प्राकृतिक विपत्ती कतिबेला र कहाँ आउँछ भनेर कसैलाई पनि थाहा हुँदैन । न यो बाजा बजाएर आउँछ न यसले कुनै पूर्वसूचना दिएर आउँछ । आएपछि जे भएको सामना गर्नैपर्ने हुन्छ । यस्तै भएको छ गत वर्ष असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछिको परिणाम । अवस्था यो वर्ष पनि दोहोरियो । असोज १७ देखि २० गतेसम्म ।
यो वर्षाले काभ्रे जिल्ला नराम्ररी प्रभावित बनेको छ । मानवीय र भौतिक क्षति अनुमान गरिएभन्दा बढी भोगेको यस जिल्लामा अब कसरी पूनर्निर्माण गर्ने भन्नेमा अन्योल देखिएको छ । सबैभन्दा बढी प्रभावित जिल्लाका बेथानचोक, पनौती, रोशी, तेमाल, नमोबुद्ध, मण्डनदेउपुरलगायतका पालिकाहरुमा धेरै बस्तीहरु स्थानान्तरण गर्नुपर्ने आवश्यकता देखिएको छ ।
हुन त ११ वर्ष पहिले पनि यस्तै महाविपत्ती यस जिल्लाले नभोगेको होइन, ०७२ सालको विनाशकारी भूकम्पको पूनर्निर्माण सक्न नपाउँदै अर्को विपत्तीको सामना गर्नुपरेपछि भने आर्थिक र भौतिक व्यवस्थापन गर्न निकै सकस परेको छ । अहिले प्रभावित क्षेत्रमा उद्धार र राहात वितरणका काम भएका छन् भने चुनौतीका रुपमा पूनर्निर्माण र बस्ती स्थानान्तरण नै रहेको सम्बन्धित पालिकाका जनप्रतिनिधी बताउँछन् । अब ढिलोचाँडो बस्तीलाई व्यवस्थित बनाउन जरुरी देखिन्छ । यसका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले सहयोग गर्दै बेरोजगार युवाहरुलाई तालिम दिएर उनीहरुलाई काममा खटाउनु पर्ने आवश्यकता छ ।
बाढीपहिरोले प्रभावित यहाँका पालिकाहरुमा कुनै पनि क्षेत्र सुरक्षित रहेन । सडक, विजुली, खानेपानी, सञ्चार, कृषि, पशुपालन, निजी आवास, सरकारी भवन, विद्यालय, स्वास्थ्यचौकी सबैजसो क्षेत्रमा असर परेको थियो ।
स्थानीयका गास–बास–कपाससँगै भौतिक संरचना पूर्णरुपमा क्षति भयो । गत वर्ष जिल्लाका १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० वटा तहमा बाढी, पहिरोमा परी ७९ जनाले ज्यान गुमाए । बाढी, पहिरोबाट काभ्रेपलाञ्चोकको पनौती नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेका थिए । बाढी, पहिरोमा परी जिल्लामा अझै पाँच जना बेपत्ता र ७५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
जिल्लामा करिब १० हजार परिवार प्रत्यक्ष प्रभावित बनेको विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढी, पहिरोले सयौँ परिवार घरबारविहीन भए भने क्षतिग्रस्त भएका विभिन्न सडकमा यातायात सेवा अझै प्रभावित छ ।
एक वर्ष पूरा हुँदा पनि अधिकांश पालिकामा पूनर्निर्माणका काम शुरु हुन सकेका छैनन् । धेरैजसो पालिकाले राहात दिएपछि बाँकी प्रक्रिया अघि नै बढ्न नसकेको बताइरहेका छन् । पीडित भने अझै आफन्त र भाडाका घरहरुमा छन् भने केही टहरामै छन् । त्यसमाथि यो वर्ष थप विनास भएको छ ।
अहिले देशमा राजनीतिक परिवर्तन मात्र भएको छैन, देश फेरि निर्वाचनमा जानु पर्ने अवस्था छ । यसले बाढीप्रभावितहरुका घर निर्माणमा अझै ढिला हुने संकेत पाइएको छ । पीडितहरु कहिलेसम्म टहरामै रहने ? यसको जवाफ कसले दिने ?
