सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ७ र ८ अन्तर्गत लाँगर्चे–सोले–कालढुङ्ग–भोटेनाम्लाङ जोड्ने अनुमानित ११० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणका लागि मंगलबार शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त पुल अनुमानित बजेट १ करोड २४ लाखमा सम्पन्न हुने जनाइएको छ ।
यस महत्वपूर्ण आयोजनाको निर्माण कार्य कादुरी एग्रिकल्चर ब्रिटिश गोर्खा वेल्फेयर, पोखराको सहयोगमा अगाडि बढाइएको हो । पुल निर्माणका लागि वडा नं. ३ का अध्यक्ष निमाछिरिङ तामाङ, वडा नं. ८ का अध्यक्ष बिष्णुबहादुर खड्का तथा वडा नं. ७ का अध्यक्ष सुके तामाङको समन्वय तथा सहजीकरणमा बजेट व्यवस्थापन भएको थियो । कार्यक्रममा सक्रिय युवा राजन भुजेल, निवर्तमान वडा नं. २ का अध्यक्ष पासाङ स्याङबो, तथा कार्यपालिका सदस्य गीता धितालको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष टासी लामाले आफ्नो दोस्रो कार्यकालभित्रै उक्त झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार निर्माण कार्य तीव्र गतिमा अगाडि बढिसकेको छ र चार महिनाभित्र पुल निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ ।
पुल निर्माण सम्पन्न भएपछि वडा नं. ७ भोटेनाम्लाङ र वडा नं. ८ लाँगर्चेबीच सहज, सुरक्षित तथा नियमित आवतजावत सम्भव हुने स्थानीयवासीहरूले विश्वास व्यक्त गरेका छन् । लामो समयदेखि पुलको प्रतिक्षामा रहेका स्थानीयका लागि यो पुल महत्वपूर्ण र दीर्घकालीन पूर्वाधार बन्ने अपेक्षा गरिएको छ ।
