स्वास्थ्य सूचकांकका आधार पूरा गरेर पूर्ण खोप सुनिश्चिततामा काभ्रेपलाञ्चोक जिल्ला बागमती प्रदेशमै पहिलो जिल्ला हुन सफल भएको छ । खोप सेवाको पहुँच तथा उपभोगको हिसाबले पहिलो क्याटोगोरीमा पर्ने बागमती प्रदेशको एक मात्र जिल्ला रहेको जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको हो ।
जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले दिएको जानकारी अनुसार प्रदेशका १३ जिल्लामध्ये काभ्रे पहिलो भएको हो । कार्यालयका अनुसार काभ्रे जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेको छ । यहाँका पनौतीमा एक र खानीखोलामा एक जना बालबालिका गरि दुई जनामा मात्र खोप लगाउन छुटेको छ । त्यसमा पनि एक जनाको आमा सम्पर्कमा नआएका कारण खोप लगाउन छुटेको थियो ।
जिल्लाका १३ पालिका मध्ये नमोबुद्ध नगरपालिका गत वैशाख १७ गते पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको थियो । सबै प्रक्रिया पूरा गरेका पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने अभियानका आधारमा असार २ गते बेथानचोक र चौंरीदेउराली गाउँपालिकालाई घोषणा गरिएको हो । यससँगै जिल्ला पनि पूर्ण खोप सुनिश्चित भइसकेको छ । कार्यालयले अब पूर्णखोप विद्यालयको अवधारणा अघि सारेर काम गर्ने सोच बनाएको कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिनुभयो । नेपालमा खोप लगाउने बालबालिकाको समग्र अवस्था भने ५२ प्रतिशत रहेकोमा वागमती प्रदेशमा ६० प्रतिशत छ ।
काभ्रे जिल्लामा ६ वटा सरकारी अस्पतालहरु रहेका छन् । निजी अस्पतालको संख्या ११ छ । स्वास्थ्य चौकी ८४, प्राथमिक स्वास्थ्य केन्द्र ४, आयूर्वेद तथा वैकल्पिक चिकित्सालय ६, शहरी स्वास्थ्य केन्द्र १३, सामुदायिक स्वास्थ्य इकाई २२ वटा रहेका छन् । यस्तै आधारभूत स्वास्थ्य केन्द्र ३९, वर्थिङ सेन्टर ४७ वटा, क्षयरोग माइक्रोस्कोपी सेन्टर २३ र ओटीसी सेन्टर ३८ वटा रहेका छन् । सुरक्षित गर्भपतन साइट २२, डट्स सेन्टर १५६, निजी क्लिनिक ÷ पोलिक्लिनिक २०, वेसिक ल्याव ३३, किशोर किशोरी मैत्री स्वास्थ्य संस्था २५, गाउँघर क्लिनिक ३६३ वटा रहेका छन् । कार्यक्रममा दिइएको जानकारी अनुसार खोप क्लिनिक ३६७ वटा, महिला स्वयं सेविका ९३७ जना र जिल्लामा संचालित एम्बुलेन्स ४६ वटा रहेका छन् ।
जिल्लाका १३ पालिकामा १३५ वटा वडाहरु रहेका छन् । जसमा पाँचखाल नगरपालिकाको वडानम्बर ४ बाहेक १३४ वटा वडामा स्वास्थ्य संस्था रहेका कार्यक्रममा कार्यालयका सूचना अधिकारी दीपेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभयो । ती वडाहरुमा १६८ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । मापदण्ड अनुसारका स्वास्थ्य संस्थाका भवनको संख्या ९२ छ । ४४ वटा स्वास्थ्य संस्थामा २४ सै घण्टा सेवा संचालन भइरहेका छन् ।
यसरी हेर्दा काभ्रे जिल्लाले स्वास्थ्य सेवाका विषयमा प्रगति गरेको देखिन्छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्नेछ । यसका लागि सबैले साथ र सहयोग दिनुपर्ने आवश्यकता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *