धुलिखेल । आगामी असार २६ र २७ गते धुलिखेलमा रोजगार मेला हुने भएको छ । धुलिखेल नगरपालिकाको आयोजनामा रोजगार मेला हुने भएको हो । प्रधानमन्त्री रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत रोजगार मेला आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मेलाले रोजगारी सिर्जना, क्षमता पहिचान, रोजगारदाता र बेरोजगारको तथ्यांक संकलन, अन्तर निकाय समन्वय र सहजीकरणमा सघाउने आयोजक धुलिखेल नगरपालिकाको विश्वास छ । सीप र क्षमता अनुसारको रोजगारी उपलब्ध गराउने उद्देश्यले दुई दिने रोजगार मेला आयोजना गरिएको सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर ३ का वडाअध्यक्ष गणेश आचार्यले जानकारी दिनुभयो । एक सयभन्दा बढीलाई नयाँ रोजगारीको अवसर सिर्जना गर्ने गरि थालिएको मेलामा हालसम्म ७० भन्दा बढी कामदारको माग भइसकेको उहाँको भनाइ छ ।
मेलामा रोजगारदातासँग प्रत्यक्ष कुराकानी, करियर काउन्सिलिङ लगायत स्थानीय उत्पादन, स्थानीय खानाका परिकार, स्वस्थ शहरबारे जानकारी लगायतका स्टलहरु रहने रोजगार संयोजक सम्झना शर्मा नेपालले जानकारी दिनुभयो । रोजगारदाता र बेरोजगारबीच समन्वय गराउन धुलिखेल नगरपालिकाले रोजगार मेलाको आयोजना गरिएको उहाँको भनाइ छ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत धुलिखेल नगरपालिका नमूना रोजगार केन्द्रको रुपमा छनौट भएको छ । छिमेकी पालिकासँगको समन्वयमा बढीभन्दा बढी रोजगारीको अवसर सिर्जना गर्ने गरि काम गरिरहेको नगरपालिकाले जनाएको छ । रोजगार मेलामा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका सम्भावनाबारे समूहगत छलफलसमेत हुनेछ ।
नगरपालिकाले प्रदान गरेको सीपबाट उद्यमी बनेकाहरुको सीपसमेत मेलामा प्रदर्शन गरिने धुलिखेलका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीको भनाइ छ । मेलामा विभिन्न स्टलहरु पनि रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
