धुलिखेल । नेपालमा ड्रोन शिक्षा र प्रायोगिक उपयोगलाई संस्थागत रूपमा विस्तार गर्न ड्रोन हब नेपालले चीनको ग्वाङ्झाओ सिभिल एभिएसन कलेज (GCAC) सँग सहकार्य गर्दै धुलिखेलको हाइडअवे ग्ल्याम्पिङमा मंसिर २५ गते (डिसेम्बर १०) एकदिने उन्नत ड्रोन प्रविधि कार्यशाला आयोजना गर्न लागेको छ। नेपालमा औद्योगिक ड्रोन प्रयोग, सुरक्षा मानक र व्यावसायिक तालिम प्रणाली अझ व्यवस्थित नहुँदा अन्तर्राष्ट्रिय साझेदारीद्वारा सीप र प्रविधि हस्तान्तरणलाई महत्वपूर्ण मोडको रूपमा हेरिएको छ।

चिनियाँ शैक्षिक संस्थाबाट डिन टियान जुसहित सह–डिन, निर्देशक, प्रशिक्षक र प्राविधिक संयोजक रहेको टोली नेपाल आएर प्रशिक्षण मानक, नियामक अभ्यास र उद्योगमा ड्रोनको प्रभावकारी प्रयोगबारे विस्तृत ज्ञान साझा गर्नेछ। नेपालतर्फबाट UDAAN का अध्यक्ष राजभाई सुवालसहित पेशेवर टोलीको सहभागिता रहेको यो कार्यशाला नेपाली नियामक निकाय, उद्योग र शैक्षिक संस्थाका लागि संयुक्त मानक (joint standards) बनाउने दिशामा पहिलो पाइला ठहरिने अपेक्षा गरिएको छ।

कार्यक्रमको सुरुवात विद्यार्थीहरूकै RC विमान प्रदर्शनबाट गरिनु कार्यशालाको अर्को विशेषता हो, जसले युवाहरूलाई एयरोमोडेलिङ र UAV इनोभेशनतर्फ उन्मुख गराउने आयोजकको विश्वास छ। प्रशिक्षकले ‘भविष्यका ड्रोन पेशेवरको व्यवहारिक क्षमता’ शीर्षकमा लक्षित प्रस्तुति दिने GCAC ले जनाएको छ।

कार्यक्रमको समग्र नेतृत्व ड्रोन हब नेपालका प्रबन्ध निर्देशक प्रबिन भट्टराईले लिएका छन् भने प्राविधिक, सञ्चार, लजिस्टिक्स र परियोजना संयोजन अफताब आलम, सचिन सिंह, ओम साह, रसिदव राज, सुजित चौधरी र दीपिका केसीले सम्हालेका छन्। हाइडअवे ग्ल्याम्पिङका संचालक निरज श्रेष्ठ र सुजन खतिवडाको सहयोगले यस क्षेत्रमा निजी–क्षेत्र साझेदारी (PPP-style collaboration) को नमुना देखिएको छ।

GCAC टोलीले काठमाडौं र भक्तपुरका अग्नि नियन्त्रक केन्द्रहरूको अवलोकन गर्दै विपद् व्यवस्थापनमा ड्रोनको प्रभावकारिता मूल्यांकन गर्नेछ। नेपालमा आगलागी नियन्त्रण, पहिरो अनुगमन, खोज तथा उद्धारमा ड्रोन प्रविधिको प्रयोग बढ्दै गएको परिप्रेक्ष्यमा यस भ्रमणले नीति निर्माण र क्षमतावृद्धिमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

ड्रोन हब नेपालका अनुसार, अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यमार्फत नेपालमा UAV इकोसिस्टम निर्माण, युवा इन्जिनियरलाई विश्वस्तरीय प्रविधि–तालिममा जोड्ने र विकास परियोजनामा जिम्मेवार ड्रोन उपयोगलाई संस्थागत बनाउने लक्ष्यका साथ कार्यशाला आयोजना गरिएको हो। यसले नेपाललाई ड्रोन प्रविधि अनुकूल राष्ट्रका रूपमा उभ्याउने दिशा दिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *