भुम्लु । भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा निःशुल्क’ सुनिश्चित गरिएको छ । असार २३ गते गाउँपालिकाले एक कार्यक्रम गरेर पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा गरेको हो ।
आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क गर्ने घोषणापत्रमा हस्ताक्षर गरेर गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा लामा), प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले घोषणा गरेका हुन् ।
गाउँपालिकाका सबै गाउँ, टोल, बस्ती, क्षेत्रभित्र गरिएको सर्वेक्षणमा ४ वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका बालबालिका शतप्रतिशत विद्यालयमा भर्ना भएको र सबै वडाहरू अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएसँगै पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको हो ।
घोषणा सभामा गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले शिक्षामा लगानी गरेर गाउँपालिकाले परिणाम ल्याउन लागेको भन्दै शिक्षा, स्वास्थ्य, योग लगायतका क्षेत्रमा परिणाम देखिन थालेको बताए । पढ्दै कमाउँदै कार्यक्रममार्फत माध्यमिक तहका विद्यार्थीलाई उत्पादन र आयआर्जनमा लगाउन खोजिएको भन्दै उनले उच्च शिक्षाको लागि विदेश जाने क्रम रोकिनुपर्ने बताए ।
संविधानले सुनिश्चित गरेको शिक्षासम्बन्धी अधिकारलाई पालिकाले शतप्रतिशत कार्यान्वयन गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा लागू स्थानीय तह घोषणा गरिएको गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङले बताए । पालिकाभित्र रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराई शिक्षाको पहुँचमा पुर्याएर पालिकाले पहिलो दायित्व पूरा गरेको भन्दै उनले यसको कार्यान्वयन र निरन्तरता दिनुपर्ने बताए ।
जिल्ला समन्वय समिति काभ्रेका सदस्य कमलराज गिरीले शिक्षा क्षेत्रमा भुम्लु गाउँपालिकाले गरेको लगानीको प्रशंसा गरे । प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले गाउँपालिकाले शिक्षामा गरेको लगानीको प्रतिफल देखिँदै गएको भन्दै नतिजा क्रमशः देखिँदै गएको बताए । गाउँपालिकाको लगानी र सबैको मिहेनतले एसईई परीक्षामा २५ प्रतिशत उत्तीर्ण प्रतिशतलाई ७२ प्रतिशत पुर्याउन सफल भएको बताए ।
