बेथानचोक । काभ्रेको बेथानचोक गाउँपालिका वडानम्बर १ भित्र रहेका विद्यालयका विद्यार्थीहरुका लागि शैक्षिक सामग्रीस्वरूप झोला वितरण गरिएको छ । सो वडाका चक्रेश्वर माध्यमिक विद्यालय, भैरव माध्यमिक विद्यालय, चन्देवी प्राथमिक विद्यालय, बाघभैरव प्राथमिक विद्यालय र त्रिवेणी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई झोला वितरण गरिएको हो ।

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीलाई झोला वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले झोला वितरण गर्दै निजी क्षेत्रको सामाजिक उत्तरदायित्वले शिक्षामा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै रचनात्मक सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

यस्तै वडा नं. १ का वडा अध्यक्ष मधुसुधन तिमल्सिनाले स्थानीय तह र निजी क्षेत्रको सहकार्यले समुदायको समग्र विकास सम्भव हुने बताउनुभयो । उहाँले वडाभरिका पाँच वटा विद्यालयका विद्यार्थीले सहयोगी संस्थाको यो सहयोग सधैं सम्झिरहने बताउँदै संस्थाको सफलताको कामना गर्नुभयो ।

कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स बागमती प्रदेशका उपप्रमुख जितेन्द्र शाह, चापागाउँ शाखा प्रमुख सचिन के.सी., रबिन्द्र तिमल्सिना, सृष्टि बस्नेत तथा एजेन्सी मेनेजर इरिना तिमल्सिनाको उपस्थिती रहेको थियो । उहाँहरुले “बीमा के हो ? किन गर्नुपर्छ ? कसरी गर्नुपर्छ ?” भन्ने विषयमा विद्यार्थी तथा उपस्थित अभिभावकहरूलाई जानकारीमूलक प्रस्तुती दिनुभयो ।

कार्यक्रममा भैरव माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द घिमिरे, प्रधानाध्यापक ओमप्रसाद तिमल्सिना, चक्रेश्वर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुमन दाहाल, प्रधानाध्यापक हरिप्रसाद घिमिरेलगायतले मन्तव्य व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीहरूको अध्ययनमा थप उत्साह बढ्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *