धुलिखेल । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धुलिखेलमा सम्पन्न सुरक्षा समिति बैठकले उक्त सडकखण्डको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सीमाना नेपालथोकसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । कार्यालयले मनसुन सक्रिय रहेकाले सम्भावित विपद्जन्य घटना हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि उल्लेखित क्षेत्रमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाइएको जनाएको छ । यसअघि असार ६ गते काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्ला सुरक्षा समिति, अन्तरजिल्ला समन्वय समितिको बैठकले बीपी राजमार्गमा सुरुमा असार ७ गतेदेखि साँझ ६ः३० बजेदेखि बिहान ६ः०० बजेसम्म र पछि त्यसलाई असार मसान्तसम्म निरन्तरता दिँदै यातायात सञ्चालनमा रोक लगाएको थियो ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले वर्षामा बाढीपहिरोको जोखिम भएकाले काठमाडौँबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सीमाना नेपालथोकमा रोकिने बताए ।  गतवर्ष असोजको बाढीपहिरोले बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खे खोलासम्मको ११ किलोमिटर सडकखण्डमा क्षति भएको थियो ।
त्यसपछि सडक नै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुने गरी अस्थायी सडक सञ्चालनमा ल्याइएको थियो । पूर्वीनेपाल जोड्ने छोटो दूरीको उक्त राजमार्गबाट दैनिक सयौँ यातायातका साधन आउजाउ गर्छन् ।
बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा क्षति पु¥याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *