धुलिखेल । काभ्रे जिल्लामा यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीहरुको सङ्ख्या ६ हजार २०८ रहेको छ । जसमा प्राविधिक धारतर्फ २०१ र ग्रेडबृद्धि संख्या २८० रहेका छन् ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय काभ्रेले यसको जानकारी दिएको हो । आउँदो चैत १९ गतेदेखि हुने एसईई परीक्षाका लागि जिल्लामा ३३ वटा परीक्षा केन्द्र तोकिएको छ ।
जिल्लाका कूल २१९ विद्यालयका विद्यार्थीले यस वर्षको एसईई परीक्षामा सहभागिता जनाउँदैछन् । गत वर्ष जिल्लाका सामुदायिक र संस्थागत गरी २ सय १६ वटा विद्यालयका ६ हजार ३ सय ९१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। गत वर्षभन्दा यस वर्ष १८३ विद्यार्थी घटेका छन् ।
सबैभन्दा धेरै सञ्जीवनी मावि धुलिखेल केन्द्रबाट ३११ जना र हिमालय मावि केन्द्र बनेपाबाट ३१० जनाले परीक्षा दिँदैछन् । सबैभन्दा कम जनविकास मावि केन्द्र तालढंगा खानीखोलाबाट ८१ विद्यार्थीले परीक्षा दिने भएका कार्यालयले जनाएको छ ।
पछिल्ला केही वर्षयता जिल्लाका सामुदायिक विद्यालयहरुमा विद्यार्थी सङ्ख्या घट्नुका साथै एसईईमा सहभागी हुने विद्यार्थीको सङ्ख्यासमेत कम हुँदै गएको छ ।
