धुलिखेल । तिहार तथा अन्य पर्वका लागि अवैध रूपमा ल्याइँदै गरेको विभिन्न प्रकारका आतिसबाजी पटाकासहित काभ्रे प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार कात्तिक १० गते दिउँसो करिब ३ः५० बजे धुलिखेल नगरपालिका–९, काभ्रेभञ्ज्याङस्थित बीपी राजमार्ग सडकखण्डमा खटिएको अस्थायी प्रहरी पोस्टको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा पटाका बरामद गरेको हो ।

काभ्रेपलाञ्चोकबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०१–००७ ख १२२४ नम्बरको यात्रुवाहक ईभी हायस गाडी जाँच गर्ने क्रममा गाडीमा सवार धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–६ निवासी १९ वर्षीय राहुलकुमार साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साहले पिँडुलामा कालो रङको सुटकेस र गाडीको डिकीमा राखिएका निलो, सेतो तथा पहेँलो रङका झोलामा लुकाएर विभिन्न ब्रान्डका पटाका ल्याइरहेका थिए ।

बरामद पटाकाहरूको विवरण प्रहरीले सार्वजनिक गरेको प्रेस नोटमा उल्लेख गरिएको छ । घटनामा संलग्न साहलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ । अवैधरूपमा विस्फोटक तथा आतिसबाजीजन्य सामग्री ओसारपसार गर्दा जनधनको सुरक्षामा जोखिम उत्पन्न हुन सक्ने भएकाले प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *