बनेपा । काभ्रेको बुडोलमा मूख्य कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ६० वर्ष उमेर कटेका सदस्यहरुलाई तीर्थाटन कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौँको तारकेश्वरमा निर्माण भइरहेको चारधाम तीर्थस्थल शान्तिधामको दर्शन गराउन संस्थाले बिहीबार सो स्थानमा तीर्थाटन गराएको हो । संस्थाको वार्षिक कार्यक्रम अनुसार तीर्थाटनका लागि २७५ जना जेष्ठ नागरिक उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा सहभागीहरुलाई संस्थाले धार्मिक प्रवचन, भजनकिर्तन र भोजन गर्ने व्यवस्था मिलाएको थियो । संस्थाको महिला तथा सामाजिक सांस्कृतिक उपसमितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । संस्थाले विगत ३ वर्षदेखि नै आफ्ना ६० वर्ष उमेर पूरा भएका सदस्यहरुलाई यस प्रकारको तीर्थाटन कार्यक्रमको आयोजना गर्दै आएको संस्थाका उपाध्यक्ष प्रकाश भुर्तेलले जानकारी दिनुभयो ।

संस्थाको यस किसिमको कार्यक्रमबाट जेष्ठ सदस्यहरु निकै खुशी हुनुहुन्थ्यो । ‘हाम्रो लागि संस्था आफ्नै घर जस्तै भएको छ ।’ धुलिखेलका जेष्ठ नागरिक अच्यूतप्रसाद बडालले भन्नुभयो । उहाँ संस्थाको सदस्य भएको १५ वर्ष बढी भयो ।

यस्तै धुलिखेल नगरपालिका चंखुवेँसीका सदस्य कृष्णप्रसाद सापकोटा पनि संस्थाको कार्यक्रममा नियमित संलग्न हुँदै आउनुभएको छ । बिहीबारको कार्यक्रममा पनि उहाँ पुग्नुभएको थियो । भजन किर्तनसहितका कार्यक्रममा पनि उहाँ सक्रिय हुनुभयो । साथै तारकेश्वरमा निर्माण भइरहेको चारधामका लागि सकेको आर्थिक सहयोग पनि गर्नुभयो । उहाँ संस्थाले गरेको यस्तो कार्यप्रति निकै खुशी देखिनुहुन्थ्यो । उमेरले ८० पुगिसक्नु भएका उहाँ संस्थाले जेष्ठ नागरिकलाई निकै नै माया गरेको अनुभव सुनाउनुहुन्छ ।

यसैगरि संस्थाका अर्का सदस्य बनेपा नगरपालिका वडानम्बर १० का हर्कबहादुर खड्का पनि बुडोल सामुदायिक सहकारीको जेष्ठ नागरिक सम्मान कार्यक्रमबाट निकै प्रसन्न हुनुहुन्छ । उहाँले कहिल्यै नपुगेका नयाँ ठाउँमा संस्थाका सदस्यहरुलाई भ्रमण गराएर संस्थाले निकै ठूलो पुन्य कमाएको बताउनुभयो । उहाँ यस अघिका कार्यक्रमहरुमा पनि सहभागी हुनुहुन्थ्यो । आगामी कार्यक्रमहरुमा पनि सकेको सहभागिता जनाउने उहाँ बताउनुहुन्छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका वडानम्बर–२ मा भारतका प्रशिद्ध तीर्थस्थलहरु बद्रीनाथ, द्वारका, रामेश्वर र जगन्नाथपुरीको झल्को दिने गरि चारधामको निर्माण भइरहेको छ । विगत १० वर्षदेखि शुरु निर्माणकार्य अहिले जारी छ । हालसम्म यहाँ बद्रीनाथको मन्दिर करिब सम्पन्न भइसकेको छ भने अन्य मन्दिरहरु निर्माण भइरहेका छन् । बिहीबारको कार्यक्रममा बुडोल सामुदायिक साकोसबाट गएका धेरैजसो जेष्ठ नागरिकहरुले यहाँ आफूले सकेको आर्थिक सहयोग गर्नुभएको थियो । यस्तै संस्थाले पनि आफ्नोतर्फबाट ११ हजार १०५ नगद दान गरेको संस्थाका उपाध्यक्ष प्रकाश भुर्तेलले जानकारी दिनुभयो । आजको कार्यक्रममा संस्थाका विभिन्न सेवाकेन्द्रबाट पनि उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *