महाभारत । अहिलेसम्म पनि फाइबार इन्टरनेटको सुविधाबाट बञ्चित रहेको काभ्रेको महाभारत गाउँपालिकामा इन्टरनेट जडान गर्नेगरि गाउँपालिका र इन्टरनेट प्रदायकबीच सम्झौता भएको छ ।
शुक्रबार गाउँपालिकाको कार्यालय देविटारमा महाभारत गाउँपालिका र इन्टरनेट प्रदायक सजिलो नेट प्रालिबीच अबको ६ महिनाभित्रमा सबै मुख्य मुख्य बस्तीहरुमा इन्टरनेट पुर्याउने सहमति भएको हो ।
महाभारत गाउँपालिका र इन्टरनेट प्रदायक संस्था (सजिलो नेटवर्क प्रालि) बीच पालिकाभरका सरकारी कार्यालय, विद्यालयहरु र घरघरमै सर्वसुलभ इन्टरनेट सुविधा लिन सकिने गरि दुईपक्षीय सहमति भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।
गाउँपालिकाको तर्फबाट अध्यक्ष कान्छालाल जिम्बा, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, वडा नं १ का वडा अध्यक्ष कान्छामान जिम्बा, वडा नं ६ का अध्यक्ष रमेशकुमार लुङ्गेली र योजना शाखाका दिनेश बस्नेत र सजिलो नेटवर्क प्रालिका तर्फबाट सिइओ विकास मुडवारी र रोहित थापा मगरले सहमतिमा हस्ताक्षर गरेका हुन् ।
