ज्ञानमणि नेपाल कालोटोपी
मेरो जीवनको नक्सा मेरै हातमा छ भनेर अघि बढ्ने मानिस एक दिन सफलताको उच्च विन्दुमा पुग्छ । जीवनका हरेक उकालीओरालीहरुमा धेरै अवसरहरु हुन्छन्, चुनौतीहरु आउँछन् तर ती सबैलाई पार गर्दै अघि बढ्न सक्ने मानिस नै सफल हो ।
मेरो जीवनलाई परिवर्तन गर्न मैले नै लगनशीलता देखाउनुपर्छ भनेर अघि बढ्नुपर्छ । आफ्नो काममा पूर्णता पाउनका लागि लडिरहनुपर्छ । शुरुवातमा तपाईंलाई मानिसहरुले गिज्याउँछन्, खुट्टा तान्छन् । निराश बनाउँछन् तर त्यतिबेला तपाईं पूरै बहिरो जस्तै बन्नुपर्छ । हजारौं मानिसहरु आफूले केही गर्न नसकेपछि उनीहरुको उद्देश्य यो हुन्छ कि जसरी हुन्छ तपाईंलाई रोक्नु । तपाईं कसैको कुरा नसुनी अघि बढ्नुभयो भने त्यसपछि केहीले भन्छन् हामीलाई पहिल्यै थाहा थियो । केहीले भन्न सक्छन्, यस्ता त धेरै थिए । तर तपाईं कसैको पछि नलागी संवेदनशील बनेर आफूले थालेको काममा निर्विकल्प भएर अघि बढ्नैपर्छ ।
एकपटक कुनै समयमा सगरमाथामा कसरी पुग्ने भनेर सयौं भ्यागुत्ताहरुबीच प्रतिश्पर्धा भएछ । ती मध्ये सबै भ्यागुत्ता असफल भएछन् तर एउटा भ्यागुत्तो चाहिँ गन्तव्यमा पुगेरै छोडेछ । त्यसपछि त्यहाँ आश्चर्य प्रकट गर्नेहरु धेरै आएछन् । एउटा भ्यागुत्तो मात्र कसरी पुग्यो ? यस विषयमा अनुसन्धान नै भएछ । पछि थाहा भयो, त्यो भ्यागुत्तो कान नै नसुन्ने रहेछ । यसको मतलब अरु भ्यागुत्तालाई मानिसहरुले त्यहाँ पुग्न सकिँदैन, गाह्रो छ, तिमीहरुको मृत्यु हुन्छ भनेर निरुत्साहित गरिदिए तर जुन भ्यागुत्तो काननै नसुन्ने थियो, उसले कसैको कुरा सुन्ने कुरै भएन र आफ्नो काममा निरन्तर लागिरह्यो । फलस्वरुप गन्तव्यमा पुग्यो । मानिस पनि सफल भएको भ्यागुत्तो जस्तै हुन कुनै पनि काममा निरन्तर सक्रिय भएर लाग्नुपर्छ ।
मानिसको जिन्दगीमा मूल्य पानीको होइन, प्यासको हुन्छ । मूल्य मृत्युको होइन, सासको हुन्छ, प्रेम त गर्छन् दुनियाँले तर मूल्य प्रेमको होइन, विश्वासको हुनुपर्छ । जहाँ विश्वास छ, त्यहाँ संसार नै अडिएको हुन्छ भनिन्छ । प्रेम उसैसँग मात्र गरिन्छ, जसले हाँसो पछाडीको पीडा बुझेको छ । रिस पछाडीको माया बुझेको छ, मौनता पछाडीको कारण बुझेको छ र हेराइको भाषा बुझेको छ ।
मानिसले नसक्दा मात्र हो बाउआमाको कमाइ खाने, बुझेपछि पनि बाउआमाको कमाइमा घमण्ड गर्छ भने त्यो मानिसको अस्तित्व हुँदैन । समाजमा त्यसकै मूल्य हुन्छ, जसले आफ्नो क्षमता प्रदर्शन गर्छ, आडम्बरले त कोही उच्च मानिस बन्न सक्दैन । संसारमा कोही व्यक्ति औषधी जस्तै हुन्छन्, उसको एक झलक, एक हेराइ, एक शब्द र एक बोलाइले पनि सारा पीडा भुलाइदिन्छन् । कोही मानिस यस्ता कलंक हुन्छन्, जो समाजका बोझ भएर पनि बाँचिरहेका हुन्छन् । हामीले यो कुरा कहिल्यै भुल्नु हुँदैन कि मानिस अनुहारले होइन, व्यवहारले चिनिन्छ । मान्छे सुन्दरताले होइन, इमान्दारिताले चिनिन्छ, मान्छे तागतले होइन, सहनशीलताले चिनिन्छ । मान्छेलाई धनले होइन, मनले जित्न सक्नुपर्छ ।
कुनै सन्दर्भमा ओशोले भन्नुभएको छ, ‘जीवन अभिनय गरे जस्तै गरी जिउनु र अभिनय जीवन जिए जस्तै गरी गर्नु !’ साँच्चै उहाँले भने जस्तै जीवन जीउने कला आफैंले बनाउने हो । कसैको आलोचना गरेर, कसैलाई गाली गरेर जीवन चल्दैन । वनका काँडालाई कसले तिखार्नु पर्छ र ? ती उम्रिदैदेखि तिखारिएका हुन्छन् । मानिसले पनि अरुको भर परेर होइन, आफैंलाई ऊर्जावान बनाएर अघि बढ्न सक्नुपर्छ । जीवन आफैं बदलिन्छ ।
हामी जे छौं त्यसरी नै जीउन सिक्नुपर्छ । कहिलेकाहिँ निकै पीडा हुन सक्छ, पीडामै रमाउन पनि सिक्नुपर्छ । किनकी पीडाको अनुभव पनि त गर्नुपर्छ नि होइन र ? कहिलेकाहिँ दिल खोलेर हाँस्न पाइयोस् । मनमा पीडा लुकाएर, अनि आँसुलाई आँखामा नदेखाउँदै मुटुमा गाँठो पारेर फिस्स हाँस्नुपर्ने अवस्था पनि नआओस् जीवनमा । समस्याहरु आउँछन् चाङ्ग लागेर, तीसँगै समाधान पनि आउँछन् । समस्या आयो भनेर रुँदै हिँडेर कहाँ समाधान हुन्छ र ? तपाईं रुँदा कायर भन्छ संसारले । हिम्मत नहारि अघि बढ्दा समस्याका समाधान मात्र भेटिदैनन्, सफलताका विन्दु पनि भेटिन्छन् । केही कुरामा सफलता पाउनका लागि सतहमा बसेर होइन, गहिराइमा पुगेर गन्तव्य भेटाउन सकिन्छ । संसारमा सफल भएका मानिसहरुले कहिल्यै नयाँ काम गरेका छैनन् तर नयाँ तरिकाले गरेका छन् । हामीले पनि नयाँ तरिकाले जीवन जिउनुपर्छ । जसका लागि कठोर कदमहरु चाल्न पनि पर्न सक्छ । तयार भएर अघि बढ्ने हो भने गन्तव्यको टुंगो लाग्छ । जसमा अनुशासनको पनि आवश्यकता पर्छ । अनुशासनबिनाको मानिस बेलगामको घोडा जस्तो हुन्छ । जो हरेक मोडमा पछारिन्छ ।
