बनेपा । मोडेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा तथा स्थापना दिवस कार्यक्रम मंगलबार बनेपामा सम्पन्न भएको छ । साधारण सभामा संस्थाका अध्यक्ष ओमकृष्ण प्रधानले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी सचिव रामशरण बजगाईंले संस्थाको वार्षिक प्रगति तथा गतिविधिसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष गोविन्द दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखा समिति संयोजक कृष्ण सापकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक सदस्य मथुरा बाँस्कोटा मैनालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । लेखापरीक्षक राजमणि पोखरेलले संस्थाको वित्तीय अवस्था, पारदर्शिता तथा आगामी दिनमा सहकारीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।

संस्थाले साधारण सभाको अवसरमा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने सदस्य तथा कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । उत्कृष्ट दैनिक बचतकर्ताकाे रूपमा राजकमल शाक्य, उत्कृष्ट कर्मचारी तथा कार्यालय सहयोगीका रूपमा सुमित्रा थापामगर, बाल बचततर्फ संकल्प तिमल्सिना, नियमित बचतकर्तातर्फ रमलादेवी गिरी तथा उत्कृष्ट ऋणीका रूपमा अश्मिता गोले र ज्ञानु श्रेष्ठलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका सञ्चालक सदस्य लक्ष्मी श्रेष्ठले आफ्नो अल ब्युटी पार्लरको तर्फबाट १० जना शेयर सदस्यका लागि कस्मेटिक सामग्री उपहारको व्यवस्था गर्नुभएको थियो । साथै संस्थाको तर्फबाट ४ थान इलेक्ट्रिक जग, २ थान भित्ते घडी तथा ५०० रुपैयाँका मोबाइल रिचार्ज कार्डसमेत उपलब्ध गराइएको थियो । उक्त सामग्री तथा उपहारहरू शेयर सदस्यलाई गोलाप्रथामार्फत वितरण गरिएको थियो ।

संस्थाको वार्षिक साधारण सभा तथा स्थापना दिवसका अवसरमा संस्थाका सदस्य, सञ्चालक समिति, लेखा समिति, कर्मचारी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो । साधारण सभाले संस्थाको विगतको प्रगतिको समीक्षा गर्दै आगामी दिनमा सदस्य केन्द्रित सेवा, वित्तीय अनुशासन, पारदर्शिता र सहकारीको संस्थागत विकासलाई थप प्रभावकारी बनाउने विषयमा समेत जोड दिएको छ ।

संस्थामा कुल शेयर सदस्य संख्या जम्मा २ हजार ९ सय ६८ जनामा शेयर पुँजी रु. २ करोड ९ लाख २५ हजार ३ सय, बचत रु.२५ करोड ९१ लाख ६४ हजार १ सय, ऋण लगानी रु. १८ करोड ६४ लाख ६० हजार ७ सय, आम्दानी रु.३ करोड ३ लाख ६६ हजार २ सय रहेको हिसाब विवरण प्रस्तुत बार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *