सन्दर्भः नारी चेतना केन्द्रद्वारा विद्युतीय कुकर अनुदानमा वितरण

काभ्रे । पछिल्ला दिनहरुमा ग्रामीण र शहरी क्षेत्रका विशेषगरि महिलाहरु भान्छाका काममा कसरी सहजीकरण हुन सकिन्छ भनेर त्यसतर्फ आकर्षित भइरहेका छन् ।
गाउँघरमा चुल्होको काम गर्न अहिले पनि धुवाँमै गुम्सिनुपर्ने अवस्था छ । पछिल्ला केही दशकयता गाउँतिर गोबरग्याँसलाई दाउराको विकल्पको रुपमा अघि सारिएको थियो भने कतिपय ठाउँमा धुवाँरहित चुल्होको प्रयोग पनि गरिने गरिएकोमा अब भने यसमा केही परिवर्तन हुन थालेको एक अध्ययनले देखाएको छ ।

नारी चेतना केन्द्र काभ्रेले अहिले विद्युतीय कुकर अनुदानमा वितरण गर्दै विशेषगरि ग्रामीण महिलाहरुलाई सहजीकरण गरिरहेको छ । एकीकृत सामुदायिक विकासका कार्यहरु संचालन भएमा गरिबी निवारण हुने विश्वास लिएको यस संस्थाले पीछडिएका समुदाय विशेषगरि ग्रामीण महिला तथा बालवालिकहरुका लागि काम गरिरहेको छ ।
वातावरणमैत्री विद्युतीय उपकरणहरूको प्रदर्शनी गर्दै प्रयोगमा पनि जोड दिएको संस्थाले २२ हजार ९९ पर्ने विद्युतीय प्रेसर कुकर १३ हजार २६० मा उपलब्ध गराएको छ । संस्थाले काभ्रे र काठमाडौंमा गरि १ हजार ८०० विद्युतीय प्रेसर कुकर अनुदानमा वितरण गरेको छ । जसमध्ये बनेपामा ७२० वटा कुकर वितरणको लक्ष्य रहेकोमा ७३६ वटा वितरण गरिएको थियो भने पनौतीमा ३६० लक्ष्य रहेकोमा ३३४ वटा वितरण गरिएको संस्थाले जनाएको छ । यसैगरि धुलिखेलमा ३२० लक्ष्य मध्ये २९२ वटा, बेथानचोकमा १०० मध्ये १०४ वटा, नमोबुद्धमा ५० मध्ये ५४ वटा र काठमाडौंको बुढानिलकण्ठमा २५० वटा लक्ष्य रहेकोमा २८० वटा वितरण गरिएको थियो ।


यस्ता कुकर खरिदका लागि ८१.३ प्रतिशत महिलाहरुले आफैंले किन्ने निर्णय गरेका थिए भने ८.८ प्रतिशत महिलाका श्रीमानले यस्तो कुकर किन्ने निर्णय गरेका थिए । विद्युतीय कुकर किन्न लगानी गर्नेमा ४४.५ प्रतिशत महिलाले आफैं लगानी गरेका थिए भने २९.४ प्रतिशतले ऋण लिएर खरिद गरेका थिए । यस्तै १६.९ प्रतिशत महिलाका श्रीमानले सहयोग गरेका थिए । कुकर खरिद गरेका घरमा हाल यसको प्रयोग गर्नेहरु मध्ये २.९ प्रतिशत पुरुष, ४०.८ प्रतिशत महिला र ५६.३ प्रतिशत महिला र पुरुष दुवैले प्रयोग गर्ने गरेको एक सर्वेक्षणले देखाएको पनि संस्थाले जनाएको छ ।

संस्थाले गरेको अर्को एक सर्वेक्षणमा प्रयोगकर्ताहरुले विद्युतीय प्रेसर कुकर किफायती र सरल भएको बताएका छन् । उनीहरुले बताए अनुसार कुकर ९८ प्रतिशत किफायती छ । यस्तो कुकरको प्रयोग गर्दा अरु कुकरको तुलनामा समय पनि बचत हुने बताएका छन् । यस्तो कुकर ९७ प्रतिशत सुरक्षित छ भने ग्याँसको प्रयोग ८३ प्रतिशत घटेको छ । यससँगै संस्थाले वातावरणमैत्री विद्युतीय उपकरणहरुको वित्तीय र स्वास्थ्य लाभबारे सचेतना कार्यशाला पनि संचालन गरेको थियो । वातावरणमैत्री विद्युतीय उपकरणहरुको प्रदर्शनी पनि गरेको थियो । यसैगरि यस्ता विद्युतीय कुकर मर्मतका लागि विभिन्न पालिकामा ४४ जनालाई तालिम दिइएको थियो । जसले गाउँमा यस्ता कुकर प्रयोग र बिग्रिएमा मर्मतका लागि सहयोग गर्नेछन् ।

संस्थाको परिचय
नारी चेतना केन्द्र नेपाल पीछडिएका समुदाय विशेषगरी ग्रामीण महिला तथा बालवालिकहरुको आर्थिक र सामाजिक विकास गर्ने उद्देश्यले २०४७ मा महिलाहहरुद्वारा स्थापित सामाजिक संस्था हो । यस संस्थाले एकीकृत सामुदायिक विकास कार्यहरु संचालन भएमा गरिबी निवारण हुने विश्वास गर्दछ । केन्द्रका कार्यक्रम हाल काभ्रे, चितवन, मकवानपुर, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा संचालित छन् ।

बचत तथा ऋण सहकारी संस्थाहरुको माध्यमबाट दीगो आपूर्ती श्रूंखला तथा माग उत्तेजना सिर्जना गरेर नेपालमा बिजुलीको प्रयोगबाट खाना पकाउने उपकरणको उपयोगलाई गति दिनु रहेको संस्थाकी अध्यक्ष सिर्जना पौडेलले जानकारी दिनुभयो । विद्युतीय प्रेसर कुकरको प्रयोगसम्बन्धी कार्यक्रम बागमती प्रदेशका दुई जिल्ला काठमाडौं र काभ्रेपलाञ्चोकमा संचालन गरिएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका र काभ्रेपलाञ्चोकका बनेपा नगरपालिका, पनौती नगरपालिका, धुलिखेल नगरपालिका, नमोबुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकामा कार्यक्रम संचालन गरिएको छ ।

कार्यक्रममा उपस्थितहरुले के भने ?
संस्थाले सरोकारवालाहरुसँग गरेको अन्तक्र्रियामा सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रमुख र उपप्रमुखहरु उपस्थित थिए । पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले विद्युतीय प्रेसर कुकरले वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने भएकाले यसको प्रयोग बढाउनु पर्नेमा जोड दिनुभयो । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले विद्युतीय प्रेसर कुकरको खरिदमा महिलाहरुले देखाएको सक्रियता एकदमै महत्वपूर्ण विषय रहेकाले पालिकाले यसमा के गर्न सकिन्छ, त्यसमा सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले सकेसम्म यस्ता कुकरमा अनुदान दिनुपर्नेमा जोड दिनुभयो ।

नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले विद्युतीय कुकरले विजुलीको पनि खपत धेरै नहुने र ग्याँसको प्रयोग घटाउने भएकाले यो निकै प्रभावकारी भएको बताउनुभयो । धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगमले आगामी दिनमा यस्ता कुकर प्रयोगमा पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *