ज्ञानमणि नेपाल कालोटोपी
धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । तथ्यांक अनुसार जिल्लामा यस वर्ष १९ जनाले आमाको नामबाट नागरिकता लिएका छन् । चैतमा मात्र ३ जनाले यस्तो नागरिकता लिएका कार्यालयले जनाएको छ । यसैगरि नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपी बनाउनेको संख्या यसवर्ष पनि बढी देखिएको छ । गतवर्ष पनि यो संख्या उच्च नै थियो ।

कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ५ हजार ६७० नयाँ नागरिकता जारी गरिएको छ । जसमा साउन महिनामा ८४४ नागरिकता जारी भएका छन् । भदौमा ५३८, असोजमा ४६२, कात्तिकमा ६८६, मंसिरमा ९२९ र पुसमा ४२८ वटा, माघमा ८६४ वटा, फागुनमा ४०१ र चैतमा ५१८ वटा नागरिकता जारी भएको छ ।

यही अवधिमा नागरिकताको प्रतिलिपी लिनेको संख्या ८ हजार ४५ छ । साउनमा १ हजार १७४, भदौमा १ हजार ४२, असोजमा ५४४, कात्तिकमा ८५६, मंसिरमा ९३६, पुसमा ९७२ वटा, माघमा ९७९, फागुनमा ६४१ वटा र चैतमा ९०१ नागरिकताका प्रतिलिपी जारी भएका छन् ।

पुरानो हस्तलिखित नागरिकता खुइलिने र बिग्रने गरेका र सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यसका लागि आउनेहरु बढ्दै गएका कारण कतिपय पुरानो नागरिकतामा त्रुटीहरु फेला परेका छन् । जसले गर्दा पछिल्ला केही महिनायता नागरिकताको प्रतिलिपी लिनेहरु बढेको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । पहिले गाउँमा टोली गएर बनाएका नागरिकतामा कतै उमेर, कतै थर र कतै नामै गल्तीहरु पाइएका छन् । यी गल्तीहरु सुधार गर्नुपर्दा प्रतिलिपी लिनेहरुको संख्या बढेको हो ।

गत साउनदेखि मंसिरसम्मको अवधिमा नागरिकता परित्याग गर्नेको संख्या ३५ रहेको छ भने सोही अवधिमा गैरआवासीय नागरिकता २८ वटा जारी भएको छ । ६ वटा नागरिकता रद्द र पाँच वटा अंगिकृत नागरिकता जारी गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
चालु आर्थिक वर्षको चैतसम्ममा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिनेको संख्या २१ हजार ८०६ रहेको छ । साउन महिनामा मात्र यो संख्या ३ हजार ४५३ रहेको थियो । भदौमा २ हजार ८९७, असोजमा १ हजार ९६२ जनाले आवेदन दिएका थिए भने कात्तिकमा २ हजार २९२ जनाले आवेदन दिएका छन् । मंसिरमा २ हजार ७८९ जना, पुसमा २ हजार २४८, माघमा २ हजार ५८३, फागुनमा १ हजार ४५९ जना र चैतमा २ हजार १२३ जनाले आवेदन दिएका थिए । यही अवधिमा ५ हजार ५४९ वटा कार्ड वितरण भएका छन् । दलित र जनजाती परिचयपत्र ३१५ वटा जारी भएका छन् ।

यस्तै ९ हजार ९०६ वटा राहदानीको आवेदन दर्ता भएको प्रशासनमा ९ हजार ७४९ कार्ड वितरण भएको छ । ६ महिनामा नाबालक परिचयपत्र ४७० वटा जारी भएको प्रशासन कार्यालयले जनाएको छ । यसैगरि ८४ वटा मुद्दा दर्ता भएका छन् भने ५९ वटा फस्र्याैट भएका छन् । यस्तै ठाडो उजुरी १३३ वटा दर्ता हुँदा १२३ वटा फस्र्याैट भएका छन् । कार्यालयमा यसवर्ष १७ वटा नयाँ संघसंस्था दर्ता भएका छन्, १६८ वटा नवीकरण भएका छन् भने ५ वटा हातहतियार नवीकरण भएका छन् ।

यसैगरि कार्यालयबाट कारागार निरिक्षण चार पटक, सरकारी कार्यालय अनुगमन २८ पटक, प्रहरीलगायत सुरक्षा निकायको अनुगमन ३३ पटक, विकास आयोजना अनुगमन १८ पटक र संघसंस्था अनुगमन ४५ पटक गरिएको कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

यसबीचमा जिल्ला सुरक्षा समितिको बैठक ५० पटक बसेको छ भने जिल्ला विपद् व्यवस्थापनसँग सम्बन्धित बैठक ६ पटक बसेको छ । कार्यालयले शहीद परिवार, द्वन्द्व पीडित परिवार र वैदेशिक रोजगार पीडित परिवारलाई ७१ लाख ९० हजार ८३ रुपैयाँ राहत वितरण गरेको छ । विपदमा परेकाहरुका लागि अहिलेसम्म कुनै पनि राहत वितरण गरिएको छैन ।

यो समय अवधिमा कार्यालयले कूल ५ करोड २२ लाख २१ हजार १८९ रुपैंयाँ राजश्व संकलन गरेको छ । चालु खर्च २ करोड ३० लाख ४७ हजार ४८, पूँजीगत खर्च १० लाख ७४ हजार ११६ र विविध खर्च ४ करोड ५८ लाख ३४ हजार ३५१ रुपैयाँ भएको छ । धरौटी विवरणबाट आम्दानी ३ करोड ४६ लाख ७ हजार २३३ प्राप्त भएको छ । धरौटी फिर्ताबापत २३ लाख ८ हजार ८८७ दिइएको छ । विशिष्ठ व्यक्तिको भ्रमण २९२ पटक भएको छ ।

यसैगरि जिल्लाभर ५०७ वटा आपराधिक घटना भएका छन् । यस्ता घटनामा संलग्न ४६४ जना पक्राउ परेका छन् । जसमा ३ जनाको हत्या हुँदा ५८ वटा आत्महत्याका घटना भएका छन् भने प्राकृतिक प्रकोपका घटना १६ वटा भएका छन् । जसमा १० जनाको मृत्यु भएको र ७ जना घाइते भएको कार्यालयले उल्लेख गरेको छ । सवारी दुर्घटनामा १३ जनाको मृत्यु र २०३ जना घाइते भएका छन् ।

यसैगरि २२३ वटा पसल र फर्मको अनुमगन भएको र ६ वटालाई जरिवाना र कारबाही गरिएको छ । जरिवानाबापत ४१ हजार संकलन भएको छ । ४४ वटा फर्म र पसलबाट सामान जफत गरिएको र जसको मूल्य २ लाख २४ हजार ४३७ रहेको पनि कार्यालयले जनाएको छ । यस अवधिमा कार्यालयले ७ वटा ड्रोन उडान अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहलाई थप व्यवस्थित गर्न गत जेठ २७ गतेबाट डिजिटल टोकन प्रणाली शुरु गरेको छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटो र सहज बनाउन प्रयास गरिने बताउनुभएको छ । उहाँले शान्ति सुरक्षा र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो । आफू काभ्रेमा आएको पाँच महिना मात्रै भएको अवस्थामा पनि धेरै विषयहरुमा सुधार गरिएको उहाँको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *