ज्ञानमणि नेपाल कालोटोपी

काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न भागबाट गत मंसिर महिनामा मात्रै एक हजार ६९६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । प्रहरीले दिएको तथ्यांक अनुसार सात वटै प्रदेशमा गरि सो संख्यामा फरार प्रतिवादी पक्राउ परेका हुन् ।

जसमा सबैभन्दा बढी मधेश प्रदेशबाट पक्राउ परेका छन् । यहाँ ४९१ जना प्रतिवादी पक्राउ परेका हुन् । उनीहरुबाट ८७ लाख २५ हजार ७९० रुपैंयाँ जरिवाना असुल गरिएको छ । यस्तै कोशी प्रदेशमा २१० जना पक्राउ परेका छन् । यहाँ २ करोड ७१ लाख २० हजार ६०३ रुपैंयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ ।

वागमती प्रदेशका १० जिल्लामा १०४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । उनीहरुबाट ३ करोड १५ लाख ५१ हजार २७ रुपैंयाँ जरिवाना असुल गरिएको छ भने वागमतीकै काठमाडौं उपत्यकाका तीन जिल्लाहरुबाट ७३ जना पक्राउ पर्दा १ करोड ९३ लाख ३१ हजार ८८ रुपैंयाँ असुल गरिएको छ । उता गण्डकी प्रदेशमा प्रतिवादी पक्राउ पर्नेको संख्या ६९ जना छ । यहाँ एक करोड तीन लाख ८१ हजार २० रुपैंयाँ जरिवाना असुल गरिएको तथ्यांकमा उल्लेख छ ।

लुम्बिनी प्रदेशमा २३८ जना पक्राउ परेका छन् । उनीहरुबाट एक करोड तीन लाख ५५ हजार ७३४ रुपैंयाँ जरिवाना असुल गरिएको छ । कर्णालीमा सबैभन्दा कम अर्थात २५ जना प्रतिवादी पक्राउ पर्दा १ लाख ६८ हजार ३१० रुपैंयाँ जरिवाना असुल गरिएको छ । सुदूरपश्चिममा भने ४८६ जना प्रतिवादी पक्राउ पर्दा १ करोड ६१ लाख २ हजार ९७३ जरिवाना असुल गरिएको प्रहरीको तथ्यांक छ ।

उल्लेखित फरार प्रतिवादीबाट समग्रमा १२ करोड ३७ लाख ३६ हजार ५४४ रुपैंयाँ जरिवाना असुल गरिएको छ । ती प्रतिवादीहरुलाई कैद भुक्तानका लागि ६४१ वर्ष ६ महिना २४ दिनको समय तोकिएको पनि प्रहरीले दिएको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *