- ज्ञानमणि नेपाल कालोटोपी
विश्वमै जलस्रोतमा दोस्रो धनी देश नेपालमा नदीहरु जतिकै तालहरुको संख्या पनि उच्च छ । एक तथ्यांकले देखाए अनुसार यहाँ ५ हजार ३५८ वटा तालहरु रहेका छन् । जसमध्ये २ हजार ३२३ वटा हिमतालहरु छन् । धेरै तालहरु रहेका जिल्लाहरु मध्ये ताप्लेजुङ पहिलो नम्बरमा छ । यहाँ मात्र ३८० वटा तालहरु रहेका छन् । यस्तै कपिलवस्तुमा ३५१, सोलुखुम्बुमा ३३९ र रुपन्देहीमा २८९ वटा तालहरु रहेका छन् । एउटा पनि ताल नभएको जिल्ला ओखलढुंगा हो भने एउटा मात्र ताल भएका जिल्लाहरु काठमाडौं, काभ्रे, कालिकोट र बैतडी हुन् । ९ वटाभन्दा कम ताल भएका जिल्ला २१ वटा रहेका छन् भने १६ वटा जिल्लामा प्रत्येक जिल्लामा १०० वटाभन्दा वढी तालहरु रहेका छन् । नेपालमा २७ वटा तालहरु ५०० मिटरभन्दा कम उचाईमा रहेका छन् । यसपटक हाम्रो रिपोर्ट नेपालमा रहेका ठूला प्राकृतिक तालहरुमा केन्द्रित छ ।
१.फेवाताल
फेवाताल कास्की जिल्ला अन्तर्गत पोखराको मुख्य आर्कषण हो । हाल गण्डकी प्रदेशमा रहेको यो ताल सन् १९५७ को नापीअनुसार २२ हजार रोपनीमा फैलिएको छ । तर सन् २००० यताका अध्ययनमा तालको क्षेत्रफल घटेर ९ हजार ९ सय ५५ रोपनीमा सिमित भएको देखिएको छ । विगत केही वर्षयता फेवाताल वर्षेनी १ सय रोपनीभन्दा बढी पुरिने गरेको छ । तालको मुख्यस्रोत हर्पन खोला हुँदै तालको मुहान फेवा जलाधार क्षेत्रमा खसेको पहिरो, ढुंगा, कमेरोमाटो तथा काठपात सोझै तालमा आउँदा ताल पुरिने क्रम बढेको हो । ०७२ साउन १३ गते तालको मुहानक्षेत्र अन्नपूर्ण गाउँपालिकाको तारेभीर जंगलमा पहिरो गएर ढुंगा माटोसहित काठपात तालमा आउँदा फेवाताल एक महिनासम्म धमिलो भएको थियो ।
०६८ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा फेवातालको मुहान फेवाफाँटमा डोजर चलाएर जमीन खल्बल्याउँदा पनि तालमा माटो मिसीने क्रम बढेको हो । फेवातालको मुख्य स्रोत हर्पन खोला हुँदै प्रतिवर्ष फेवातालमा १ लाख ४२ हजार मेट्रिक टन गेग्रिन थुप्रिएको विभिन्न अध्ययनले देखाएको छ । केहीवर्ष यता यो क्रम बढेको छ ।
यसरी मानव अतिक्रमित फेवातालको संरक्षण गर्न तालबाट फाइदा लिइरहेका लेकसाइडका व्यवसायीले मुहान क्षेत्रबाट हुने भूक्षय रोक्न र मुहानको गाउँको विकासका लागि वातावरणीय सन्तुलन कायम गर्न उल्लेख्य भूमिका खेल्न जरुरी छ । तर त्यसो हुन सकेको छैन । वर्षौंदेखि यस तालमा माछा मारेर जीवन धान्दै आएका फेवाताल किनारका ९१ घरधुरी जलारी समुदायले ताल र तालका माछा संरक्षणका लागि हारगुहार गर्दा पनि स्थानीय प्रशासन र सरकारी निकायले बेवास्ता गरेको जलारी समुदायको गुनासो छ । फेवाताल किनारका ५ सय जलारीको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको फेवाताल तीन वर्षको अवधिमा सय रोपनी पुरिँदा पनि ताल संरक्षणका लागि कसैको ध्यान नगएको उनीहरु बताउँछन् ।
ताल कति पुरिएको छ र तालको पानीमा प्रदुर्षणको मात्रा कति छ भन्ने अध्ययन भने अझैसम्म हुन सकेको छैन । यसका साथै यहाँ जलकुम्भीले ढाकेर पनि ताल पुरिनेक्रममा रहेको छ । यस तालको गहिराई ५० देखि ८० मिटरसम्म रहेको विभिन्न अध्ययनले देखाएका छन् । यहाँको आकर्षण तालको वीचमा रहेको तालबाराहीको मन्दिर हो ।
२.रुपा ताल
यो ताल पनि कास्की जिल्लामै रहेको छ । साबिकको लेखनाथ नगरपालिका वडा नं. १०, ११ र १४ एवं रुपाकोट गाविस वडा नं. ६ मा रहेको यसको क्षेत्रफल १६३.९ हेक्टर छ । जसमध्ये जलभाग १२१.७६ हेक्टर र खेती भएको भाग ३३.४३ हेक्टर तथा सीमसार क्षेत्र ८.७५ हेक्टर रहेको छ । यसको गहिराई ४.८ मिटरदेखि अधिकतम १० मिटरसम्म रहेको छ । दोहोरो डाँडाको बीचमा पर्ने तालको रुप विभिन्न समयमा परिवर्तन भइरहने भएकाले यस तालको नाम रुपा रहन गएको भनाइ छ । यो नगरको दोश्रो ठूलो र लोपोन्मुख अवस्थामा रहेको ताल हो । माछाको बृद्धिदर अत्यन्त उच्च रहेको यस तालमा स्थानीय समुदायहरुले आयआर्जनका विभिन्न कामहरु संचालन गरिरहेका छन् ।
३. बेगनास ताल
बेगनास ताल कास्की जिल्लाकै लेखनाथ अन्तर्गत पर्ने रमणीय ताल हो । यो ताल नेपालका ठूला ताल मध्येको एक हो । लेखनाथ नगरपालिकाको सबैभन्दा ठूलो तालको रुपमा रहेको यस तालको क्षेत्रफल ३.७३ वर्ग किमि (३७३ हेक्टर ) रहेको छ । यस तालले लेखनाथ नगरपालिकाको कुल क्षेत्रफलको ४.७५ प्रतिशत र सम्पूर्ण ताल क्षेत्रको ८१ प्रतिशत भाग ओगटेको छ । ७.५ देखि १०.६ मिटर गहिराई भएको यस तालमा बि.सं. २०४४ सालमा बाँध बाँधिएपछि २२० हेक्टरबाट बढेर ३७३ हेक्टर पुगेको हो । यसको कूल क्षेत्रफल १५३ हेक्टर बृद्धि भएको छ । यही बाँधबाट निकालिएको नहरले नगरपालिकाको खुदी फाँट र मालमूल फाँटमा सिंचाई सुबिधा हुँदै आएको छ ।
४.गोसाइँकुण्ड
गोसाइँकुण्ड रहेको स्थान रसुवा जिल्ला अन्तर्गत पर्दछ । यहाँको पानीको बहाव अन्तर्वाह ३५ लिटर प्रतिसेकेन्ड र बहिर्वाह ६० लिटर प्रतिसेकेण्ड रहेको छ । यसको सतहको क्षेत्रफल १३.८ हेक्टर मात्र भएपनि हिमालीभेगमा रहेको र धार्मिक गन्तव्यका कारण यसको चर्चा अन्य तालभन्दा कम छैन । यो ताल समुन्द्री सतहबाट ४ हजार ३८० मिटर उचाईमा रहेको छ । नीलो पानीको सरोवर यसका वरिपरि अरू १०८ वटा कुण्डहरु रहेका छन् । जसमध्ये पार्वतीकुण्ड पनि एक हो भने मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ । यहाँको प्राकृतिक बनावट र कुण्डहरूले नै यसलाई आकर्षक गन्तव्यस्थल बनाइदिएको छ । साथमा यात्रामा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि यहाँ जो कसैको मन तान्ने गर्दछ । गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको छ । यस ताललाई सन् २००७ सेप्टेम्बरमा रामसार क्षेत्रभित्र समावेश गरिएको छ । यहाँ हरेक वर्ष साउनमा जनैपूर्णिमाको दिन ठूलो मेला लाग्ने गरेको छ ।
५.रारा ताल
रारा ताल नेपालको कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित छ । यो नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुन्द्र सतहदेखि २ हजार ९७२ मिटर उचाईमा अवस्थित छ । जिल्ला सदरमुकाम गमगढीबाट पश्चिमतर्फ करिब ३ घण्टाको पैदल यात्रा गरेपछि रारा ताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटरसम्म छ । प्रकृतिको उपहारको रूपमा श्रृजित रारा ताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली, यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चराचुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
दिनभरिमा आफ्नो रुप फेरिरहने रारा ताल जेठदेखि आश्विन महिनासम्म विभिन्न फूलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ । रारा तालको अर्को एक थप विशेषता के छ भने यसमा विश्वमा अन्यत्र नपाइने असला (हिमाली) माछा पाइन्छ । रारा तालबाट करिब ३ घण्टाको पैदलयात्रा पश्चात यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । जहाँबाट रारा तालको मनमोहक दृष्यका साथै सैपाल हिमश्रृङ्खलाको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य पनि देखिन्छ । तत्कालिन राजा महेन्द्र शाहले २०२० सालमा यस क्षेत्रको भ्रमण गरेपछि पहिलेका दिनहरूमा रारादह भनेर चिनिँदै आएको यस तालको नाम महेन्द्र ताल राखेका थिए ।
६. शे–फोक्सुण्डो ताल
फोक्सुण्डो ताललाई शे–फोक्सुण्डो तालको नामले पनि चिनिन्छ । यो ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र अवस्थित हिमाली सफा पानीको ताल हो । फोक्सुण्डो ताल नेपालको सबभन्दा गहिरो र ठूलो ताल मध्येको एक हो । यो ताल समुन्द्री सतहभन्दा करिब ३ हजार ९०० मिटरको उचाइमा छ । यस तालको लम्बाई ४.८ किलोमिटर र चौडाई १.६ किलोमिटर छ । कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल अंग्रेजी अक्षर वाई आकारको छ । फोक्सुण्डो तालबाट सुलिगाँड झरना पनि निस्केको छ । फोक्सुण्डो तालको पानीको बहाव ३.७१ घनमिटर प्रतिसेकेन्ड रहेको छ । सन् २००४ मा नेपालको जल तथा मौसम विज्ञान विभागद्वारा गरिएको एक सर्वेक्षणमा यस तालको अधिकतम गहिराई १४५ मिटर (४७६ फिट) रहेको पाइएको थियो । सन् २००७ सेप्टेम्बरमा फोक्सुण्डो ताललाई रामसार क्षेत्रमा सूचीकृत गरिएको हो । यस तालको दक्षिणी छेउमा रहेको रिंग्मो गाउँमा ३० हजार बर्ष पहिला गएको पहिरोको कारण यस तालको उत्पति भएको देखिन्छ ।
७. छो रोल्पा हिमताल
छो रोल्पा हिमताल दोलखा जिल्लाको साबिकको गौरीशंकर गाविस वडा नं. १ रोल्वालिङ उपत्यकामा रहेको छ । यसलाई नेपालकै सबैभन्दा ठूलो हिमताल मानिन्छ । समुन्द्र सतहबाट ४ हजार ५८० मिटरको उचाईमा रहेको यस तालको उत्पति ६० वर्षअघि मात्र भएको अनुमान गरिएको छ । सन् १९६३ मा यो हिमताल ०.२३ वर्ग किलोमिटर क्षेत्रफलमा रहेकोमा सन् १९९७ मा लिइएको भूउपग्रहीय नक्सा अनुसार १.६५ वर्ग किलोमिटरसम्म फैलिएको छ । न्युनतम १३५ मिटर गहिरो उक्त हिमतालमा १० करोड घनमिटर पानी रहेको अनुमान छ । १५४ हेक्टर क्षेत्रफलमा फैलिएको यस ताल गौरीशंकर संरक्षित क्षेत्र अन्तर्गत पर्दछ । यस तालको लम्बाई ३.४५ किलोमिटर छ । बेलाबेलामा ताल फुट्न सक्ने हल्लाले कुनै समय यो निकै चर्चाको विषय बनेको थियो ।
८.तिलिचो ताल
तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरू मध्येको एक हो । हिमालय पर्वत श्रृंखला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपूर्ण क्षेत्रभित्र पर्ने यो ताल समुन्द्र सतहदेखि ४ हजार ९१९ मिटर उचाईमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाई १.२ किलोमिटर र गहिराई ८५ मिटरदेखि २०० मिटरसम्म रहेको छ । यस ताल वरिपरी तिलिचो, निलगिरी तथा मुक्तिनाथ हिमाल रहेका छन् । नेपालको सबैभन्दा अग्लो ठाउँमा रहेको यो ताल विश्वको सबैभन्दा उचाईमा रहेका दक्षिण अमेरिकाको पेरु तथा बोलिभियाको सीमानामा रहेको टिटीकाका तालभन्दा ११०७ मिटर अग्लो ठाउँमा रहेको छ ।
९ .घोडाघोडी ताल
घोडाघोडी ताल सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत पर्ने एक रमणीय ताल हो । यो स्थल कैलाली जिल्लाको वनबहेडा र सुखडको बीचमा पर्ने जंगलमा पर्दछ । पूर्वपश्चिम राजमार्गको छेउमै अवस्थित यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टिकोणबाट नेपालको एक प्रसिद्धस्थलको रूपमा लिइएको छ । यो तालको इतिहास थारू समुदायसँग गाँसिएको छ । स्थानीय किम्बदन्ती अनुसार यो ताल सातवटा थारू जातिको बसोबास रहेको गाउँ डुबेर बनेको मानिन्छ र यस तालको आकार मानिसको हात जस्तै छ ।
किम्बदन्ती अनुसार प्राचिनकालमा यो स्थानमा एउटा सुन्दर गाउँ थियो । तर पछि एक रातभर परेको पानीले उक्त स्थानलाई तालमा परिणत गरायो । त्यसपछि त्यहाँका राजाले पहिला भाले र केही समयपछि पोथी घोडालाई त्यसक्षेत्रको अनुगमन गर्न पठाएछन् । तर दुबै घोडाहरू गन्तव्यमा नपुगी मरेछन् । त्यसपछि ती राजाले उक्त स्थानमा कुनै दैवीशक्ति भएको बिचार गरी त्यस स्थानमा मन्दिर निर्माण गर्न लगाए । तिनै मृत घोडाघोडीको सम्झनामा त्यो मन्दिर र ताललाई घोडाघोडी भन्न थालियो ।
पूर्वपश्चिम राजमार्गमा पर्ने धनगढी बजारबाट करिब ५३ किलोमिटर पूर्वमा पर्ने यो ताल समुन्द्री सतहदेखि २०५ मिटर उचाइमा रहेको छ । करिब ४ मिटर औसत गहिराई भएको घोडाघोडी तालको क्षेत्रफल करिब १३८ हेक्टर छ । यो ताल १९ वटा औंला भएको हत्केला आकारको छ । यस आसपासमा रहेका अन्य १३ वटा ससाना तालहरूसमेत गरेर उक्त सीमसार क्षेत्रमा तालैतालले ओगटेको क्षेत्रफल मात्र दुई सय ४८ हेक्टर रहेको छ ।
१०. इन्द्रसरोबर (कुलेखानी)
माथि उल्लेखित अन्य तालहरु प्राकृतिक तालहरु हुन् तर कुलेखानीमा रहेको इन्द्रसरोवर भने नेपालको मानव निर्मित सबैभन्दा ठूलो ताल हो । यस तालबाट विजुली निकालिएको छ । यो मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकामा रहेको छ । काठमाडौंको कोलाहलबाट मुक्ति चाहानेका लागि सबैभन्दा उत्कृष्ट र सजिलो घुमफिरस्थल पनि बनेको छ कुलेखानी । यो देशकै एउटा फरक गन्तब्यस्थल हो । यो राजधानीबाट ५० किलोमिटर टाढा छ ।
मकवानपुरको उत्तरी क्षेत्रमा अवस्थित यो ताल जलविद्युत आयोजनाका लागि कुलेखानीमा ड्याम थुनेर बनाइएको हो । चन्द्रागिरी पर्वतको काखमा अवस्थित यो तालमा पुग्दा जो कोहीलाई पनि स्वर्गको एउटा भागमा पुगे जस्तो अनुभव हुन्छ । तीन वटा जलविद्युत आयोजना यसैमा जम्मा भएको पानीबाट चल्छन् । यहाँबाट स्थानीयहरुले माछापालन गरेर पनि आफ्नो जीवन चलाउँदै आएका छन् ।
