काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आइरहेका छन् । विभिन्न जिल्लाका धेरैजसो निर्वाचन क्षेत्रमा मतगणना सुरु भई धमाधम प्रारम्भिक परिणाम आउन थालेका हुन् । मतगणना जारी रहेका स्थान मध्ये रास्वपाको पक्षमा उल्लेख्य जनलहर देखिएको छ ।
जसमा रास्वपा ६५ स्थानमा अग्रता रहँदा ५६ स्थानमा विजयी भइसकेको छ । कांग्रेस ९ स्थानमा अघि छ भने ९ स्थानमा जीत हात पारेको छ । यस्तै एमाले ९ स्थानमा अघि र ३ स्थानमा जीत हात पारेको छ ।
नेकपाले ६ स्थानमा अघि र एक स्थानमा जीत हात पारेको छ । श्रम संस्कृति पार्टी ३ स्थानमा अघि देखिएको छ । यसैगरि स्वतन्त्र उम्मेदवार महाविर पुनले जित हासिल गरेका छन् । त्यस्तै राप्रपा पार्टी १ स्थानमा जित हात पारेको छ भने एक स्वतन्त्र उम्मेदवारले जीत हात पारेका छन् । उता समानुपातिकमा पनि रास्वपा नै अघि देखिएको छ । यो समाचार तयार पार्दासम्म ४ लाख ७८ हजार ८३४ मतगणना भइसकेको छ । जसमा रास्वपाले २ लाख ५६ हजार ६८०, नेपाली कांग्रेसले ७९ हजार ४२०, एमालेले ६३ हजार ३, नेकपाले २४ हजार ३८६, राप्रपाले २० हजार १३५, श्रम संस्कृती पार्टीले १० हजार ४१६ र राष्ट्रिय परिवर्तन पार्टीले ६ हजार ५१२ मत पाएका छन् ।
काभ्रे–२ मा रास्वपाका बदन भण्डारी फराकिलो मतान्तरले विजयी
काभ्रे क्षेत्र नम्बर २ को अन्तिम नतिजा आएको छ । जसमा रास्वपाका बदन भण्डारी अत्याधिक मतका साथ विजयी भएका छन् । उनले ५३ हजार ३४४ मत ल्याउँदा नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार ८६८ मत ल्याएका छन् ।
यहाँ एमालेका अशोक व्याञ्जुले १३ हजार ९४०, नेकपाका वसुन्धरा हुमागाईँले ८ हजार १०७ मत ल्याए भने उज्यालो नेपालकी ज्योत्सना सैँजुले ३ हजार ७४९ मत ल्याएकी छिन् । राप्रपाका रंजिब श्रेष्ठले १ हजार १२५ मत ल्याएका छन् ।
यस्तै क्षेत्र नम्बर १ मत गणना हुँदा यो समाचार तयार पार्दासम्म नेकपाका दिनानाथ गौतमले अग्रस्थान लिएका छन् । उनले ११ हजार ८१० मत ल्याउँदा कांग्रेसका गुणराज मुक्तानले १० हजार ६६५, एमालेका अमित लामाले ७ हजार ७७५ र रास्वपाका मधु चौँलागाईँले ७ हजार ६०६ मत पाएका छन् । बिहीबार भएको मतदानमा काभ्रेमा १ लाख ९७ हजार ३४१ मत खसेको थियो । जम्मा ३ लाख २६ हजार ६११ मतदाता रहेको जिल्लाको क्षेत्र नम्बर १ मा १ लाख ६१ हजार १०० मतदाता रहेका थिए । यस क्षेत्रमा ९१ हजार १२८ मत खसेको थियो । यस्तै क्षेत्र नम्बर २ मा कूल १ लाख ६५ हजार ५११ मतदाता रहेका थिए । यहाँ १ लाख ६ हजार २१३ मत खसेको थियो ।
काठमाडौँका १० वटै क्षेत्रमा रास्वपाको जीत
काठमाडौँका १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्वीप गरेको छ । ०७९ मा काठमाडौँका १० क्षेत्रमध्ये ४ क्षेत्रमा जितेको रास्वपाले अहिले ती क्षेत्रमा जीत दोहो¥याउँदै थप ६ क्षेत्रमा जितेर क्लिन स्वीप गर्न सफल भएको हो ।
रास्वपाबाट उम्मेदवार बनेर काठमाडौँ–१ मा रञ्जु दर्शना (न्यौपाने), काठमाडौँ–२ मा सुनिल केसी, काठमाडौँ–३ मा राजुनाथ पाण्डे, काठमाडौँ–४ मा पुकार बम, काठमाडौँ–५ मा सस्मित पोखरेल, काठमाडौँ–६ मा शिशिर खनाल, काठमाडौँ–७ मा गणेश पराजुली, काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौँ–९ मा डोलप्रसाद अर्याल र काठमाडौँ–१० मा प्रदिप विष्ट निर्वाचित भए ।
काठमाडौँ–१ मा दर्शनाले १५ हजार ४५५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत ल्याए ।
काठमाडौँ–२ मा केसीले ३४ हजार २३८ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कबिर शर्माले ८ हजार ८७४ मत ल्याए ।
काठमाडौँ–३ मा पाण्डेले १८ हजार ७५७ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत ल्याए ।
काठमाडौँ–४ मा बमले २९ हजार २४२ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार सचिन तिमल्सेनाले ८ हजार ८२४ मत ल्याए ।
काठमाडौँ–५ मा पोखरेलले ३० हजार ७३७ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार प्रदीप पौडेलले ९ हजार १५९ मत ल्याए ।
काठमाडौँ–६ मा खनालले २७ हजार ७१९ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत ल्याए ।
काठमाडौँ–७ मा पराजुलीले २७ हजार ८०५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रमोदहरि गुरागाईले ३ हजार ९८२ मत ल्याए ।
काठमाडौँ–८ मा श्रेष्ठले २४ हजार ५९२ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत ल्याए ।
काठमाडौँ–९ मा अर्यालले ३५ हजार ९३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नानुमैया बास्तोलाले ५ हजार ४६० मत ल्याइन् ।
काठमाडौँ–१० मा विष्टले ३७ हजार ४६९ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार हिमाल कार्कीले ८ हजार १०० मत ल्याए ।
०७९ मा रास्वपाबाट उम्मेदवार बनेर काठमाडौँ–२ मा सोविता गौतम, काठमाडौँ–६ मा शिशिर खनाल, काठमाडौँ–७ मा गणेश पराजुली र काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका थिए । तीन क्षेत्रमा पुरानै अनुहार दोहोरिएका छन् भने काठमाडौँ–२ मा ०७९ मा जितेकी सोविता गौतम अहिले चितवन–३ मा उम्मेदवार बनेकी छन् ।

मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत एउटा मात्र क्षेत्र रहेको मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् ।
थकाली ३ हजार ३०७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले १ हजार ५ सय १ अन्तरले जीत निकालेका हुन् । गौचनका निकटतम प्रतिश्पर्धी एमालेका इन्द्र धारा विष्टले १ हजार ८ सय ६ मत पाए ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकाली ७ सय ५९ मत पाएका छन् ।
मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी
मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार गुरुङले २ हजार ४१४ मत पाएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत पाइन् ।
नेकपाका संयोजक प्रचण्ड विजयी
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्ड प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । शुक्रबार सम्पन्न अन्तिम मतपरिणाम अनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् । यस्तै एमालेका लिलामणि गौतम ३ हजार ४६२ तथा कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
चितवन–२ बाट रास्वपा सभापति लामिछाने भारी मतान्तरसहित विजयी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मीना खरेलले १४ हजार ५६४ मत पाएकी छिन् । यस्तै, एमालेका अस्मिन घिमिरेले ६ हजार ९३२ मत ल्याएका छन् । लामिछानेले २०८० सालमा भएको उपनिर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गरेका थिए । यस्तै सो समयमा नेपाली कांग्रेसका उम्मेदवारले ११ हजार २१४ मत र एमालेका उम्मेदवारले १० हजार ९३६ मत प्राप्त गरेका थिए ।
ललितपुर–१ मा कांग्रेसका शमशेरलाई पाखा लगाउँदै रास्वपाका बुद्धरत्न विजयी
ललितपुर क्षेत्र नं १ को अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बुद्धरत्न महर्जनले आफ्ना निकटतम प्रतिद्वन्द्वी तथा नेपाली कांग्रेसका चर्चित नेता उदयशमशेर जबरालाई ९ हजार ८५३ मतको फराकिलो अन्तरले पराजित गरेका छन् । महर्जनले २३ हजार ३७३ मत प्राप्त गरे भने नेपाली कांग्रेसका राणाले १३ हजार ५२० मतमा चित्त बुझाउनु प¥यो । त्यस्तै, नेकपा एमालेका उम्मेदवार चेतनाथ संजेलले ६ हजार ५४६ मतका साथ तेस्रो स्थानमा सीमित भएका छन् ।
भक्तपुर २ मा रास्वपाका राजीव खत्री निर्वाचित
भक्तपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री निर्वाचित भएका छन् । खत्रीले ३४ हजार ७०२ मत प्राप्त गर्दै जीत हासिल गरे । यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) का उम्मेदवार महेश बस्नेतले ८ हजार ३५१ मत प्राप्त गरे । नेपाली कांग्रेसका कविर राणाले ७ हजार ३२१ मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीका रमेश वैद्यले २ हजार ९४१ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका रामप्रसाद सापकोटाले १ हजार ११४ मत पाएका छन् ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजनीतिबाट बिदा लिए
लगातार तीन पटक हार बेहोरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूले राजनीतिबाट बिदा लिएको बताएका छन् । काठमाडौँ क्षेत्र नं–१ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि उनले सामाजिक सञ्जालमार्फत तत्कालका लागि राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् । उनले भनेका छन् ।
प्रेस विज्ञप्तिः
दलीय राजनीतिबाट तत्कालका लागि बिदा
मैले आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हताश या हतारमा लिँदै छैन । धेरै सोचि–विचारी लिँदैछु । देशभरि राजसंस्था पुनस्र्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको छ, जसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले म पनि जिम्मेवार छु ।
विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा म विश्वस्त छु । सो परिप्रेक्ष्यमा मैले निम्न दुई निर्णय लिएको छुः
१) आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको छु ।
२) राजसंस्था पुनस्र्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा मेरा अडान यथावत रहनेछन् र तत्कालका लागि गैरदलीय (स्वतन्त्र) रूपमा म मेरा विचार र अडानहरू मुखरित गरिरहनेछु ।
गत ९ वर्षको अभूतपूर्वरूपमा उतार–चढावपूर्ण मेरो राजनीतिक यात्राका क्रममा मैले मेरो विवेक र बुद्धिले भ्याएसम्म इमानदारीपूर्वक राजनीतिक र राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेँ । त्यो प्रयास अझै पर्याप्त देखिएको छैन । तर ‘देशभन्दा माथि स्वार्थ’लाई राखेर ‘व्यक्तिले पाउने, देशले नपाउने’ कुनै पनि काम कुनै हालतमा गर्ने छैन । यी यावत वर्षहरूमा यो कठिन यात्रामा साथ र सहयोग गर्नुहुने देश–विदेशमा रहेका नेपाली तथा पार्टीका नेता तथा साथीहरूप्रति जति आभार प्रकट गरे पनि त्यो अपर्याप्त हुन्छ । निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई वधाई तथा शुभकामना दिन चाहन्छु । ‘प्रचण्डपथ’मा पट्टी लगाएको घोडा सरह एकोहोरीएर दौडिरहेको नेपाली राजनीति तातो तावाबाट भुङ्ग्रोमा नजाओस् –– त्यत्ति कामना गर्दछु ।
तपाईंहरू सबैको जय होस्, पृथ्वीपथको जय होस्, नेपालको जय होस्! धेरै–धेरै धन्यवाद !
रवीन्द्र मिश्र
