बनेपा । सावित्रीदेवी प्रतिष्ठानले बुधबार एक कार्यक्रमको आयोजना गर्दै काभ्रेका प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरेको छ । माइती नेपालकी संस्थापक अध्यक्ष एवं सिएनएन हिरो अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामा उनीहरुलाई सम्मान गरिएको हो ।
माइती नेपालकी संस्थापक अध्यक्ष सिएनएन हिरो अनुराधा कोइरालासँगै बसेर फोटो खिच्ने कल्पना गर्ने पनौती–११ बल्थलीकी स्वास्थ्य स्वयंसेविका मनकुमारी लामाले जीवनमा उनकै हातबाट नगद १० हजारसहित सम्मानित हुने कुरा सपनामा पनि सोचेकी थिइनन् ।
सामान्य पढाई विकट गाउँको हुर्काईपछि ग्रामीण स्वास्थ्य कार्यकर्ता र स्वयंसेविका बनेर उनले गाउँमा विशेष गरेर तामाङ समुदायमा स्वास्थ्य सम्बन्धि सचेतना जगाउने काम गरिरहेकी थिइन् । केही दिनअघि उनलाई सम्मान हुने फोन पनौती नगरपालिकाको स्वास्थ्य शाखाले गर्यो । त्यसपछि बुधबार पनौती आईटी पार्कस्थित लोटस ईभेन्टमा आयोजित विशेष समारोहमा कोइरालाको हातबाट सम्मानित हुने अवसर पाइन् ।
उनीसँगै बल्थलीकै अनिस्मा तामाङलाई दश हजार नगदसहित सम्मान गरिएको छ । भक्तपुरको बागेश्वरी माविका कक्षा १२ अध्ययरत विद्यार्थी लामाले भबिष्यमा चार्टर एकाउन्टेन बन्ने लक्ष्य बोकेको र सो अध्ययनका लागि सहयोग पुगोस् भनेर सम्मान गरिएको अध्यक्ष रामिन्द्र न्यौपानेले उल्लेख गरे । उनीसँगै खोपासीका सहकारी अभियान्ता भरतप्रसाद शर्मालाई नगद २५ हजार रुपियाँले सम्मान गरिएको छ । यस्तै समुदायमा उल्लेख्य सहयोग गर्ने डा आशिष लामिछानेलाई नगद २५ हजारले सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाले समाजमा लागू औषधको समस्या बढेको बताइन् । उनले अहिले डिस्को, बार र क्लबमा त्यस्ता कुरामा ध्यान दिन सरकारलाई अनुरोध गरिन् । १३ देखि १९ बर्षसम्मका बालबालिकाहरुमा यस्तो लत देखिएको र बिक्री हुनु राम्रो कुरा नभएको उनले बताइन् ।
कार्यक्रममा डा राजेन्द्र कोजू, नेपाली कांग्रेसका नेता मधुप्रसाद आचार्य, युवा अभियन्ता भुषण श्रेष्ठ लगायतले प्रतिष्ठानले खेलेको भूमिकाको बारेमा बोलेका थिए । प्रतिष्ठानले खोपासीका जेष्ठ नागरिकका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण पनि गरेको छ ।
कार्यक्रममा प्रतिष्ठानका आजीवन सदस्य, परिवारका सदस्य, जेष्ठ नागरिक, संचारकर्मीको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन दिनेश न्यौपानेले गरेका थिए ।
