मण्डनदेउपुर । देशभरका दूध उत्पादक किसानले आफूले बेचेको दूधको नियमित भुक्तानी नपाएको दुई वर्ष भयो । पटक पटक दूग्ध विकास संस्थानको केन्द्रीय कार्यालय धाउँदा धाउँदै हैरान भएका किसानले केही महिनादेखि भुक्तानी त पाउन थालेका छन् तर ५ महिनाको पुरानो बक्यौता अझै पाएका छैनन् । यसैबीच काभ्रेको मण्डनदेउपुर नगरपालिकाका एक किसानले भने दूध बेचेर गोल्ड मेडल पाएका छन् ।
वडा नम्बर ९ गहतेका किसान जोगलाल तामाङले दूध बेचेर गोल्ड मेडल पाउनुभएको हो । उहाँले दैनिक २५ देखि ३० लिटर दूध बिक्री गर्दै आइरहनुभएको छ । धेरै दूध बिक्री गरे बापत तामाङ सम्मानित हुनुभएको हो । उहाँलाई गत शनिबार इन्द्रावती बहुउद्देश्यीय सहकारी संस्थाले मेडल, बाल्टी र प्रमाणसहित सम्मान गरेको हो ।
तामाङले डोकोमै दुध बोकेर बार्षिक ४ लाख ४६ हजार ८४५ रूपैयाँ आम्दानी गर्नुभएको थियो । तामाङको घरमा दुई वटा भैंसी र एउटा दुहुनो गाई छ । यो सहकारीमा नियमित दूध संलकन गर्ने ७८ जना किसानमध्ये धेरै दूध बिक्री गरेर जोगलाल तामाङ प्रथम हुनुभएको संस्थाले जनाएको छ । उहाँलाई सहकारीको २६ औं बार्षिक साधारणसभामार्फत सम्मान गरिएको हो ।
संस्थाका अनुसार दूध बिक्रीबाट ३ लाख २३ हजार ६१५ आम्दानी गरेर राजकुमार तामाङ दोस्रो, २ लाख ९८ हजार १२० रुपैयाँ आम्दानी गरेर सुस्मिता तामाङ तेस्रो र २ लाख ५५ हजार ९५५ रुपैयाँ आम्दानी गरेर यादवप्रसाद नेपाल चौथो हुनुभएको छ ।
यता दुग्ध विकास संस्थानले नियमितरूपमा दुधको भुक्तानी नगरिदिँदा आफूलाई धेरै समस्या भएको किसानहरु बताउँछन् । केही महिना यता नियमित भुक्तानी पाए पनि ५ महिनाको पुरानो बक्यौता बाँकी छ । यसले उनीहरुलाई समस्या भएको हो । मण्डनदेउपुरमा उत्पादन भएको दूधको ठूलो मात्रा काठमाडौँ उपत्यकामा खपत हुने गरेको छ ।
