ज्ञानमणि नेपाल कालोटोपी
धुलिखेल । लुम्बिनी पहिले पनि पुगेको थिएँ । त्यसकारण यो मेरो लागि त्यति नौलो ठाउँ त थिएन । तर सन् २००० को पुसमा गएको यो ठाउँमा २५ वर्षपछि पुनः जान पाउँदा छुट्टै अनुभव भयो । अघिल्लो महिना पूर्वी नेपालको भ्रमणमा गएको थिएँ । यो पटक पश्चिम नेपालका केही जिल्ला पुगियो । त्यसमा पनि रुपन्देही र कपिलवस्तुका धेरै धार्मिकस्थलहरुको भ्रमण गर्न पाइयो । यो अवसर मिलाइदिएको थियो, कान्छीमाया तामाङ फाउण्डेशनले ।
संस्थाका अध्यक्ष डा दिलबहादुर थोकरसँग करिब २ वर्ष पहिले चिनजान भएको थियो । संस्थाका गतिविधिहरु विभिन्न संचारमाध्यममा प्रकाशित गराउँदै आउँदा यो पटक संस्थाले लुम्बिनी भ्रमणको व्यवस्था मिलाएको थियो । विगत वर्षमा पनि यसैगरि संस्थाले आफ्नो कार्यक्षेत्रभित्रका जेष्ठ नागरिकका लागि भ्रमण गराएको थियो । यो वर्ष पनि ६६ जनालाई लुम्बिनी भ्रमणको वातावरण मिलाएको संस्थाले आगामी वर्षहरुमा पनि यस्तो कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
लुम्बिनी भ्रमणको पहिलो दिन पुस २० गते हामी धुलिखेलबाट प्रस्थान गर्यौं । एउटा बसमा नअटेका कारण अर्को सानो इभी गाडीसमेत लिएर हामी जडिबुटीबाट प्रस्थान गर्यौं । थानकोटबाट ओरालो झरेर जाँदै गर्दा पृथ्वी राजमार्गमा भने सधैंको जामले हामीलाई पनि केही ढिलो गरायो । सडक मर्मतको काम भइरहेको रहेछ । गल्छीमा पुगेर खाना खायौं, जहाँ हाम्रै टीमले यसको व्यवस्था गरेको थियो । जाम छिचोल्दै रमाइलो गर्दै हामी पुग्यौं लुम्बिनी । तर त्यहाँ पुग्दा धेरै ढिला भइसकेको थियो । इभी गाडीमा चार्ज सकिने समस्या हुने रहेछ । लामो दुरीका लागि यसले प्रभावकारीरुपमा काम गर्न सकेको जस्तो लागेन । तैपनि वातावरणमा भने यसले सकारात्मक प्रभाव पार्ने देखियो । हामी त्यस दिन लुम्बिनी पुग्दा राति ३ बजेको थियो । जुन हाम्रो निर्धारित समयभन्दा करिब ४ घण्टा ढिलो हो ।
भोलिपल्ट बिहान करिब ८ बजेतिर मात्र उठ्न सकिएछ । बाहिर हेर्दा पूरै अँध्यारो । बुझ्दा थाहा भयो, त्यहाँ त एक हप्तादेखि शितलहर चलिरहेको रहेछ । घाम नदेखिने समस्या पनि निकै कष्टकर थियो । दिउँसै लाइट बालेर मात्र गाडीहरु ओहोरदोहोर गर्नुपर्ने समस्या थियो । बिहानको हल्का नास्ता गरेर हामी करिब ११ बजेतिर लुम्बिनीका ऐतिहासिकस्थलहरुको अवलोकन गर्न गयौं । पहिले हाम्रो यात्रा थियो, शान्तिदीप । जहाँ हरेक क्षण दीप बलिरहने गर्दो रहेछ । एकनासको आगो, एउटा रोचक दृष्य । नजिकै स्टिमर पनि संचालन गरिएको रहेछ । हामीलाई ती दृष्य निकै मनमोहक मात्र लागेनन् रोचक पनि लागे । हामी त्यहाँबाट केही पर रहेको मायादेवी मन्दिर पुग्यौं ।
ककरहवा नजिकको सीमा क्षेत्र हो । यहाँ खुल्ला सीमाका कारण भारतबाट नेपालमा खुलेआम सामानहरु ल्याउने गरिएको दृष्य त्यति राम्रो लागेन । दुई देशको सीमा क्षेत्र एउटा वडाको जस्तो मात्र पनि थिएन । एउटा सानो खोल्सीले सीमाना छुट्याउने हुँदा अवैध गतिविधी बढ्ने जोखिम उच्च मात्रामा रहेको पाइयो ।
मायादेवी गौतम बुद्धकी आमाको नाम हो । उनी माइत जानेक्रममा लुम्बिनी पुगेपछि सिद्धार्थ गौतमको जन्म भएको इतिहास छ । उनै सिद्धार्थ पछि गौतम बुद्धको नामबाट विश्वभर प्रसिद्ध छन् । हामीले मायादेवीको मन्दिर दर्शन गर्यौं । जहाँ अरु मन्दिरभन्दा फरकपन थियो । अरु मन्दिरमा भगवानको मुर्तिहरु देखिन्थे तर यहाँ त्यस्तो थिएन । भग्नावशेष दरबार र त्यसमा भएका ऐतिहासिक विषयहरु संरक्षण गरिएको रहेछ । रमाइलो लाग्यो र बौद्ध गुरुहरु हिसी दोर्जे र लोप्साङ सेरपले यहाँका धेरै कुराहरुको जानकारी दिनुभयो ।
पुस २१ गते हाम्रो भ्रमण रुपन्देही र लुम्बिनी आसपासमै बित्यो । २२ गते हामी बिहानको नास्तापछि अर्को ऐतिहासिक र धार्मिकस्थल कपिलवस्तु जिल्लाको तौलिहवा र तिलौराकोटतर्फ गयौं । लुम्बिनीबाट करिब १ घण्टाको यात्रापछि हामी तौलिहवा पुग्यौं । कुँदाल र तिलौराकोटमा भग्नावशेषमा परिणत भएका तत्कालिन राजाका दरबारहरुको अहिलेको अवस्था देखियो । तर हामीले जति सोचेका थियौं, त्यस्तो अवस्था भने पाइएन । तिलौराकोट निकै चर्चामा थियो । तर यहाँ संरक्षणका लागि अझै धेरै काम गर्न बाँकी रहेछ । यहाँ ३५ बिगाहा जग्गामा फैलिएको तत्कालिन राजा शुद्धोदनको दरबारको उत्खनन् भने गरिएको छ । तर यतिले मात्र यहाँ संरक्षण हुन सक्दैन । यसलाई संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारका साथै पुरातत्व विभागले आफ्नो भूमिका देखाएर सहयोग गर्नुपर्ने देखिन्छ । हामी ती भागहरुको अवलोकन गरेर पुनः लुम्बिनी फर्कियौं ।
त्यही दिन हामी नेपाल–भारत सीमाक्षेत्रको पनि भ्रमण गर्ने योजना बनाएर रुपन्देहीको सिद्धार्थनगरतिर प्रस्थान गर्यौं । ककरहवा नजिकको सीमा क्षेत्र हो । यहाँ खुल्ला सीमाका कारण भारतबाट नेपालमा खुलेआम सामानहरु ल्याउने गरिएको दृष्य त्यति राम्रो लागेन । दुई देशको सीमा क्षेत्र एउटा वडाको जस्तो मात्र पनि थिएन । एउटा सानो खोल्सीले सीमाना छुट्याउने हुँदा अवैध गतिविधी बढ्ने जोखिम उच्च मात्रामा रहेको पाइयो । यसमा भने दुवै देशहरुले कुटनीतिक पहल गर्नुपर्ने अवस्था छ । केही सामानहरु खरिद गरेर हामी गन्तव्यतिर फर्कियौं ।
पुस २३ गते बिहानै हामी बनेपाकै लागि फर्कियौं । फर्किँदै गर्दा नवलपुर जिल्लाको देवचुली नगरपालिकामा रहेको सिजी धाममा पुग्यौं । त्यहाँ अन्तर्राष्ट्रिय झल्को दिने गरि धामको निर्माण गरिएको रहेछ । चौधरी ग्रुपले निर्माण गरेको यो धाम पछिल्ला केही वर्षयता अर्को धार्मिक गन्तव्यको रुपमा रहेको छ । यसले पनि स्वदेशी र विदेशी पर्यटकहरुलाई आकर्षित गरेको छ । त्यहाँका दृष्य क्यामेरामा कैद गर्दै हामी नारायणघाटको बाटो हुँदै मुग्लिन पुग्यौं । यो पनि निकै चर्चित ठाउँ हो । मुग्लिनबाट पोखरा जाने र नारायणघाट जाने बाटो छुटिन्छ । हामी काठमाडौंका लागि प्रस्थान गर्यौं ।
बेलुका ढिलो गरि करिब १० बजे हामी बनेपा उत्रियौं । हाम्रो टिममा रहेका ६६ जनासहित सबै सकुशल भ्रमण सम्पन्न गर्दै घरतिर लाग्यौं । यो अवसर दिलाउने डा दिलबहादुर थोकर र उहाँले नेतृत्व गर्नुभएको कान्छीमाया तामाङ फाउण्डेशनप्रति आभार व्यक्त गर्दछौं । उहाँको टिम साँच्चै नै प्रशंसा गर्न लायकको रहेछ । उहाँको सामाजिक कार्य र धार्मिक कार्य आगामी दिनहरुमा पनि निरन्तर रहोस्, शुभकामना छ ।
