मण्डनदेउपुर । सामुदायिक बचत तथा ऋण सहकारी संस्था काभ्रेपलाञ्चोक कुन्तावेँसी सेवाकेन्द्रको व्यवस्थापनमा मण्डनदेउपुर नपा वडा नं. १ र ५ मा किसान सदस्यहरुको माग बमोजिम घुम्ती पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
सेवाकेन्द्रको व्यवस्थापन र मण्डनदेउपुर नगरपालिकाको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमको संयोजकत्व सेवाकेन्द्र व्यवस्थापन उपसमिति संयोजक नारायणप्रसाद लम्सालले गर्नुभएको थियो । किसान सदस्यहरुको घरगोठमा नै गई उहाँहरुले पालन गर्नुभएको पशुधनको स्वास्थ्य अवस्था परिक्षण गरी पशुस्वास्थ्यका सम्बन्धमा किसानहरुलाई अभिमुखीकरण गर्दै पशु स्वास्थ्य जाँचका क्रममा देखिएका स्वास्थ्य समस्याका बारेमा र रोग रोकथामका विभिन्न उपायहरुका बारेमा सल्लाह सुझाव र पूर्वसतर्कताका विषयमा सदस्यहरुलाई जानकारीसमेत गराइएको थियो ।
आफ्नो घरगोठमा प्राविधिक टोलीसहित उपस्थित भई व्यवहारिक ज्ञान, सल्लाह, सुझाव उपलव्ध गराई प्राविधिकसँग प्रत्यक्ष संवाद गर्ने अवसर दिलाइदिएकोमा सदस्यहरुले सामुदायिक संस्था केवल नाममा मात्र सामुदायिक नभई व्यवहारमा समेत सामुदायिक रहेछ, किसानको दुःख सुखमा सधैं साथमा रहेको कुरा व्यक्त गर्दै धन्यवाद व्यक्त गर्नुभएको थियो ।
गत असोज २९ र ३० गरि दुई दिन संचालित घुम्ती स्वास्थ्य शिविरमा सेवाकेन्द्र व्यवस्थापन संयोजक नारायणप्रसाद लम्साल, उपसमिति सदस्य नारायणप्रसाद सापकोटा, मण्डनदेउपुर नगरपालिकाकी पशुपन्छी विकास शाखाकी पशु चिकित्सक डा. उषा घिमिरे, सेवाकेन्द्रका कर्मचारीहरु र स्थानीय अगुवा किसान सदस्यहरुले सहजीकरण गर्नुभएको थियो । शिविरमा ६१ जना सदस्यहरुको १३५ वटा पशुधनको स्वास्थ्य परिक्षण गरिएको थियो ।
