बनेपा । संविधान दिवसमा काभ्रेका प्रमुख राजनीतिक दलहरुले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् ।
शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले बनेपामा कार्यक्रम गरेका हुन् । नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि कांग्रेसका केन्द्रीय सदस्य शिव हुमागाईं हुनुहुन्थ्यो ।
यस्तै केन्द्रीय सदस्य मधु आचार्य र गणेश लामा, जिल्ला सभापति तीर्थ लामा, अग्रज नेता इन्द्रमणि अधिकारी, कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य, क्षेत्रीय सभापतिहरु उपस्थित थिए । कार्यक्रममा बोल्ने सबैले दलहरुमा भएका कमजोरीहरु सच्याउँदै अघि बढ्नु पर्नेमा जोड दिए ।
उता चारदोबाटोमा एमालेले गरेको कार्यक्रममा जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको थियो । यहाँ एमालेका निवर्तमान सांसद गोकुल बाँस्कोटा प्रमुख अतिथि हुनुहुन्थ्यो । यस्तै माओवादी केन्द्रले पनि संविधान दिवसकै अवसर पारेर चारदोबाटोमा कोणसभाको आयोजना गरेको थियो । यस कार्यक्रममा निवर्तमान सांसद सूर्यमान दोङ प्रमुख अतिथि हुनुहुन्थ्यो ।
कार्यक्रममा जेनजी आन्दोलनका नाउँमा देशमा अराजक तत्वले प्रवेश पाएकाले ठूलो क्षति भएको बताएका थिए । सबैजसो दलहरुले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तयारी अवस्थामै रहेको जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *