बनेपा । जिल्लाका १३ वटै स्थानीय तहले असार ११ गतेभित्र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।
असार ९ गते नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरी तय भएको पनौती नगरपालिकाको नगर सभा गणपुरक संख्या नपुगेको कारण बुधबार ११ गते १ अर्ब ६१ करोड ११ लाख ११ हजारको बजेट ल्याएको छ । यो पालिका जिल्लामै सबैभन्दा धेरै बजेट ल्याउने पालिका हो ।
धुलिखेल नगरपालिकाले असार ५ गते १ अर्ब १८ करोड ४८ लाख ५० हजार रुपैयाँ, असार ६ गते बनेपा नगरपालिकाले १ अर्ब २४ करोड ६५ लाख १३ हजार २ सय ८६ रुपैयाँ र असार ९ गते नमोबुद्ध नगरपालिकाले ८० करोड ७३ लाख २३ हजार १ सय ६० रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । यस्तै असार १० गते २ नगरपालिका र ७ गाउँपालिकाले बार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरे । पाँचखाल नगरपालिकाले ८२ करोड ५१ लाख ८४ हजार ८ सय २ रुपैयाँ र मण्डनदेउपुर नगरपालिकाले १ अर्ब १० करोड ७५ लाख ४५ हजार ५ सय ५९ रुपैयाँ बजेट प्रस्तुत गरेका छन् ।
उता रोशी गाउँपालिकाले ७२ करोड ४ लाख ३७ हजार रुपैयाँ, बेथानचोक गाउँपालिकाले ६४ करोड ७३ लाख ५ हजार २ सय ४३ रुपैयाँ, भुम्लु गाउँपालिकाले ६२ करोड ९१ लाख ३९ हजार रुपैयाँ र चौरीदेउराली गाउँपालिकाले ६९ करोड ५ लाख ५ हजार रुपैयाँको बजेट आगामी आर्थिक बर्षको लागि प्रस्ताव गरेका छन् । तेमाल गाउँपालिकाले ५३ करोड १२ लाख ६४ हजार ६ सय ४० रुपैयाँको बजेट प्रस्ताव गरेको छ भने खानीखोला गाउँपालिकाले ५२ करोड २३ लाख ३२ हजार ३ सय ५३ रुपैयाँ, महाभारत गाउँपालिकाले ६० करोड १३ लाख १ हजार रुपैयाँको बजेट गाउँ सभामा प्रस्तुत गरेका छन् । आन्तरिक आय कमजोर भएका जिल्लाका स्थानीय तहले संघीय समपूरक र विशेष अनुदानकै आधारमा बजेट निर्माण गरेका छन् ।

खानीखोलाको सत्रौं गाउँ अधिवेशन, ५२ करोड २३ लाखको बजेट पारित
खानीखोला । खानीखोला गाउँपालिकाको सत्रौं गाउँ अधिवेशन सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२÷०८३ का लागि कुल ५२ करोड २३ लाख ३२ हजार ३५३ बराबरको बजेट सर्वसम्मतरूपमा पारित गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ को अध्यक्षतामा बसेको अधिवेशनले नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको हो । चालु आर्थिक वर्षको मूल प्राथमिकतामा गर्भवतीको स्वास्थ्य सुधारलाई प्रमुखरुपमा राखिएको छ ।
खानीखोला गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले आर्थिक वर्ष २०८२÷०८३ को बजेट गाउँसभामा प्रस्तुत गर्नुभएको हो । बजेट प्रस्तुत गर्ने क्रममा उहाँले गाउँपालिकाको विकास, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र औद्योगिकरण लगायतका प्राथमिकतामा बजेट विनियोजन गरिएको जानकारी दिनुभएको थियो । यो बजेट सत्रौं गाउँसभाबाट सर्वसम्मतरूपमा पारित भएको थियो ।


झण्डा र अण्डा कार्यक्रम लागू
गाउँपालिकाले गर्भवतीहरूको पोषण र स्वास्थ्यलाई मध्यनजर गर्दै झण्डा र अण्डा कार्यक्रम कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । सो कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुलाई १० क्रेट अण्डा निःशुल्क प्रदान गरिनेछ ।
शल्यक्रियामा पाँचहजार राहत
त्यसैगरी, आङ खसेका महिलाको शल्यक्रिया गरिनुपर्ने अवस्थामा गाउँपालिकाले पाँचहजार बराबरको राहत सहयोग दिने व्यवस्था गरेको छ । गाउँपालिकाले प्रत्येक वर्ष विभिन्न शाखाका कर्मचारीलाई उत्कृष्ट सेवा पुर्याएको आधारमा सम्मान गर्ने परम्परा कायम राख्दै आएको छ । यो वर्ष गाउँपालिकाका उत्कृष्ट एक नम्बरका वडा अध्यक्ष सन्तमान थिङ, गाउँपालिका सूचना अधिकारी अर्जुन भुजेल, शिक्षा शाखा प्राविधिक सहायक चक्रबहादुर थापा, आन्तरिक लेखा परीक्षणका खगेन्द्र थापा, कार्यालय सहयोगी सिजन थिङ, हलुका सवारी चालक अस्वीर बल र राष्ट्रिय महिला स्वयंसेविका राममाया मुक्तानलाई सम्मानपत्र, दोसल्ला र नगदसहित सम्मान गरिएको हो ।
गाउँपालिकाले आगामी दिनमा पनि सामाजिक न्याय, स्वास्थ्य सुधार, सूचना प्रवाह र सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ । खानीखोला गाउँपालिकाको औद्योगिकरण र कृषिमा आधारित उत्पादनलाई प्रवद्र्धन गर्ने भएको छ । स्थानीय उत्पादनमा आधारित औद्योगिकीरणलाई प्राथमिकता दिँदै कफी, खुवा, तोरी, कोदोको रक्सी तथा बेलको जुसजस्ता उत्पादनहरूलाई गाउँमै प्रशोधन गर्ने योजना अघि सारेको छ ।
गाउँपालिकाले “जसको उत्पादन उसैलाई अनुदान” भन्ने नारालाई आत्मसात गर्दै कफीको उत्पादनमा प्रतिकिलो ३५ रुपैयाँ अनुदान प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको छ । साथै, खुवा र कफीको स्थानीय ब्रान्ड निर्माण गर्दै बजार विस्तारको नीतिसमेत ल्याएको छ । यसका साथै, गाउँपालिकाका सातै वडामा सामुदायिक अध्ययन केन्द्र सञ्चालनमा ल्याइने भएको छ, जसले शिक्षासँगै उद्यमशीलताको विकासमा समेत योगदान दिने विश्वास लिएको छ ।

नमोबुद्धले सार्वजनिक गर्यो ८० करोड ७३ लाखको बजेट
भकुण्डेवेसी । जिल्लाको नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८० करोड ७३ लाख २३ हजार १ सय ६० रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको दोस्रो नगर सभाको सातौं अधिवेशनमा नगरप्रमुख कुनसाङ लामाले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले दीर्घकालिन सोचसहित तयार भएको कृषि रणनीति योजनालाई कार्यान्वयनमा लगिने बताए ।

विपद् पश्चात क्षति भएका खानेपानीका भौतिक पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने कार्यक्रममा उल्लेख छ । स्थानीय पाठ्यक्रम निर्माण, शैक्षिक पात्रो प्रकाशन, युवा सशक्तिकरण र उद्यमशीलता प्रवद्र्धनका कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुख लामाले बताए । नमोबुद्ध नगरको गौरवको रुपमा रहेको नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सुचीमा सूचीकृत गर्न आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै महिला स्वयंसेविकालाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक रकम एक हजार उपलब्ध गराउँदै आइएकोमा आगामी आर्थिक वर्षबाट ५ सय थप गरी मासिक १ हजार ५ सय का दरले प्रोत्साहन कार्यक्रमका लागि १४ लाख ५८ बजेट विनियोजन गरिएको छ । मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराई रहेका, क्यान्सर रोगी, मेरुदण्ड पक्षघातका विरामीहरुका लागि औषधि उपचार खर्च वापत मासिक ५ हजारका दरले ४६ लाख ४० हजार बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाको दीर्घकालीन सोच “कृषि, पर्यटन र व्यापारः समृद्ध नमोबुद्धको आधार”लाई हासिल गर्न उपलब्ध श्रोत साधनलाई अधिकतम ढंगले परिचालन गरी नगरवासी नागरिकको हित अभिवृद्धि गर्दै सामाजिक न्यायसहितको समाजवाद उन्मुख अर्थतन्त्रलाई सहयोग पुग्ने गरी बजेट तर्जुमा गरिएको उनले बताए । सामाजिक सुरक्षा भत्ता घरदैलोमा नै पुर्याउने कार्यलाई निरन्तर दिइने नगरपालिकाले जनाएको छ । भुमिहिन सुकुम्बासी तथा अव्यस्थित बसोबासी जग्गा वितरण कार्यक्रम लाई थप प्रभावकारी बनाउन १५ लाख विनियोजन गरिएको छ । नमोबुद्ध कोसेली घर निर्माण तथा नगरस्तरीय सार्वजनिक शौचालय निर्माण गर्ने नगरपालिकाको योजना छ ।
नेपाल पत्रकार महासंघ, काभ्रेपलाञ्चोक शाखालाई अनुदानस्वरूप ३ लाख विनियोजन गरिएको छ । संघीय सरकारको अनुदानमा नेपाल जलवायु नमुना कार्यक्रमको लागि २० लाख बजेट विनियोजन भएको छ । उद्यमशीलता, रोजगारीमुलक सशक्तीकरण सीप विकास तथा क्षमता अभिवृद्धि तालिम, गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम, एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिइएको छ । बालमैत्री नगरपालिका घोषणाका लागि कार्यक्रम संचालन गरिँदै लगिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सभामा उपप्रमुख रत्नबहादुर लामाले आर्थिक वर्ष २०८२÷८३ को बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तै नगर विकास योजना प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले प्रस्तुत गरेका थिए भने आर्थिक विधेयक सार्वजनिक लेखा समितिका संयोजक एवं वडाअध्यक्ष कृष्णबहादुर तामाङ, विनियोजन विधेयक वडाअध्यक्ष वीरबहादुर तामाङ, महालेखा परिक्षकको कार्यालयबाट प्राप्त अन्तिम लेखा परिक्षण प्रतिवेदन सार्वजनिक लेखा समितिका संयोजक एवं वडा अध्यक्ष कृष्णबहादुर तामाङले सभामा प्रस्तुत गरेका थिए ।
पनौती नगरपालिकाको बजेट १ अर्ब ६१ करोड
पनौती । असार ९ गते गणपूरक संख्या नपुगेपछि स्थगित भएको पनौती नगरपालिकाको नीति तथा कार्यक्रम ११ गते बुधबार प्रस्तुत भएको छ ।
नगरप्रमुख रामशरण भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कृषि, कला र संस्कृति हाम्रो चिनारीः हरित पर्यटकीय गौरवमय समृद्ध पनौती भन्ने मुल नारालाई प्रमुखता दिइएको छ ।
यस्तै नगरपालिकाबाट प्रदान गरिने सेवालाई सरल, सहज, प्रभावकारी र गुणस्तरीय बनाउन कार्यविवरणलाई थप स्पष्ट पारिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । स्थानीय स्रोत साधनको प्रयोग हुने उत्पादनमूलक र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने योजनाहरुको छनौटमा जोड दिइने नगरपालिकाले जनाएको छ ।
यसैगरी उपप्रमुख गीता बञ्जाराले आगामी आर्थिक वर्षका लागि १ अर्ब ६१ करोड ११ लाख ११ हजारको बजेट प्रस्तुत गर्नु भएको छ । जसमा ४४ करोड २५ हजार आन्तरिक आयबाट र २० करोड ४१ लाख ९० हजार राजस्व बाँडफाँटबाट मिलाइने बताइएको छ । पनौती नगरपालिकाले सार्वजनिक गरेको बजेट काभ्रेका १३ पालिकामध्ये सबैभन्दा धेरै हो ।


पाँचखालले ल्यायो ८२ करोड ५१ लाखको बजेट
पाँचखाल । जिल्लाको पाँचखाल नगरपालिकाले ८२ करोड ५१ लाख ८४ हजार ८ सय २ रुपैयाँको बजेट ल्याएको छ । मंगलबार नगर सभाको १७ औं अधिवेशनमा नगरप्रमुख महेश खरेलले नीति तथा कार्यक्रम र उपप्रमुख सूर्यमाया दनुवारले बजेट सार्वजनकि गर्नुभएको हो । जसमा चालुतर्फ १५ करोड, पुँजीगत तथा कार्यक्रम खर्चका लागि २९ करोड ३६ लाख ८८ हजार ८०२ विनियोजन गरिएको छ ।
यस्तै सशर्त योजना कार्यक्रम समपुरक विशेषतर्फ ३८ करोड १४ लाख ९६ हजार विनियोजन भएको उपप्रमुख दनुवारले जानकारी दिनुभयो । जसमा बजेटको अनुमानित स्रोतमा संघीय सरकार सशर्त अनुदान २८ करोड ५२ लाख, संघीय सरकार समपूरक अनुदान पुँजीगतबाट ९० लाख, प्रदेश सरकार सशर्त अनुदानबाट २ करोड ६७ लाख ९६ हजार प्राप्त हुने अनुमान छ ।
कृषिलाई उच्च प्राथमिकता
बजेट अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख महेश खरेलले पाँचखाल नगरको मुख्य आर्थिक आधारको रुपमा रहेको कृषि क्षेत्रलाई आधुनिक र व्यवसायिक बनाउँदै यान्त्रिकीकरण तथा विशिष्टीकरणमा उच्च प्राथमिकता दिइने बताउनुभयो । नगरको दिगो कृषि विकासका लागि नेपाल सरकार, प्रदेश सरकार एवं सम्बन्धित गैरसरकारी संघसंस्थाहरुसँग सहकार्य गरिने उहाँको भनाइ छ ।
यस्तै कृषि क्षेत्रमा बढिरहेको विभिन्न रसायन तथा विषादीको विक्रीवितरण तथा प्रयोगलाई नियमन तथा व्यवस्थापन गरिने, नेपाल सरकारले विक्रीवितरण गर्न निषेध गरेका विषादीहरुको प्रयोगलाई कानुनी दायरामा ल्याई नियन्त्रण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
गैरसकारी संघसस्था, कृषि सहकारी संस्था लगायतका संघ संस्थाको सहयोग एवं साझेदारीमा नगरका सबै वडामा थप प्रभावकारीरुपमा आइपिएम पाठशाला संचालन गरिने, रसायन तथा विषादीको प्रयोगबाट माटोको जैविक गुणमा आउने ह्रास, मानव स्वास्थ्यमा पर्ने असरको बारेमा कृषक पाठशाला एवं सार्वजनिक संचारको माध्यमबाट व्यापक जनसचेतना प्रवाहका कार्यक्रम संचालन गरिने उल्लेख छ । कृषिमा जैविक मल, जैविक विषादी लगायत जैविक तथा प्राङ्गारिक प्रविधिमा प्रोत्साहन गर्दै पाँचखाल नगरलाई दिगो कृषि शहरको रुपमा स्थापित गरिने प्रमुख खरेलले बताउनुभयो ।
कृषियोग्य भूमिको संरक्षण, बाँझो जमिनको उपयोग र करार खेतीलाई प्रवद्र्धन गर्न नेपाल सरकार र बागमती प्रदेश सरकारसँग समन्वय एवं सहकार्य गरिने र रैथाने बाली, बीउ, नश्ल र कृषि जैविक विविधतालाई संरक्षण गरिने पनि प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।
युवाहरुलाई कृषि कर्मतर्फ आकर्षित गरी स्वदेशमै कृषि उद्यम गर्न सहयोगको लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सहजिकरण गरिने छ । स्थानीय वित्तीय संस्था, सहकारी संस्थामार्फत विपन्न कृषकहरुलाई ५० हजारसम्मको कृषि ऋणमा निश्चित प्रतिशत व्याज अनुदान दिने व्यवस्था मिलाइने छ । स्थानीय कृषकहरुबाट उत्पादित कृषि उत्पादनलाई सोझै विक्रीवितरण गर्न हाटबजार संचालन गरिने पनि उल्लेख गरिएको छ ।


स्वास्थ्यमा के छ ?
यस्तै पाँचखाल आधारभूत अस्पताललाई आवश्यक जनशक्तिको व्यवस्थापन गरी पूर्वाधार औजार उपकरण सुलभ फार्मेसीसहित अस्पताल संचालनमा ल्याइने छ । नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा दरबन्दी अनुसार स्वास्थ्यकर्मीहरुको व्यवस्था गरी तोकिएबमोजिमको निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ ।
जीवनपथको अवधारणाअनुरुप सुरक्षित मातृत्व, वाल स्वास्थ्य, किशोरकिशोरी तथा प्रजनन स्वास्थ्य, प्रौढ तथा जेष्ठ नागरिक लगायतका विशेषज्ञ सेवाको सुलभ पँहुचको लागि सरकारी, निजी र गैरसरकारी संस्थाहरुसँग सहकार्य र समन्वय गरी सुनिश्चित गरिनेछ । वृद्ध अशक्त, असहाय, अतिविपन्न र गर्भवती, सुत्केरी महिलाहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
सामाजिक न्यायको सिद्धान्तमा रही विपन्न नागरिकको पहिचान गरी साथै अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगरपालिकाबाट निःशुल्क स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यलाई निरन्तरता दिइनेछ । साथै स्वास्थ्य बीमामा आवद्ध नभएका नागरिकहरुलाई बीमा कार्यक्रममा आवद्ध हुन प्रचारप्रसार गरी उत्प्रेरणा गरिनेछ । आयुर्वेद, प्राकृतिक चिकित्सा तथा योग कार्यक्रम संचालन गरिने पनि नगरपालिकाको योजना छ ।
विद्यालय स्वास्थ्य कार्यक्रम (स्वास्थ्य शिक्षा र स्वास्थ्य प्रवद्र्धन) र पोषण कार्यक्रमलाई सुदृढीकरण गरिनेछ भने नगरभित्रका ७० वर्षमाथिका जेष्ठ नागरिकहरुको त्रैमासिकरुपमा सम्बन्धित स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुमार्फत स्वास्थ्य जाँच गरी उच्च रक्तचाप, मधुमेह लगायतका रोगहरुको निःशुल्क उपलब्ध हुने औषधिहरु वितरण गरिने उल्लेख छ ।

बेथानचोकको बजेट ६४ करोड ७३ लाख
बेथानचोक । बेथानचोक गाउँपालिकाले ६४ करोड ७३ लाख ५ हजार ३ सय ४४ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । पालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले सो रकम बराबरको बजेट मंगलबार प्रस्तुत गर्नुभएको हो ।
गत असोज १०, ११ र १२ गतेको अविरल वर्षापछि गएको बाढी–पहिरोले क्षतिग्रस्त बनेको बेथानचोक गाउँपालिकाले एक वर्ष नपुग्दै ३ सय ७२ किलोमिटर सडक मर्मत गरेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यसको जानकारी दिनुभएको हो ।

प्रदेश तथा संघ सरकारसँगको समन्वयमा पूर्वाधार निर्माण कार्य थप अगाडि बढाइने उहाँले बताउनुभयो । मंगलबार सत्रौं गाउँसभामा गाउँपालिका अध्यक्ष अधिकारीले २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । विपद्ले राजश्व संकलनमा कमी ल्याएको र प्रदेश तथा संघीय सरकारबाट प्रतिबद्धताअनुरुप राजश्व बाँडफाँटको रकम तथा समानीकरण अनुदान प्राप्त नभएको हुँदा बेथानचोक सरकार व्यापक बजेट घाटामा रहेको उहाँले बताउनुभयो ।
सरकारले कृषि र पशुपालनमा सुधार, पर्यटन प्रवद्र्धन र पूर्वाधार निर्माणमा जोड दिनेगरी बजेट ल्याएको छ । विदेशबाट फर्किएका युवालाई ४ प्रतिशत ब्याजदरमा २० लाखसम्म ऋण उपलब्ध गराउने पालिकाले घोषणा गरेको छ । त्यस्तै कृषि क्षेत्रको आधुनिकीकरण र बजारीकरणमा टेवा दिने गरी कोशेली घर स्थापना, माटो परीक्षण गरी वैज्ञानिक खेती, रैथाने बाली प्रवद्र्धन र बिउ बैंक बिस्तार गर्नेजस्ता कार्यक्रम ल्याइएका छन् ।
छिमेकी स्थानीय तहहरुसँगको समन्वयमा पूर्वाधार निर्माण कार्यलाई थप अगाडि बढाइने, उज्यालो बेथानचोक अभियान अन्तर्गत सोलार बत्ती जडान गर्नेलगायत कार्यक्रम राखिएको जानकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले दिनुभयो ।
बेथानचोकलाई हाइकिङ सिटीको रूपमा विकास गर्ने, तीनतले झरना र वैश्णव पार्कको स्तरोन्नति गर्ने, पदमार्गहरूको विकास गर्ने जस्ता कार्यक्रमहरू नीति तथा कार्यक्रममा समावेश छन्। यस्तै शिक्षा क्षेत्रमा विद्यार्थीको प्रोत्साहनका लागि छात्रवृत्ति, छोरी बुहारीलाई निःशुल्क शिक्षाको व्यवस्थालगायत पुरानै कार्यक्रमले निरन्तरता पाएका छन् । शिक्षकको क्षमता विकास, प्रविधिमैत्री शिक्षण, स्वास्थ्य क्षेत्रमा २४ घण्टा सेवा, विशेषज्ञ स्वास्थ्य शिविर, नसर्ने रोग नियन्त्रण जस्ता कार्यक्रमहरूले पनि निरन्तरता पाएका छन् ।

मण्डनदेउपुरको १ अर्ब १० करोडको बजेट
कुन्तावेसी । काभ्रेको मण्डनदेउपुर नगरले १ अर्ब १० करोडको बजेट ल्याएको छ । मंगलबार नगरमा बसेको नगरसभाको १७ औं अधिवेशनमा उपप्रमुख विष्णुमणि नेपालले १ अर्ब १० करोड ७५ लाख ४५ हजार ५५९ रुपैंयाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको हो । कुल विनियोजित बजेटमध्ये पूँजीगततर्फ ५० करोड २२ लाख ५० हजार रुपैंयाँ (४५.३४ प्रतिशत) र चालुतर्फ ६० करोड ५२ लाख ९५ हजार ५५९ (५४.६६ प्रतिशत) रहेको छ ।
नगरपालिकाको दैनिक प्रशासनिक कामकाज तथा प्रभावकारी सेवा प्रवाहको लागि आवश्यक पर्ने प्रशासनिक खर्चको लागि २१ करोड १५ लाख १ हजार ५५९ रुपैंयाँ विनियोजन गरिएको उपप्रमुख नेपालले बताउनुभयो । यस्तै नगरपालिका अन्तर्गत प्रत्येक वडाहरूमा अर्थिक, सामाजिक, पूर्वाधार विकास तथा सेवा प्रवाहसम्बन्धी कार्यक्रम सञ्चालनका लागि ६ करोड रुपैंयाँ विनियोजन भएको छ । विनियोजित बजेट रकमबाट मण्डनदेउपुर नगरपालिकाको पहिलो आवधिक योजनाले परिलक्षित गरेको पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, वन, वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासका क्षेत्रमा योगदान पुर्याउने गरी कार्यक्रम छनौट गरिएको छ ।
यस्तै विपद् व्यवस्थापन, कोष व्यवस्थापन, राहत वितरण र विपद्बाट क्षतिग्रस्त नीजि आवास तथा संरचनाहरुको पुनर्निर्माणका लागि २ करोड रुपैंयाँ व्यवस्था गरिएको छ । चालु आवको संशोधित अनुमान बमोजिम नगरपालिकाबाट चालु आवमा सञ्चालित योजना तथा कार्यक्रमहरुको भुक्तानी सम्पन्न नहुने देखिएकाले चालु आवमा सञ्चालित योजना तथा कार्यक्रमको भुक्तानी दायित्वको लागि ७ करोड ८७ लाख रुपैंयाँ विनियोजन गरिएको नगरसभामा जानकारी दिइएको छ ।
बजेट प्रस्तुत अघि नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय सरकारको हैसियतबाट विभिन्न संरचनागत, नीतिगत, कानूनी, प्रशासनिक तथा व्यवस्थापकीय कार्य सम्पादन गरिएको बताउनुभयो । मूलतः यस अवधिमा विगत वर्षहरुदेखि नै सञ्चालित आवश्यक कार्यक्रमहरुको निरन्तरता र शीघ्रताका साथ सम्पन्न गर्ने कुरालाई जोड दिँदै थुप्रै नवीन, सिर्जनात्मक, समाजवाद उन्मुख र सुशासनका लागि अपरिहार्य मानिने योजना तथा कार्यक्रमको शुरुवात गरिएको उहाँले बताउनुभयो । नगर सभा, नगर कार्यपालिका, विषयगत समिति, शाखा र वडास्तरवाट सम्पादन गर्नुपर्ने काम कारवाहीलाई प्रभावकारी तथा स्मार्ट कार्यसम्पादन गर्न प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै आवश्यक विषयमा कानुन तर्जुमा, योजना तथा परियोजनाको निर्माण, सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग गर्दै पारदर्शी शासन सञ्चालन गर्ने दिशामा नगरपालिका अग्रसर भएको प्रमुख वाइवाले बताउनुभयो । सूचना र प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रवाहलाई सहज बनाउन नगरक्षेत्रभित्रका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्थाहरु र सामुदायिक विद्यालयहरुमा दिइँदै आइएको निःशुल्क इन्टरनेट सुविधालाई निरन्तरता दिँदै थप प्रभावकारी बनाइने बताइएको छ ।

कृषिलाई प्राथमिकता
किसानले उत्पादन गरेका कृषि उपजको उचित मूल्य प्रदान गर्न संघ र प्रदेश सरकारसँगको साझेदारीमा नगरक्षेत्रभित्र गोदामघर, शीत भण्डार (कोल्ड स्टोर), कृषि उपज सङ्कलन तथा विकी केन्द्र वा हाटबजारको व्यवस्थाका लागि दातृ निकायसँग समन्वय गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । साथै यसका लागि स्थानीय व्यवसायी, व्यवसायिक कृषि फर्म, सहकारी र अन्य संघसंस्थाहरूसँग समेत साझेदारी गरिनेछ ।
कृषि उत्पादन वृद्धिका लागि लागत साझेदारीमा कृषि चुन वितरण तथा तरकारी अन्नबाली र फलफूलको बिउ बेर्नाको नर्सरी निर्माण गरी वितरणको व्यवस्था गर्ने नीतिलाई निरन्तरता दिइनेछ । पकेट क्षेत्रमा आधारित स्थानीय विउ र बेर्ना उत्पादन र वितरणलाई प्राथमिकता दिइने छ । यस्तै जमिनको अवस्था हावापानी माटो तथा उत्पादनको सम्भावना भएको स्थानको पहिचान गरी प्रतिस्पर्धाका आधारमा एक बडा एक उत्पादन कार्यक्रम संचालन गरिनेछ ।
किसानले उत्पादन गर्ने फसल तथा पशुजन्य उत्पादनमा हुने क्षतिलाई न्यूनीकरण गर्न बाली बीमा र पशुपन्छी बीमालाई विस्तार गरिने छ । कृषि उत्पादन तथा पशुपन्छी उत्पादनमा संलग्न किसान तथा उद्यमीहरूलाई कृषि बीमाका लागि आवश्यक प्रिमियम रकममा पचास प्रतिशत अनुदान उपलब्ध गराइनेछ । दूग्ध उत्पादक किसानहरुलाई प्रोत्साहन गर्न नगरपालिका र वडा कार्यालयहरुले गर्ने सबै कार्यक्रममा चिया, कफि, कोक फ्यान्टा जस्ता तयारी पेय पदार्थको सट्टामा स्थानीय कृषकबाट उत्पादित दुध तथा मोहीको प्रयोगलाई अनिवार्य गरिने छ ।
विश्व खाद्य तथा कृषि संगठनसँगको सहकार्यमा राम्रो उत्पादन, राम्रो पोषण, राम्रो वातावरण र राम्रो जीवन प्रवद्र्धन गर्न नमुना कृषि ग्राम कार्यक्रम तथा होमस्टे संचालनलाई निरन्तरता दिइने छ । बागमती प्रदेश सरकार तथा जिल्ला कृषि विकास कार्यालय काभ्रेको सहयोगमा माटो परीक्षण ल्याब र कृषि बाली रोग परीक्षण ल्याब स्थापना गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

महाभारतको प्राथमिकता कफी खेतीलाई
महाभारत । महाभारत गाउँपालिकाले कफी खेतीलाई आम्दानीको दीर्घकालिन श्रोत बनाउने नीति अपनाएको छ ।
गाउँ सभाको १७ औंं अधिवेशनमा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रममा महाभारत गाउँपालिकाको कफीलाई ब्रान्डिङ गर्न कफी नर्सरी स्थापना, कफी बिरुवा, तालिम तथा उपकरण वितरण कार्यक्रम सञ्चालन गरी कफी व्यवसायलाई थप व्यवस्थित र दिगो बनाउने प्रयासस्वरुप गाउँपालिकाभित्र कफी खेतीको प्रवद्र्धनमार्फत स्थानीय कृषकको जीवनस्तर सुधार गर्ने, युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित गरी दीर्घकालीन आर्थिक स्रोत तय गर्ने गाउँपालिकाको प्रमुख उद्देश्य रहेको उल्लेख छ ।

गाउँपालिकाले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा पनि ‘एक वडा एक कृषि उत्पादन’ अन्तर्गत ‘जसले रोप्छ कफीको बोट उसले पाउँछ बीसको नोट’ कार्यक्रम लागू गर्दै आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा १ लाख २५ हजारभन्दा बढी कफी बिरुवा वितरण, प्लास्टिक मल्चिङसहित बगैंचा स्थापना, कफी नर्सरी स्थापना, पल्पर मेसिन, मिनी टिलर, ड्रम, थोपा सिँचाइ जस्ता प्रविधिको प्रयोग, कृषक प्रशिक्षण, भ्रमण र परामर्श सेवा लगायतका कार्यक्रमहरू सञ्चालन गरेको थियो ।
गाउँपालिकाले घरमा नै सुत्केरी हुने अवस्था अन्त्य गर्न गर्भवती र सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवासहित संस्थागत सुत्केरी आमालाई पोषण खर्च वितरण लगायतका कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँपालिकाको आन्तरिक श्रोतबाटै बार्षिक डेढ किलोमिटर सडक कालोपत्रे वा ढलान गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको अध्यक्ष जिम्वाले जानकारी दिए । असार ९ गते नीति तथा कार्यक्रम सार्वजनिक गरेको गाउँपालिकाले असार १० गते विनियोजन विधेयक प्रस्तुत गरेको गाउँपालिका उपाध्यक्ष सागर मोक्तानले जानकारी दिए । जसमा पालिकाले ६० करोड १३ लाख १ हजार रुपैयाँको बजेट गाउँ सभामा प्रस्तुत गरेको छ ।

७२ करोडको बजेट सार्वजनिक गर्याे रोशी गाउँपालिकाले
रोशी । जिल्लाको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ७२ करोड ४ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँसभाको १७ औँ अधिवेशनको मंगलबार सम्पन्न बैठकमा पालिका अध्यक्ष दिनेश लामाले नीति तथा कार्यक्रम र उपाध्यक्ष मिमबहादुर वाइबाले बजेट, विनियोजन विधेयक तथा आर्थिक विधेयक प्रस्तुत गरेका थिए ।
रोशीको बजेटको खर्च व्यहोर्नुपर्ने स्रोततर्फ आन्तरिक स्रोत १ करोड २६ लाख रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट २ करोड ५० लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ९ करोड ५० लाख ६० हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट ३ करोड ९९ लाख ५६ हजार रुपैयाँ, सङ्घीय समानीकरण अनुदान १० करोड २५ लाख रुपैयाँ, सशर्त अनुदान ३२ करोड ५१ लाख रुपैयाँ, समपूरक अनुदान ९९ लाख र विशेष अनुदान ८९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश समानीकरण अनुदान १ करोड २ लाख ५० हजार रुपैयाँ, सशर्त अनुदान २ करोड ७० लाख २७ हजार रुपैयाँ, समपूरक अनुदान २ करोड ८५ लाख रुपैयाँ र विशेष अनुदान ६५ लाख रुपैयाँ प्राप्त हुने अनुमान रहेको छ ।

एकल पुरुषलाई भत्ता
पालिकाको सामाजिक विकास नीतिमा ६० वर्ष नाघेका एकल पुरुषलाई सामाजिक भत्ता दिने प्रस्तावसमेत गरेको छ । यसअघि महिलालाई मात्र दिइँदै आएको भत्ता आगामी आर्थिक वर्षबाट एकल पुरुषलाई पनि दिने घोषणा गरिएको हो । उनीहरूलाई दोहोरो लाभ नपर्ने गरी सामाजिक संरक्षण कार्यक्रममा समावेश गर्ने घोषणा गरिएको हो । त्यस्तै, ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमालाई पनि आगामी वर्षमा निरन्तरता दिइने भएको छ ।
स्थानीय उत्पादनको प्रवद्र्धन सुशासन तथा संस्थागत विकास अन्तर्गत सरकारी कार्यालयहरूमा आयातित कोल्ड ड्रिंक्स (पेयपदार्थ)लाई निरुत्साहित गरिने नीति ल्याइएको छ । त्यसको सट्टा दूध, दही, महीलगायतका स्थानीय पेय पदार्थको प्रयोगलाई प्रोत्साहन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *