काभ्रे । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी गरेको छ ।
०७९ पुस २४ गतेदेखि अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगातीबाट साँगासम्म र काभ्रेपलाञ्चोकको साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा एकैसाथ आयोजनाले सडक विस्तारको कार्य सुरु गरेको थियो ।
भक्तपुर–धुलिखेल सडकको साँगामा निर्माण कार्य तीव्रगतिमा गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका नगरपालिकाका प्रमुखहरुले आयोजनासँग माग गरेका छन् । आयोजनाले भक्तपुर र काभ्रेपलाञ्चोकका नगरप्रमुखहरुसँग सडक निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्न प्रस्ताव राखेपछि नगरप्रमुखहरुले यो प्रस्तावलाई भने अस्वीकार गरेका छन् ।
राजमार्गको सडक दिउँसो अवरुद्ध गर्दा सर्वसाधारणलाई समस्या पर्ने भएकाले विकल्प खोज्नुपर्ने नगरप्रमुखहरुको भनाइ छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अरनिको राजमार्गको विस्तारका क्रममा दिउँसो यातायात अवरुद्ध गर्नु उचित नहुने बताउनुभयो । निर्माण कार्य रात्रिकालीन समयमा गर्नु उपयुक्त हुने भन्दै उहाँले सडक निर्माणका क्रममा वैकल्पिक सडकबारे स्थलगत अध्ययन गर्नुपर्ने र राजमार्ग वरपरका टहरा विना क्षतिपूर्ति भत्काउने कार्य गर्नुअघि छलफल गर्नुपर्ने बताउनुभयो ।
आयोजनासँग भएको छलफलमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आयोजनाको काम सुस्त गतिमा भइरहेकामा असन्तुष्टि व्यक्त गर्दै सूर्यविनायक–धुलिखेल राष्ट्रिय गौरवको योजना भएकाले समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । जनतालाई समस्या नपर्ने गरी स्थलगत अवलोकन गरेर मात्र आंशिकरुपमा बाटो बन्द गर्नुपर्ने उहाँको भनाइ थियो ।
धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुले सडक निर्माणको काम गर्ने निर्माण व्यवसायीले जनतालाई समस्या नपर्ने गरी गर्नुपर्ने बताउनुभयो । उहाँले सडक मर्मत र वैकल्पिक बाटोको समेत आवश्यक व्यवस्था पनि निर्माण व्यवसायी वा सडक विभागले नै गर्नुपर्नेमा जोड दिनुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले रात्रिकालीन समयमा सडक निर्माणको काम गर्ने गरी तयारी गर्नुपर्नेमा जोड दिनुुभयो । सूर्यविनायक धुलिखेल सडक ७.५ किमीको विस्तारका लागि कुल तीन अर्ब ८८ करोडमा ठेक्का सम्झौता भएर काम सुरु गरिएको थियो ।
सम्पदा संरक्षण गर्न आग्रह
पुरातत्व विभागले हाल स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल खण्डमा पर्ने पुरातात्विक एवं ऐतिहासिक सम्पदाको संरक्षण गर्न आग्रह गरेको छ ।
ऐतिहासिक सम्पदाको संरक्षणार्थ विभागले स्तरोन्नति भइरहेको उक्त खण्डसँग सरोकार राख्ने भक्तपुर र काभ्रेपलाञ्चोकका नियामक निकाय, सडक विभाग र आयोजनालाई आग्रह गरेको हो ।
उक्त क्षेत्रमा सम्पदा प्रभाव मूल्याङ्कन भइसकेको विभागले जनाएको छ । विभागका सङ्ग्रहालय अधिकृत पुरुषोत्तम आचार्यले एचआइएको प्रतिवेदन बमोजिम परम्परागत सामग्रीको प्रयोग गरी मौलिकस्वरुपमा पुनःनिर्माण गर्न पत्राचारमार्फत आग्रह गरिएको बताउनुभयो ।
उहाँका अनुसार ढुङ्गेधारासहित अन्य ऐतिहासिक सम्पदा पुनःनिर्माण गर्दा प्राचीन स्मारक ऐन, २०१३ (पाँचौँ संशोधन) बमोजिम गर्न तथा हालसम्म भए गरेका कार्यको प्रगतिसमेत विभागलाई उपलब्ध गराउन भनिएको हो । यसअघि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास खण्ड आयोजनाले स्तरोन्नति भइरहेको अरनिको राजमार्गको आठ दशमलव चार किमीमा पर्ने ऐतिहासिक आठ वटा संरचना व्यवस्थापनमा कठिनाइ भएको जनाएको थियो ।
उक्त संरचनामा काभ्रेपलाञ्चोकतर्फ साँगा–धुलिखेल खण्डमा पोखरी, मन्दिर, कुवा, नासिका मन्दिर र ढुङ्गेधारा रहेका आयोजनाको विवरणमा उल्लेख छ । यस्तै भैँसेपाटीमा दुई वटा कुवा, ढुङ्गेधारा र जनागालस्थित पिपलबोटमा गणेश मन्दिर ऐतिहासिक सम्पदाको सूचीमा परेका हुन् ।
यीमध्ये गणेश मन्दिर स्थानीयले अन्यत्र स्थानान्तरण गरिसकेका छन् । आयोजनालाई अन्य सात स्थानमा रहेका आठ सम्पदाको संरक्षण, व्यवस्थापन र स्थानान्तरण गर्नुपर्ने हुन्छ । सोही अनुसार बनाइएको वैकल्पिक ‘डिजाइन’का विषयमा स्थानीय जनप्रतिनिधि तथा सरोकार भएका निकायसँग छलफल गर्दै निर्माण प्रक्रिया अघि बढ्ने आयोजना कार्यालयले जनाएको छ ।
आयोजनाले साँगामा रहेको ऐतिहासिक पोखरीलाई नासिका भगवती मन्दिरनजिक वा उपयुक्त स्थानमा स्थानान्तरणको प्रस्ताव गरेको छ भने मन्दिर र कुवालाई पनि सोही मन्दिर आसपास स्थानान्तरण गर्न सकिने जनाएको छ । यस्तै नासिका मन्दिरको वरिपरिको भित्ता संरक्षण गरी एकतर्फी सडक निर्माण गर्ने वा नगर्नेबारे निर्णय हुन बाँकी छ ।
यसैबीच विभागले सम्पदास्थलमा अतिक्रमण भएको जनाउँदै काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनागालस्थित दुई तले सेतो पाटीमा राखिएका कार्यालय हटाउन नगर तथा वडा कार्यालयलाई निर्देशन दिएको छ । उक्त पाटीको माथिल्लो तलामा रेडक्रसको कार्यालय, ज्येष्ठ नागरिक समिति र नगरप्रमुख स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, नगर स्वास्थ्य क्लिनिक सञ्चालन हुनुका साथै सत्तलको दक्षिण–पूर्वी भागको पेटी र गारोमा फलामको रेलिङबार बनाएर पाटीको मौलिक स्वरुपलाई बिगार्ने काम भएकाले पाटीमा सञ्चालन गरिएका कार्यालय हटाउन विभागले निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *