पाँचखाल । काभ्रेको पाँचखालमा बिहीबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका–४ स्थित सडकमा हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई अरनिको यातायातको बा २ ख ६५७९ नम्बरको बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते श्रेष्ठको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो।
सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँका लागि हिँडेको सो बसले पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि उनका आफन्तले चालकलाई कारबाही तथा क्षतिपूर्तिको माग गर्दै अरनिको राजमार्गको पाँचखाल खण्ड अवरुद्ध गरेका थिए । घटनापछि चालक फरार छन् भने बसलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।
