काभ्रे । पाँचखाल नगरपालिकामा निर्माणाधिन पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
यससँगै आगामी माघ मसान्तभित्र यहाँका छ हजार परिवारका साढे ३१ हजार नागरिकले घरघरमा पानी पाउने भएका छन् ।
सो खानेपानी आयोजनाको भौतिकतर्फ करिब ९५ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ । गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको मर्मत एवं पुनर्निर्माण गरिएपछि हाल पाँचखाल–९ डाँडागाउँस्थित पानी प्रशोधन केन्द्रमा सुनकोशी नदीको पानी ल्याइएको छ । ३९ लाख लिटर पानी प्रशोधनको क्षमता रहेको केन्द्रसँगै रहेको ‘ओभरहेड ट्याङ्की’मा समेत पानी जम्मा गर्न थालिएको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए । उनका अनुसार उपभोक्ताका घरमा पानी पठाउने बेलासम्म पूर्ण क्षमतामा पानी ल्याइनेछ ।
गत असोज २३ गते पहिलो चरणमा खानेपानी दिलाउने योजना भए पनि बाढीपहिरोले समस्या भएपछि माघ अन्तिममा मात्र नागरिकले पानी पाउने भएका हुन् । बाढीपहिरोले आयोजनाको मुहान क्षेत्र डुबान परेको र करिब ७५ मिटर घेरा पर्खाल भत्काएर लेदो जमेको थियो । मुहानका मुख्यलगायत कलेक्सन ट्याङ्की तथा उक्त क्षेत्रमा जमेको लेदो सफाइ गरिएको र अन्य भौतिक क्षति मर्मत गरिएको छ । २० वर्षसम्म नगरको जनसङ्ख्या प्रक्षेपण गरी आयोजना डिजाइन गरिएको हो ।
आयोजना अन्तर्गत सुनकोशी नदी किनारमा छ वटा इनार, चार–चार लाख लिटर क्षमताको दुई वटा पानी सङ्कलन ट्याङ्की, तीन लाख लिटरको ब्याकवास ओभरहेड ट्याङ्की, १० नयाँ वितरण ट्याङ्की, छ वटा ब्रेक प्रेसर ट्याङ्की तथा १५ वटा पालेघर निर्माण सम्पन्न भएको छ । पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० विमीरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको छ । एक अर्ब ४७ करोड ४३ लाख ६० हजारको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिकाको वडा नं २, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ का छ हजार ३७ घरपरिवारका हाललाई ३१ हजार चार सय १५ नागरिक लाभान्वित हुनेछन् । कुल छ हजार ३७ धारामध्ये हालसम्म तीन हजार पाँच सय धारा जडान, उपभोक्ता समिति भवन र पानी प्रशोधन केन्द्रका सम्पूर्ण कार्य सम्पन्न भइसकेको छ ।
सहरी खानेपानी तथा सरसफाइ आयोजना, नगरविकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच ०७७ असार १५ गते ०७९ माघमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको आयोजनाको काम कोरोना सङ्क्रमण र मेलम्चीमा आएको बाढीका कारण लम्बिएको हो ।
