बनेपा । बनेपा नगरपालिकाले आफ्नो स्थापनाको ४५ औं दिवस मनाएको छ । शनिबार बनेपामा आयोजित एक कार्यक्रममा नगरपालिकाको स्थापना दिवस सम्पन्न भएको हो । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछानेले उपस्थितहरुलाई स्वागत गर्नुभएको थियो।
नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका विभिन्न तहमा कार्यरत, सेवा निवृत्त कर्मचारी र उत्कृष्ट विद्यालयहरू तथा विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बादेले नगरपालिकाको विगत स्मरण गर्दै नागरिकले सोचे जस्तो काम हुन नसकेपनि कामै नभएको भन्न नहुने बताउनुभयो । उहाँले वागमती प्रदेश सरकारले सामाजिक विकासका लागि बनेपा नगरपालिकासँगका हरेक काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै विशेष अतिथि जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले देश किन बनेन चिन्तन गर्दा सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्दै नगरको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा नगर प्रमुख शाक्यले बनेपामा भएका कामहरुको बारेमा जानकारी दिनुहुँदै सिमित बजेटका कारण धेरै काम गर्न नसकिएको बताउनुभयो। उहाँले जेनजी आन्दोलनका नाममा नगरपालिकाको करिव ८ करोड क्षति भएको बताउनुभयो।
नगरपालिका उपप्रमुख बिमला सापकोटाले आफूले सकेको काम गर्दागर्दै पनि कामै नगरेको जसरी बाहिर चर्चा हुने गरेकोमा गुनासो गर्नुभयो । सबैको सहयोगले काम गर्न सकिने बताउँदै उहाँले कसैको काम गरेबापत कहिल्यै पनि केही नलिएको र यस्ता कुरामा विश्वास नगर्न आग्रह गर्नुभयो।
