धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवस

धुलिखेल । जिल्लाको पर्यटकीय नगरी धुलिखेलमा ‘आउटडोर फिल्म स्टुडियो’ निर्माण हुने भएको छ । यसका लागि चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच सोमबार वडा नं ८ स्थित कटुवापाखाको एक हजार तीन सय रोपनी जग्गाका लागि सम्झौता भएको छ ।
धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसका अवसरमा बोर्ड र नगरबीच जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको हो । नगरप्रमसख अशोक ब्याञ्जू र बोर्डका अध्यक्ष दिनेश डिसीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पर्यटकीय नगरी धुलिखेलमा फिल्म स्टुडियो निर्माणले धुलिखेलको सुन्दरतालाई थप उचाइमा पुर्याउने बताउनुभयो ।
नगरप्रमुख ब्याञ्जूले चलचित्र क्षेत्रको विकास एवं प्रवद्र्धनका लागि नगरले सकेको सहयोग गर्ने बताउँदै धुलिखेलमा आउटडोर स्टुडियो परियोजनाले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म गन्तव्यका रुपमा थप विकास गर्ने अपेक्षा गरिएको बताउनुभयो । त्यसैगरी बोर्डका अध्यक्ष डिसीले उक्त जग्गामा प्राकृतिक सुन्दरता र अत्याधुनिक प्रविधि संयोजन गरी आउटडोर स्टुडियो निर्माण नेपाली चलचित्र उद्योगका लागि नयाँ उपलब्धि सावित हुने बताउनुभयो ।
यसअघि बनेपा नगरपालिका–१० र १३ वडास्थित बाहुनडाँडा सामुदायिक वनमा अत्याधुनिक फिल्म छायाङ्कन स्टुडियो निर्माणको प्रक्रिया थालिएको थियो । गत असार २८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय भएको छ । यसैबीच धुलिखेल नगर र दक्षिण कोरियास्थित मुङ्गयोङ्ग नगरबीच भगिनी सम्बन्ध कायम गरिएको छ । धुलिखेलको ३९औँ स्थापना दिवसकै अवसरमा दुई नगरबीच स्थापित भगिनी सम्बन्ध–सझदारीपत्रमा ब्याञ्जू र मुङ्गयोङ्ग नगरका प्रमुख ह्युन कोक सिङ्नल हस्ताक्षर गर्नुभयो ।
समझदारीपत्रमा संस्कृति, पर्यटन, शिक्षा र स्वास्थ्यलगायत विविध क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *