्याके व्याज, आने व्याज, नुने व्याजको चलन थियो । त्यस समय रु. १०० को वार्षिक १९० सम्म व्याज तिर्नु पर्दथ्यो ı गरीब किसानहरुको बन्धकीमा रहेको जग्गा जमीन निखन्न (साहुबाट किसानलाई फिर्ता दिने) सहुलियत व्याजमा ऋण दिन, कृषि र घरेलु इलमीलाई बिज, कोरा जिनीस सुपथ मूल्यमा किन्ने र उनीहरुले तयार गरेको सामान उचित मूल्यमा बेच्ने प्रबन्ध मिलाउन संस्था स्थापना भएको थियो ।
यो संस्था खोल्न सरकारबाट पटके १ लाख र वार्षिक १२ हजार खर्च दिने गरेको थियो । करीब ५ वर्ष सञ्चालनमा रहेर यो संस्था २००५ साल चैत्र १ गते खारेज भएकोले यसमा काम गर्ने कर्मचारीहरुलाई राष्ट्रिय आर्थिक योजना समितिमा काममा लगाई राख्नु भन्ने विसं २००६ साल जेष्ठ १० गते संस्था खारेज भएको खड्ग निसानमा लेखिएको छ ।
४) काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा पहिलो सहकारी संस्था खोलेको बारेमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कून) का पूर्वअध्यक्ष स्व कैलाशभक्त प्रधानाङ्गले लेख्नु भएको पुस्तकमा नेपालमा सहकारी ऐन, विकासक्रम २०६४ र अस्थिर मुलुकमा स्थिर सहकारी पुस्तक २०७६ मा उल्लेख गर्नु भएको छ । यो विषयमा उहाँले जीवनको अन्तिम अवस्थासम्म पनि निरन्तर उठाउँदै आउनु भएको थियो । हामी सहकारी अभियन्तालाई यस बारेमा जानकारी गराउने र उत्प्रेरणा दिइरहनु हुन्थ्यो ।
५) काभ्रेपलाञ्चोक जिल्लाबाट प्रारम्भिक संस्था, जिल्ला, केन्द्रीय संघमा सञ्चालक समितिमा रहेर लामो समय काम गर्दै सहकारी अभियानमा संलग्न रही राष्ट्रिय सहकारी महासंघमा १० वर्ष राष्ट्रिय प्रतिनिधि र राष्ट्रिय सहकारी विकास बोर्डमा २ कार्यकाल र नेपाल सरकार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा रही कार्य गरेको, सहकारी विषयमा खोजी, अनुसन्धान गर्दै लेखहरु, पुस्तकहरु लेख्ने म (दीपकप्रसाद पौडेलले) सहकारीका हरेक कार्यक्रमहरुमा सरदार भीमबहादुर पाण्डेले लेख्नु भएको त्यस बखतको नेपालमा उल्लेख भएको विषय, कैलाशभक्त प्रधानाङ्गले लेख्नु भएको र अग्रज राजदास बादेका भाइ गोपालदास बादेसँग र बनेपाका बुद्धिजिवी लेखकहरुसँगको सम्पर्कबाट प्राप्त जानकारी अनुसार नेपालमा पहिलो सहकारी संस्था बनेपामा खुलेको बारे विभिन्न पत्रपत्रिकाहरुमा २०५७ सालदेखि नै लेख्ने, साधारण सभाहरुमा बोल्ने र सरकारी निकायहरुमा यसबारे जानकारी गराउँदै आएको थिएँ । पछिल्ला वर्षहरुमा सहकारी क्षेत्रमा कार्य गर्नेहरुको ध्यान यसतर्फ गएको छ । माननीय सूर्य थापा संयोजक रहेको संसदीय छानविन विशेष समितिलाई यस ऐतिहासिक विषयमा म सहित काभ्रेपलाञ्चोकका सहकारी अभियन्ता, पत्रकारहरुले अवगत गराएका थियौं । ती कामहरुबाट यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण भएको छ ।
६) संघीय संसद, प्रतिनिधि सभाबाट गठन भएको माननीय सूर्य थापा संयोजक रहेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन २०८१ को परिच्छेद ३ को नेपालमा सहकारीको ऐतिहासिक विकास, उपशीर्षक ३।१ अवधारणा विकासको चरण (२०००–२००५) मा, विसं २००० साल भाद्रमा बनेपामा सहकारी संस्था खुलेकोबारे यस्तो उल्लेख गरिएको छ ।
अवधारणा विकासको चरण (२०००–२००५)
योजनाबद्ध तरिकाले नेपालको आर्थिक विकास गर्ने हेतुले, देशव्यापी आर्थिक सर्भेको काम थाल्नुअघि केकस्तो किसिमबाट सो गर्नाले काम चाँडो, प्रभावकारी र किफायतसाथ सम्पन्न गर्न र एकाध किसिमका काम तुरुन्त थाल्न सकिएला भनी संवत् २००० बैशाख–जेठमा एक नमुना आर्थिक सर्भे पूर्व नं १ हालको काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा गरिएको थियो ।
काभ्रेपलाञ्चोक जिल्लाका साँगा, बनेपा, नाला, धुलिखेल, दाप्चा, खड्पू, पनौती, तिमाल, पाँगू, खोपासी र पलाञ्चोक तथा सिन्धुपाल्चोक जिल्लाका सिपा, चौतारा, घुमथाङ, जलविरे, लिस्ती, कोदारी र सेरोफेरोका प्रमुख गाउँ र हटियाको आर्थिक अवस्था अध्ययन गरी प्रतिवेदन तयार पारिएको थियो । उक्त नमुना आर्थिक सर्भेले आफ्नो प्रतिवेदनको सुझाव खण्डको ८ नं. मा ‘ग्रामीण जनतालाई चर्को सुदको कारण साहुको हातमा परेको जमिन जनताले निखनी आफ्नो भोगमा राख पाउने गरी जिल्लैपिच्छे तुरुन्त भू–बन्धक (लाएण्ड मोर्टगेज) बैङ्क र जनतालाई आवश्यक औद्योगिक कोरा जिनिस र तयारी माल विक्रीबितरण गर्न सहयोगी संस्था (कोअपरेटिभ सोसाइटी) खोल्ने ताकी कृषिको उत्पादन र जनताको क्रयशक्ति सँगसँगै बढ्न सकोस् भन्ने उल्लेख थियो ।
शतप्रतिशत जस्तै कृषक भएको नेपाल अधिराज्यमा कृषकलाई ऋणबाट मुक्त गरी कृषि उत्पादन बढाउनु र पुरानो घरेलु उद्योग पुनः सुरु र नयाँको स्थापना नै नेपालको छिटो आर्थिक विकास निर्भर हुने तथ्यबाहेक नेपाल सरकारको अगाडि त्यसबेला अर्को कुनै विकल्प थिएन । उक्त सुझावमा यो काम सरकारले गर्न सक्दछ र त्यो काम सुरु पनि गरिहाल्नु पर्दछ भन्ने तथ्य समेतको सुझाव थियो ।
सुझावका सम्बन्धमा तत्कालीन श्री ३ जुद्धशमशेरलाई लामो व्याख्या गरेपछि हाल एक ठाउँमा चलाउनलाई पटके एक लाख रूपैयाँ र कर्मचारीको दरबन्दी पास गरिदिनू भन्ने आदेश भई सोही कुरालाई सरदार भूपध्वपज कार्कीले खड्ग निशाना लगाइदिएपछि २००० साल भदौ महिनामा लाएण्ड मोर्टगेज (साहुको ऋण चुक्तागरी हलुका व्याज लिने गरी जमिन साहुबाट निखनी किसानलाई फिर्ता दिने) र कोअपरेटिभ सोसाइटी (कृषि र घरेलु इलमीलाई आवश्यक बीज अथवा औद्योगिक कोरा जिनिस सुपथ मूल्यमा किन्ने र उनीहरूले तयारी गरेको सामान उचित भाउमा बेच्ने प्रवन्ध मिलाइदिने) को स्थापना भएको थियो । त्यसबखत ती संस्थाहरू बनेपामा खोल्नुपर्ने अनेक कारणहरूमध्ये ठोस कारण बनेपाका अति लोकप्रिय राजदाश वादे श्रेष्ठको सहयोगमा बनेपामा अघिदेखि कुटिर उद्योगको केन्द्र, यातायातको सुविधा र पूर्वी पहाडको ढोकाजस्तो र बनेपाको औद्योगिक मनोवृत्ति थियो ।
पटके एक लाख रुपैयाँ र वार्षिक दश–बाह्र हजार रुपैयाँ खर्च गरी बनेपामा खुलेको लाएण्ड मोर्टगेज बैङ्क र कोअपरेटिभ सोसाइटी सफल सावित भएमा अधिराज्यव्यापी सो खोलिने कार्यक्रम थियो । तत्कालीन समयमा सबैभन्दा ठूलो आवश्यकता थियो ग्राम विकासको र सबैभन्दा जटिल समस्या भनेकै गाउँलेको बढ्दो कृषि ऋण र सेलाउँदै गरेको कुटिर उद्योग, झन्डै ९८ प्रतिशत नेपाली जनता गाउँले हुँदा गाउँको विकासबिना गाउँलेको क्रयशक्ति बढ्ने विकल्पै थिएन । त्यसैले २००० सालमा अधिराज्यव्यापी भूबन्धक बैङ्क र को अपरेटिभ सोसाइटी अविलम्ब खोल्ने योजना सुरु भएको देखिन्छ ।
त्यसबखतको राजनीतिक र आर्थिक पृष्ठभूमिको विचार गर्ने हो भने २००० सालमा गठित ती दुई संस्था २०१६ सालको भूमि सुधार ऐनभन्दा कुनै दृष्टिकोणबाट कम क्रान्तिकारी थिएनन् भन्न सकिन्छ । त्यो जमानामा आजकल जस्तो कामको साथसाथै प्रचारप्रसार गर्ने निकाय र व्यवस्था नहुँदा ती दुई निकायले प्रर्याप्त प्रचार र प्रसार पाएनन् । फलस्वरुप २००५ साल चैत १ गते दुबै निकाय खारेज भई त्यहाँका कर्मचारी राष्ट्रिय आर्थिक योजना समितिमा समाहित हुन पुगे ।
७) माननीय सूर्य थापा संयोजक रहेको संसदीय छानविन विशेष समितिको प्रतिवेदन संसदबाट पारित भई कार्यान्वयनको लागि नेपाल सरकारमा पठाएको, सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रिपरिषदबाट निणय गरी सम्बन्धित निकायहरुमा पठाइसकेको हुँदा संसद र सरकारले समेत २००० साल भाद्र महिनामा काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा नेपालमा पहिलो सहकारी संस्था गठन भएको स्वीकार गरेको हुनाले अब मनाइने सहकारी दिवस २००० साल भाद्रलाई आधार मानेर मनाउनु पर्ने देखिन्छ ।
हालसम्म ओझेलमा परेको ऐतिहासिक तथ्यलाई गहन अध्ययन गरेर संसदीय छानविन विशेष समितिले आफ्नो प्रतिवेदनमा सर्बसम्मतरुपमा समावेश गर्नु भएकोमा संयोजक माननीय सूर्य थापा लगायत सदस्यज्यूहरु सबै माननीयहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । यो विषयलाई सबैमा सूचित गराउने पत्रकार, सहकारीकर्मी र काभ्रेपलाञ्चोकवासीमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
जिल्लावासी सबैलाई यो विषयको कार्यान्वयन गर्नका लागि पहल गर्न राष्ट्रिय सहकारीमहासंघ, सहकारी मन्त्रालय र नेपाल सरकारसमक्ष अनुरोध गर्दछु । यो विषयलाई कार्यान्वयन गर्न पहलका लागि राष्ट्रिय सहकारी महासंघ सहकारी मन्त्रालय र नेपाल सरकारसँग अनुरोध गर्दछु । (लेखक सहकारी अभियन्ता हुन् ।)
