काभ्रे । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभीविरूद्धको खोप दिइने भएको छ । उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्याङ्क सङ्कलन कार्य सकिएकोे छ ।
जिल्ला स्वास्थ्य कार्यालयले जनाएअनुसार देशव्यापी खोप कार्यक्रम अन्तर्गत आउँदो माघ २२ गतेदेखि फागुन ६ सम्म एकैपटक सञ्चालन हुनेछ । कार्यालयले खोप कार्यक्रम सञ्चालनको तयारी अन्तिमचरणमा पुगेकोसमेत जनाएको छ । कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठ अनुसार काभ्रेपलाञ्चोकको दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका १५ हजार छ सय ८६ जना र विद्यालय बाहिर रहेका दुई सय ४९ गरी कूल १५ हजार नौ सय ३५ जना छात्रालाई उक्त खोप लगाउने तयारी गरिएको हो ।
कार्यालयको तथ्याङ्कअनुसार विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका दुई सय ४९ किशोरीलाई खोप लगाउने योजनाबारे छलफल भइरहेको श्रेष्ठले बताउनुभयो । विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ ।
नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठनबाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो । स्थानीयस्तरका विद्यालयमा नै खोपकेन्द्र सञ्चालन गरिनेछ भने अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइने जनाइएको छ । एक तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ ।
