बनेपा । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ८ मा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले बुधबार आफ्नो २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । यस अवसरमा प्रतिष्ठानले वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजनासहित विशेष कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष सूरकृष्ण वैद्यले बनेपा क्षेत्रमा गुणस्तरीय शिक्षाको अभिवृद्धिमा निजी शैक्षिक संस्थाहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै विद्यालयको निरन्तर प्रगतिको कामना गर्नुभयो । विद्यालयका अध्यक्षसमेत रहनुभएका वैद्यले विद्यार्थीहरूको शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्टता अभिवृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयका विद्यार्थीहरूले समाजसेवा, वातावरणीय संरक्षण, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आइरहेको तथा अभिभावकहरूसँग निरन्तर समन्वय गर्दै शैक्षिक सुधार गर्दै जाने विद्यालयको प्रतिबद्धता रहेको उहाँको भनाइ थियो ।
प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले शिक्षाले समाजमा परिवर्तनकारी भूमिका खेल्ने चर्चा गर्दै व्यवहारिक तथा जीवनोपयोगी शिक्षालाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । वैद्यले यस शैक्षिक सत्रमा ३५ लाखभन्दा बढीको छात्रवृत्ति वितरण गरिएको जानकारी दिँदै प्रत्येक विद्यार्थीलाई शिक्षाको अवसर प्रदान गर्ने संस्थाको लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रमका क्रममा सहायक प्रिन्सिपल नवराज दाहालले विद्यालयले गत वर्षभरि हासिल गरेका उल्लेखनीय उपलब्धिहरू सार्वजनिक गर्दै सबैको सहयोगले ज्ञानकुञ्ज यहाँसम्म आइपुगेको चर्चा गर्नुभयो । उहाँले आगामी दिनमा पनि सबैको उत्तिकै सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा विभिन्न तहका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।
विगत २३ वर्षमा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान गर्दै नवीनतम शिक्षण प्रविधिहरूलाई आत्मसात गरेको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विविध सुधार कार्यक्रमहरू सञ्चालन गर्दै आएको विद्यालयले विद्यार्थीहरूको समग्र विकासका लागि खेलकुद, सृजनात्मक लेखन, कला, विज्ञान प्रदर्शनी तथा अतिरिक्त क्रियाकलापहरूमा विशेष ध्यान केन्द्रित गर्दै आइरहेको छ ।
बुधबारको कार्यक्रममा बनेपा नगरपालिका वडा नं ८ का वडाध्यक्ष शुभलक्ष्मी मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, काभ्रे जिल्ला प्याब्सनका अध्यक्ष श्यामबहादुर भुजेल, विद्यालयका संचालक आत्मराम थापा, विद्या सागर स्कुलका अध्यक्ष हिराशर्मा नेपाल, प्याबसनका केन्द्रीय उपमहासचिव भीमसेन केसी, काभ्रे क्याम्पसका प्रमुख केजी बैदारलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो ।
