काभ्रे । भनिन्छ, रक्तदान जीवन दान हो । यसको सफल उदाहरण बन्नुभएको छ काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडानम्बर ६ का बिदुर खड्का ।
उमेरले ५८ वर्ष भयो उहाँको । २०३८ सालमा पहिलोपटक रक्तदान गर्नुभएका उहाँले त्यसयता नियमितरुपमै रक्तदान गरिरहनुभएको छ । सम्भवतः उहाँ पनौती नगरपालिकामै सबैभन्दा बढी रक्तदान गर्नेमध्ये एक हुनुहुन्छ । यस अवधीमा विभिन्न ठाउँमा उहाँ प्रमुख अतिथी र विशेष अतिथी भएर रक्तदान अभियानमा पुगेको अनुभव सुनाउनुहुन्छ ।
शुरुमा काठमाडौंमा व्यवसायको शिलशिलामा जाँदा वीरअस्पताल नजिकै सवारी दुर्घटनामा परेका एक व्यक्तिलाई रगत आवश्यक परेको हुँदा खड्कालाई रगत दिन मन लाग्यो । त्यहि बेलादेखि शुरु भएको उहाँको रक्तदान अभियानले अहिले पनि निरन्तरता पाएको छ । पछिल्लो पटक उहाँले गत साउनमा १२२ औं पटक रक्तदान गर्नुभएको हो ।
‘हाम्रो शरीरमा निश्चित समयपछि पुरानो रगत आफैं खेर जाने र नयाँ रगत जम्मा हुने प्रक्रिया रहन्छ । त्यसैले खेर जाने रगतबाट कसैको जीवन बचाउन सकिन्छ भने किन नगर्ने ?’ उहाँ भन्नुहुन्छ । ‘पछिल्लो समय नेपाली समाजमा जन्मदिन मनाउने संस्कार विकसित हुँदै आएको छ । जसमा केक काट्ने चलन छ, खासमा म के भन्छु भने यसरी केक काटेर जन्मदिन मनाउनुभन्दा रक्तदान गरेर वा रक्तदान कार्यक्रम संचालन गरेर जन्मदिन मनाउनु राम्रो हो, यो जति ठूलो धर्म कुनै छैन । रगत दान दिँदा एकातिर पुण्य मिल्छ भने अर्कातिर आफ्नो शरीर पनि स्वस्थ हुन्छ ।’– खड्का भन्नुहुन्छ ।
आफ्नो परिवारका श्रीमती बाहेक छोरा र २ छोरीले पनि रक्तदान गरिरहने गरेको बताउने खड्काले ५८ वर्षका उमेरसम्म औषधिको रुपमा एउटा सिटामोल पनि खानुभएको छैन, यसको मतलब उहाँ एकदमै स्वस्थ हुनुहुन्छ । आफ्नो रगतको समूह बी पोजेटिभ रहेको उहाँले जानकारी दिनुभयो । शरीर र उमेरले साथ दिएसम्म रक्तदानलाई निरन्तरता दिने खड्काको सोच छ ।
