धुलिखेल । नागरिक लगानी कोष र काठमाडौँ विश्वविद्यालयबीच विश्वविद्यालयका स्थायी शिक्षक तथा कर्मचारीहरुको उपदान कोषको व्यवस्था तथा सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुको उपदान कोषमा जम्मा हुने रकमको व्यवस्थापन, अभिलेख राख्ने, व्यक्तिगत खाता अद्यावधिक गर्ने तथा कोषमा जम्मा भएको रकममा ब्याज तथा प्रतिफल उपलब्ध गराउने जिम्मेवारी नागरिक लगानी कोषले वहन गर्नेछ । साथै, सेवानिवृत्त शिक्षक तथा कर्मचारीहरुलाई विश्वविद्यालयको सिफारिसका आधारमा उपदान रकम भुक्तानी गर्ने व्यवस्थासमेत गरिएको छ ।

त्यसैगरी, काठमाडौं विश्वविद्यालयले आफ्ना स्थायी शिक्षक तथा कर्मचारीहरुको विवरण उपलब्ध गराउने, नियमितरूपमा कोष कट्टी गरी नागरिक लगानी कोषमा जम्मा गर्ने तथा सेवानिवृत्त कर्मचारीहरुको उपदान भुक्तानीका लागि आवश्यक सिफारिस गर्ने जिम्मेवारी रहनेछ ।

सम्झौता पत्रमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. राजिव श्रेष्ठले हस्ताक्षर गरेका छन् । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्ले रोहवर रहेका थिए ।

सम्झौताले विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुको उपदान कोष व्यवस्थापनलाई अझ व्यवस्थित, पारदर्शी तथा प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *