सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नम्बर ९ गुफाडाँडामा स्वर्गिय जस्पाल पाख्रिन तामाङ (बासा)को शालिक अनावरण तथा स्मृति सभा कार्यक्रम भव्यरूपमा सम्पन्न भएको स्वर्गिय जस्पालका नाती निशान तामाङले जानकारी दिनुभयो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य, निवर्तमान जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङको विशेष आतिथ्य तथा वडा नम्बर ९ का अध्यक्ष किरणदीप खड्काको आतिथ्यमा स्वर्गिय तामाङको शालिक अनावरण गरिएको हो ।

शालिक अनावरण गर्दै नगर प्रमुख आइतमान तामाङले स्वर्गिय जस्पाल पाख्रिन तामाङ समाजसेवा, स्थानीय विकास र सामाजिक एकताका प्रतीक व्यक्ति भएको उल्लेख गर्नुभयो । उहाँले स्वर्गिय बासाले समाजका लागि पुर्याएको योगदान आज पनि सबैका लागि प्रेरणाको स्रोत बनेको भन्दै स्मृतिलाई सम्मान गर्दै शालिक स्थापना गर्नु आगामी पुस्तालाई मार्गदर्शन गर्ने काम भएको बताउनुभयो ।

विशेष अतिथि निवर्तमान जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङले स्वर्गिय तामाङको योगदान केवल गुफाडाँडा वा वडा नम्बर ९ मा मात्र सीमित नरहेको बताउनुभयो । उहाँले देखाएको बाटो र समाजप्रतिको समर्पणले हामी सबैलाई सकारात्मक कामतर्फ अग्रसर हुन प्रेरित गर्ने भन्दै यस्तो स्मृति कार्यक्रमले सामाजिक एकतालाई थप बलियो बनाउने बताउनुभयो ।

कार्यक्रमका अध्यक्षसमेत रहनुभएका वडा नम्बर ९ का अध्यक्ष किरणदीप खड्काले स्वर्गिय जस्पाल पाख्रिन तामाङको सम्झनामा गरिएको शालिक स्थापना वडा र समुदायका लागि गौरवको विषय भएको बताउनुभयो । वडाले जन्माएको एक कर्मशील व्यक्तित्वको योगदानलाई सम्मान गर्न पाउँदा गर्व लागेको बताउँदै उहाँका असल कर्म र विचारलाई जोगाइराख्नु नै हाम्रो कर्तव्य भएको बताउनुभयो ।

स्मृति सभामा स्थानीय बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि, परिवारजन तथा सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो। सहभागीहरूले स्वर्गिय तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानको स्मरण गरेका थिए । कार्यक्रम जस्पालका छोरा शेरपदोर्जे पाख्रिनको अध्यक्षतामा भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *