काभ्रे । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ । उक्त भाइरसविरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्याङ्क सङ्कलन कार्य सकिएको तथा आवश्यक खोप आइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
देशव्यापी खोप कार्यक्रम अन्तर्गत आगामी माघ २२ देखि फागुन ६ गतेसम्म एकैपटक सञ्चालन हुने खोप जिल्लामा दुई चरणमा लगाइने भएको हो । कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठका अनुसार खोप कार्यक्रम सञ्चालनको तयारी अन्तिमचरणमा पुगेको छ । आवश्यकीय खोप जिल्लास्थित कार्यालयमा आइपुगेको छ । सोहीअनुसार जिल्लाका दुई सय ५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका १५ हजार छ सय ८६ र विद्यालय बाहिर रहेका दुई सय ४९ गरी १५ हजार नौ सय ३५ जना छात्रालाई खोप लगाउने तयारी गरिएको हो ।
यस्तै, विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका दुई सय ४९ किशोरीलाई खोप लगाउने योजनाबारे व्यवस्थापन गरिसकिएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ ।
सरकारले विश्व स्वास्थ्य सङ्गठनबाट प्रमाणित उक्त खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो । काभ्रेपलाञ्चोकमा भने व्यवस्थापनका हिसाबले दुई चरण अन्तर्गत नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा दोस्रो चरणको अन्तिममा लगाइने भएको श्रेष्ठले बताउनुभयो । स्थानीयस्तरका विद्यालयमा नै खोप केन्द्र सञ्चालन गरिने छ भने अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइने जनाइएको छ ।
पाठेघरको क्यान्सरका कारण दैनिक चार जनाको मृत्यु
नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार जनाको मृत्यु हुने गरेको छ ।
नेपालमा महिलामा हुने क्यान्सरमध्ये स्तन क्यान्सरपछि दोस्रो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सर बर्सेनी दुई हजार एक सय ६९ जनालाई हुने गरेको छ । तीमध्ये ६१ प्रतिशत अर्थात एक हजार तीन सय १३ जनाको बर्सेनी मृत्यु हुने गरेको तथ्यांक छ ।
ह्युमन पापिलोमा भाइरस (एचपीभी)को दुई सयभन्दा बढी प्रजातिमध्ये १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने मुख्य कारक हुन् ।
विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा यो रोग निवारणका लागि एकीकृतरूपमा तीन तहको उपाय अवलम्बन गर्न सिफारिस गरेअनुसार नेपाल सरकारले १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाउने भएको हो । गत आर्थिक वर्ष २०८०÷०८१ मा सात वटै प्रदेशका १० हजार बालिकालाई एचपीभी खोप लगाइएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार महिलामा हुने क्यान्सरमध्येमा पाठेघरको मुखमा हुने क्यान्सर चौथो मुख्य क्यान्सरको रुपमा देखिएको छ । विश्वमा हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने यो रोगबाट हरेक वर्ष तीन लाख ११ हजार (५५ प्रतिशत) महिलाको मृत्यु हुने गरेको छ ।
