काठमाडौँ । दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुज्यान मगियालाई सरकारले रोजगारी दिएको छ । सुरक्षण मुद्रण कोषमा उनलाई रोजगारी दिइएको हो ।

सोमबार सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितीमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई करार सेवामा काम गर्नेगरी कम्प्युटर अधिकृतको नियुक्ति दिएका छन् । पत्रकार रजकको गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा ज्यान गएको थियो ।

यस विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले फेसबुकमा लेखेका छन्, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दिवंगत पत्रकार सुरेश रजकको श्रीमती सुजन मगियालाई सुरक्षण मुद्रण केन्द्रमा रोजगारीको नियुक्ति पत्र प्रदान गर्ने अवसरमा उपस्थित हुँदा, यो केवल एक औपचारिक कार्यक्रम मात्र रहेन—यसले जिम्मेवारी र संवेदनाको भावलाई एकसाथ गहिरोसहित स्पर्श गर्यो ।
मन्त्रालय अन्तर्गतको मुद्रण केन्द्रमा कम्प्युटर अपरेटर (करार सेवा) का रूपमा सुजनलाई गरेको यो नियुक्ति, उहाँहरूको परिवारले भोगिरहेको पीडाको घाउमा लागेको सानो मल्हम मात्र हो। अझ धेरै गर्न बाँकी छ, र त्यो जिम्मेवारीलाई मैले गम्भीरतापूर्वक लिएको छु ।

गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पेशागत दायित्व पूरा गर्दै गर्दा पत्रकार सुरेश रजकले असमयमै ज्यान गुमाउनु परेको घटनाले हामी सबैलाई गहिरोसम्म मर्माहत बनाएको छ । परिवारका लागि जीवनभरको सहारा गुम्नु कति असह्य पीडा हुन्छ—यसलाई शब्दमा बयान गर्न कठिन छ। सुरेशको परिवारले राखेका न्यायसंगत मागहरू सम्बोधन गर्नु सरकारको दायित्व हो भन्ने दृढ विश्वासका साथ आजको यो कदम अघि बढाइएको हो। सुरेशको योगदान र सम्झना सदैव अमर रहनेछ ।

उहाँको परिवारको भविष्य सुरक्षित बनाउन, अधिकार र न्याय सुनिश्चित गर्न म निरन्तर सक्रिय र प्रतिबद्ध रहनेछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *