धुलिखेल । धुलिखेल नगरपालिकाले बिहीबार एक समारोहका बीच २०८१÷८२ मा गरिएका कामहरुको समीक्षा गर्दै सत्रौं अधिवेशन सम्पन्न गरेको छ ।
धुलिखेलमा प्रधानमन्त्री रोजगार र मेयर गरिबी निवारण कार्यक्रममार्फत विभिन्न कार्यक्रम सञ्चालन हुनुका साथै लघुउद्यम विकासले रोजगार प्रवद्र्धनमा सघाएको छ । कृषिमा मौरीपालन, बेमौसमी तरकारी खेती, सुन्तला पकेट क्षेत्र, उन्नत बीउ बिजन प्रयोग, माटो परीक्षणलाई उच्च प्राथमिकतामा राखी सेवा प्रवाह गरिएको छ ।
धुलिखेल नगरपालिकाको सभाहलमा मेयर अशोक व्याञ्जुको अध्यक्षतामा भएको नगरसभामा नगरका उपप्रमुख निराजन जङ्गमले वार्षिक नीति तथा कार्यक्रम र प्रगति समीक्षा प्रस्तुत गर्नुभएको हो । सभामा प्रस्तुत प्रतिवेदनले चालू आर्थिक वर्ष ०८१÷८२ मा बियोजित रकम ९० करोड ९५ लाख भएकोमा जेठ मसान्तसम्म ५२ करोड ५४ लाख खर्च भएको देखाइएको छ । जसमा चालूतर्फ मात्रै ४० करोड ५२ लाख ९ रूपैयाँ भएको छ । नगरको पूँजीगत खर्चतर्फ १२ करोड १ लाख ९५ हजार खर्च भएको छ । यो कुल बजेटको ५८ प्रतिशत बित्तीय प्रगति हो ।
नगरले आर्थिक वर्ष ०८१÷८२ मा ८६ करोड ३४ लाख १२ हजार आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ । नगरले धुलिखेललाई स्वस्थ शहरको रूपमा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल हुनुलाई महत्वपूर्ण उपलब्धी हासिल गरेको मानेको छ । नगरलाई प्रविधीमैत्री बनाई शिक्षाको क्षेत्रमा स्नातक तहसम्म निःशुल्क अध्ययनको ब्यवस्था गरेको छ ।
नगरपालिकाले सत्रौं नगर सभामार्फत गत आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम, योजना तथा बजेट र खर्चको सम्बन्धमा तयार गरिएको प्रगति समीक्षा प्रस्तुत गरिएको छ ।
धुलिखेल नगरपालिकाको सत्रौं अधिवेशनबाट प्रदेश सभा खारेज गर्न संघ र सरकार अनुरोध गर्ने भनी सभा सदस्यहरुबाट सर्वसम्मत पारित भएकोले सर्वत्र चर्चा पाएको छ ।
