महाभारत । गाउँमा धेरै समस्याहरु हुन्छन् तर तिनीहरुलाई समाधान गर्ने निकाय निकै कम । यसै सेरोफेरोमा महाभारत गाउँपालिका वडा नम्बर ५ का सक्रिय युवाहरुले युवा क्लब खोल्ने योजना बनाए । यसैको परिणामस्वरुप यहाँ चौढिक युथ क्लब स्थापना भएको छ ।
गाउँमा सामाजिक काम गर्ने र कसैलाई केही समस्या पर्यो भने सहयोग गर्ने उद्देश्यले यो क्लब खोल्नुपरेको संस्थाका सल्लाहकार टेकबहादुर तुम्सिङ मगरले बताउनुभयो ।

२०८२ सालको विजया दशमीका दिन स्थापना भएको यो क्लबले गत दीपावलीमा वडास्तरीय भलिबल प्रतियोगितासमेत आयोजना गरेको थियो । संस्थाका अध्यक्ष बेनबहादुर तुम्सिङ्ग मगर हुनुहुन्छ । विशेषगरि गाउँमा भएका खेलाडीहरुको खेलसँगको प्रेम देखेर त्यसलाई अझ राम्रो बनाउने हेतुले क्लब खोलिएको उहाँले बताउनुभयो ।

करिब ४०/५० जना सदस्यको सहभागितामा स्थापना भएको क्लबलाई अहिलेसम्म खासै कसैले पनि सहयोग गरेका छैनन् । उनीहरुले आफ्नै रकमले संस्थालाई चिनाउने र अगाडी बढाउने काम गरिरहेका छन् । क्लबका अध्यक्ष मगरका अनुसार संस्थाले आगामी नयाँ वर्ष ०८३ को पहिलो दिन धुलिखेलको हजार सिँढीमा पिकनिक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमले गाउँघरका आफन्त, साथीभाइ तथा विभिन्न पेशा, व्यवसाय र अध्ययनका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका चौढिकवासीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्य राखेको छ ।

यसपटकको कार्यक्रममा महाभारत क्षेत्रका बासिन्दा, काभ्रेली समुदाय तथा अन्य इच्छुक सहभागीलाई समेत उपस्थितिका लागि निमन्त्रणा गरिएको थियो । कार्यक्रममा नाचगान, शुभकामना आदानप्रदान, विभिन्न नेपाली स्वादका परिकार, साथै हाँडी फुटाउने, म्युजिकल चेयर जस्ता मौलिक खेलहरू सञ्चालन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *