सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ८ स्थित लाभगाउँ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा, शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ । कान्छीमाया तामाङ फाउण्डेशनका प्रोप्राइटर डा. दिलबहादुर थोकरको उपस्थितीमा आयोजित कार्यक्रममा विद्यालयका ३० भन्दा बढी विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको हो ।
कार्यक्रमसँगै सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य परीक्षणपछि आवश्यक औषधीसमेत निःशुल्क वितरण गरिएको छ । यस्तै, कार्यक्रमको अवसरमा समाजसेवी लाफिङ बुद्ध गुरु शेरबहादुर तामाङले पनि विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गर्नुभएको थियो ।
सिन्धु स्पाइडर युवा क्लबका अध्यक्ष अरुण तामाङ र गायक सुक्री दोङ लगायत काठमाडौँमा बसोबास गर्ने वडाका समाजसेवीहरुको पहल तथा ब्यवस्थापनमा भएको उक्त कार्यक्रममा विद्यालयले सहयोगीहरूलाई सम्मानपत्रसमेत वितरण गरेको छ । कार्यक्रमको अवसरमा डा. थोकरले विद्यालय तथा स्थानीय क्षेत्रको अवस्था बुझ्दै आगामी दिनमा पनि यस्तै खालका सहयोगात्मक कार्यक्रम लिएर पुनः आउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वडा अध्यक्ष जितबहादुर दोङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तामाङ चलचित्र निर्देशक संघका महासचिव विनय दोङ, समाजसेवी मेन्दो गोले, माया शेर्पा लगायतको उपस्थिती थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेङा स्याङबोको अध्यक्षतामा भएको कार्यक्रममा छिमेकी विद्यालय, जलवाई देवी माध्यमिक विद्यालयका अध्यक्ष जलबहादुर दोङलगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
सिन्धु स्पाइडर युवा क्लवका अध्यक्ष अरुण तामाङले विद्यालयसम्म आएर जाडोको समयमा बालबालिकालाई चिसोबाट बचाउने उद्देश्यले न्यानो कपडा वितरण गरेकोमा सहयोगी संस्था तथा ब्यक्तिहरुमा धन्यवाद ब्यक्त गर्नुभयो । चिसो मौसममा न्यानो कपडा पाउँदा विद्यार्थीहरु तथा ग्रामीण क्षेत्रमा घरमै स्वास्थ्य परिक्षण गराउन पाउँदा स्थानीयहरु खुशी भएका छन् ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अहोरात्र खटिरहेको बताउँदै विद्यालयका प्रधानाध्यापक दीपक खड्काले हाल शैक्षिक गुणस्तर अभिवृद्धिका क्रममा नियमित साप्ताहिक अतिरिक्त क्रियाकलाप सञ्चालन तथा बाल मनोविज्ञानलाई मध्यनजर गर्दै शिक्षण सिकाइको थालनी गरिएको बताउनुभयो ।
शैक्षिक गुणस्तर अभिवृद्धिका साथै विद्यार्थीको स्वास्थ्यलाई समेत मध्यनजर गरी भएको यस खालको सहयोग प्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो ।
पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण
सोही विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । बुधबार विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सामाग्रीहरू वितरण गरिएको हो ।
२०४५ सालमा स्थापना भएको यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर र उपस्थितीमा सुधार ल्याउने उद्देश्यले सो सहयोग उपलब्ध गराइएको हो । यस पवित्र कार्यमा विभिन्न सामाजिक संस्थाहरूले हातेमालो गरेका छन् । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ, “शुभतारा“ (डिस्ट्रिक्ट ३२५ एफ नेपाल), लायन्स क्लब अफ मेलम्ची (डिस्ट्रिक्ट ३२५ एफ नेपाल), अन्जु कुइँकेल शिक्षा स्मृति कोष चाबहिलले सहयोग गरेका हुन् ।
कार्यबाहक वडा अध्यक्ष इन्द्रबहादुर गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ’विद्यालय पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम’ मा विद्यालयका ३२ बालबालिकाहरूलाई स्वीटर, टोपी, पानी पिउने बोतल, कापी, कलम लगायतका स्टेशनरी सामग्री वितरण गरियो ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं, “शुभतारा“ (डिस्ट्रिक्ट ३२५ एफ नेपाल), का राजेश हिमालय लायन्स क्लब अफ मेलम्ची (डिस्ट्रिक्ट ३२५ एफ नेपाल), का सुरेन्द्र सुनार र सुवास बानियाँ तथा स्थानीय अभिभावकहरूको उपस्थिती रहेको थियो । सहयोग प्राप्त गरेपछि विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए । सहयोगी संस्थाहरूले आगामी दिनमा पनि यस्ता सामाजिक र शैक्षिक क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
