पछिल्ला दिनहरुमा ग्रामीण र शहरी क्षेत्रका विशेषगरि महिलाहरु भान्छाका काममा कसरी सहजीकरण हुन सकिन्छ भनेर त्यसतर्फ आकर्षित भइरहेका छन् । गाउँघरमा चुल्होको काम गर्न अहिले पनि धुवाँमै गुम्सिनुपर्ने अवस्था छ । पछिल्ला केही दशकयता गाउँतिर गोबरग्याँसलाई दाउराको विकल्पको रुपमा अघि सारिएको थियो भने कतिपय ठाउँमा धुवाँरहित चुल्होको प्रयोग पनि गरिने गरिएकोमा अब भने यसमा केही परिवर्तन हुन थालेको एक अध्ययनले देखाएको छ ।
नारी चेतना केन्द्र काभ्रेले अहिले विद्युतीय कुकर अनुदानमा वितरण गर्दै विशेषगरि ग्रामीण महिलाहरुलाई सहजीकरण गरिरहेको छ । एकीकृत सामुदायिक विकासका कार्यहरु संचालन भएमा गरिबी निवारण हुने विश्वास लिएको यस संस्थाले पीछडिएका समुदाय विशेषगरि ग्रामीण महिला तथा बालबालिकाहरुका लागि काम गरिरहेको छ ।
वातावरणमैत्री विद्युतीय उपकरणहरूको प्रदर्शनी गर्दै प्रयोगमा पनि जोड दिएको संस्थाले २२ हजार ५०० पर्ने विद्युतीय प्रेसर कुकर १३ हजारमा उपलब्ध गराएको छ । संस्थाले काभ्रे र काठमाडौंमा गरि १ हजार ८०० विद्युतीय प्रेसर कुकर अनुदानमा वितरण गरेको छ । जसमध्ये बनेपामा ७२० वटा कुकर वितरणको लक्ष्य रहेकोमा ७३६ वटा वितरण गरिएको थियो भने पनौतीमा ३६० लक्ष्य रहेकोमा ३३४ वटा वितरण गरिएको संस्थाले जनाएको छ । यसैगरि धुलिखेलमा ३२० लक्ष्य मध्ये २९२ वटा, बेथानचोकमा १०० मध्ये १०४ वटा, नमोबुद्धमा ५० मध्ये ५४ वटा र काठमाडौंको बुढानिलकण्ठमा २५० वटा लक्ष्य रहेकोमा २८० वटा वितरण गरिएको थियो ।
यस्ता कुकर खरिदका लागि ८१.३ प्रतिशत महिलाहरुले आफैंले किन्ने निर्णय गरेका थिए भने ८.८ प्रतिशत महिलाका श्रीमानले यस्तो कुकर किन्ने निर्णय गरेका थिए । विद्युतीय कुकर किन्न लगानी गर्नेमा ४४.५ प्रतिशत महिलाले आफैं लगानी गरेका थिए भने २९.४ प्रतिशतले ऋण लिएर खरिद गरेका थिए । यस्तै १६.९ प्रतिशत महिलाका श्रीमानले सहयोग गरेका थिए । कुकर खरिद गरेका घरमा हाल यसको प्रयोग गर्नेहरु मध्ये २.९ प्रतिशत पुरुष, ४०.८ प्रतिशत महिला र ५६.३ प्रतिशत महिला र पुरुष दुवैले प्रयोग गर्ने गरेको एक सर्वेक्षणले देखाएको पनि संस्थाले जनाएको छ ।
संस्थाले गरेको अर्को एक सर्वेक्षणमा प्रयोगकर्ताहरुले विद्युतीय प्रेसर कुकर किफायती र सरल भएको बताएका छन् । उनीहरुले बताएअनुसार कुकर ९८ प्रतिशत किफायती छ । यस्तो कुकरको प्रयोग गर्दा अरु कुकरको तुलनामा समय पनि बचत हुने बताएका छन् । यस्तो कुकर ९७ प्रतिशत सुरक्षित छ भने ग्याँसको प्रयोग ८३ प्रतिशत घटेको छ । यससँगै संस्थाले वातावरणमैत्री विद्युतीय उपकरणहरुको वित्तीय र स्वास्थ्य लाभबारे सचेतना कार्यशाला पनि संचालन गरेको थियो । वातावरणमैत्री विद्युतीय उपकरणहरुको प्रदर्शनी पनि गरेको थियो । यसैगरि यस्ता विद्युतीय कुकर मर्मतका लागि विभिन्न पालिकामा ४४ जनालाई तालिम दिइएको थियो । जसले गाउँमा यस्ता कुकर प्रयोग र बिग्रिएमा मर्मतका लागि सहयोग गर्नेछन् ।
यसरी संस्थाले गरेको अध्ययनले यस्तो देखाए पनि यो पर्याप्त भने होइन । गाउँमा मात्र नभएर कतिपय शहरमै पनि वातावरणीयरुपले किफायती यस्ता विद्युतीय कुकरहरु प्रयोग भएका छैनन् । यसलाई अझै प्रभावकारी बनाएर हामीले सबैको पहँचमा यस्ता कुकर पुर्याउन सके यसबाट विशेषगरि भान्सामा बस्नुपर्ने महिलाहरुको स्वास्थ्यलगायत अन्य पक्षहरुमा फाइदा पुग्ने देखिन्छ । यसर्थ यसतर्फ अब देशका तीनै तहका सरकारले विशेष ध्यान दिन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *