पनौती । पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणा भएको छ ।
नगरपालिकाले १२ वटै वडालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित वडा घोषणा गरेसँगै नगरस्तरमा विभिन्न कार्यक्रम आयोजना गरेपश्चात सम्पूर्ण नगरलाई नै असार २५ गते अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणा गरिएको हो । नगरप्रमुख रामशरण भण्डारीले पनौतीलाई निःशुल्क आधारभूत शिक्षा सुनिश्चित भएको घोषणा गरेसँगै कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले नगरपालिकाका प्रमुख भण्डारीलाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
प्रमुख गौतमले आधारभूत शिक्षामा पहुँचको हक संविधानमै उल्लेख गरिएको भन्दै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । शिक्षामा सबैको पहुँच सुनिश्चित भएसँगै अब गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक र समुदाय अग्रसर हुनुपर्ने उनले बताए ।
यस्तै नगर प्रमुख भण्डारीले शिक्षाको पहुँच, गुणस्तर, समानता र समावेशीतामा आधारित सामाजिक रुपान्तरणतर्फ अगाडि बढ्न नगरपालिकाले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्दै आएको बताए । अब कोहि पनि नागरिक शिक्षाको पहुँच बाहिर नरहने उनको भनाइ थियो ।
कार्यक्रममा उपप्रमुख गीता बञ्जाराले शिक्षाबिना विकास र समृद्धि असम्भव रहेको बताइन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले नगरपालिकाले शिक्षा क्षेत्रमा महत्वपूर्ण फड्को मारेको बताउँदै सबै बालबालिकालाई विद्यालयमा पुर्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
सोही अवसरमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान पनि गरिएको थियो । पनौती नगरबाट ८३३ जना एसईईमा सहभागी भएकोमा ८०७ जना उत्तीर्ण भएका छन् । पनौती जिल्लाका १३ स्थानीय तह मध्ये एसईईमा सबैभन्दा धेरै ९६.८८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङ, पूर्वनगरप्रमुखहरु, विभिन्न पालिकाका शिक्षा शाखा प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापक समिति अध्यक्ष, बालमैत्री सहजकर्ताहरु, शिक्षक, विद्यार्थी लगायत सरोकारवालाको सहभागीता रहेको थियो ।
यस्ता छन् प्रतिबद्धताहरूः
१. विद्यालयभन्दा बाहिर कुनै पनि बालबालिका रहने छैनन् र १३ वर्ष उमेरसम्मका सबैलाई विद्यालयमा भर्ना गरिनेछ ।
२. निःशुल्क शिक्षाको सुनिश्चितता गर्न आवश्यकता अनुसार शैक्षिक सामग्री पोशाक, स्टेशनरी पुस्तक, यातायात सहुलियत लगायतका कार्यमा सहयोग पुर्याइनेछ ।
३. समान समावेशी र गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार आइसिटी प्रविधि, पुस्तकालय, पिउनेपानी शौचालय आदि विद्यालयहरूमा सुनिश्चित गरिनेछ ।
४. शिक्षकको क्षमता अभिवृद्धि गरी शिक्षण सिकाइ प्रक्रियामा नवीनता ल्याइनेछ ।
५. बाल संरक्षण नीतिको कार्यान्वयन तथा अभिभावक, शिक्षक र विद्यार्थीबीच त्रिपक्षीय समन्वय सुदृढ गरी विद्यालयहरूमा बालमैत्री वातावरण निर्माण गरिनेछ ।
६. अनुगमन तथा मूल्याङ्कन प्रणाली सशक्त बनाइ शिक्षा क्षेत्रमा पारदर्शिता र उत्तरदायित्व कायम गरिनेछ ।
७. अपाङ्गता, दलित जनजाति अल्पसंख्यक तथा जोखिममा रहेका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न लक्षित कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
