बनेपा । बनेपा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
नगरसभाको १६ औं अधिवेशनमा आगामी आर्थिक वर्षका लागि १ अर्ब २४ करोड ६५ लाख १३ हजार २ सय ८६ रुपैयाँको बजेट प्रस्तुत गरिएको हो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख शान्तिरत्न शाक्यले स्थानीय कच्चा पदार्थ, उद्यमशीलता र सीपमा आधारित उद्यम विकासलाई प्रोत्साहन गरिने बताउनुभयो । उहाँका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको ज्ञान, सीप, र क्षमताको स्थानीय विकासमा उपयोग गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै नगर क्षेत्रभित्र रात्रिकालिन व्यवसाय सञ्चालनका लागि सरोकारवाला पक्षहरुसँग आवश्यक समन्वय गरिने नगरपालिकाले जनाएको छ ।
सहकारी संस्थाहरुको साख जोगाउन तथा बचतकर्ताहरुको बचतको सुरक्षा प्रत्याभुतिका लागि कानुन विपरित कार्य गर्नेलाई प्रचलित कानुन बमोजिम कारवाही गरिनेछ भने निष्कृय रहेका सहकारीलाई खारेज गरिने नगरपालिकाले जनाएको छ । नयाँ सहकारी दर्ता नगर्नेसमेत नगरपालिकाले नीति लिएको छ । नगरभित्र सञ्चालित विद्यालयहरु मध्ये कक्षा ५, ८, १० र १२ को नतिजाको आधारमा बढीमा ४ वटा विद्यालयलाई नगदसहित मेयर उत्कृष्ट शैक्षिक पदकबाट सम्मान गरिने कार्यक्रम सञ्चालन हुनेछ ।
बनेपाको अभियान, प्रतिभा पहिचानका लागि विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ भने एक वडा एक खेल मैदान योजनालाई निरन्तरता दिइएको छ । सबै स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था बनाइनेछ ।
गुणस्तरीय खानेपानी सुविधा सुनिश्चित गर्न प्रयोग भइरहेका स्थानीय पानीका स्रोतहरुको संरक्षण गर्ने र सम्भाव्य थप स्रोतहरुको उपयोग गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख शाक्यले बताउनुभयो । ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगर सभामा उपप्रमुख विमला सापकोटाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित आर्थिक विधेयक पेश गर्नुभयो । विधेयक पेश गर्दै उहाँले अन्य निकायमा दर्ता भएका तर बनेपा नगरपालिकाको करको दायरामा नआएका करदाताहरुको हकमा आर्थिक वर्ष २०७४÷७५ लाई आधार वर्ष मानी व्यवसाय कर असुल गरिने बताउनुभयो ।
