पनौती । काभ्रे इङ्गलिस स्कूल पनौतीमा पुग्दा विद्यालयको आँगनमा साना साना नानीबाबुहरु आगन्तुकहरुलाई स्वागत गरिरहेका थिए । केही यताउता दौडिरहेका थिए भने केही आफूले सिकेका कुरालाई व्यवहारमा उतारेर प्रस्तुत गरिरहेका देखिन्थे । उनीहरुलाई शिक्षक शिक्षिकाहरुले सहयोग गरिरहेका थिए । मिठो स्वरमा नानीबाबुहरुले हामीलाई भने, ‘हाम्रो कार्यक्रममा तपाईंलाई स्वागत छ ।’ हामीले पनि धन्यवाद भन्दै उनीहरुका प्रतिभाहरु अवलोकनतिर लाग्यौं ।
शुक्रबार काभ्रे इङ्गलिस स्कूल पनौतीमा शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ । प्लेग्रुपदेखि कक्षा एकसम्मका विद्यार्थीले आफूले सिकेका कुराहरुलाई व्यवहारमा उतार्दै बनाएका खेलौना, भित्तेचित्रहरु, विभिन्न खेलहरु, स्थानीयस्तरमा पाइने कृषि उपजका बीउहरुलगायत प्रदर्शनीमा राखिएका थिए । ती दृष्य हेर्दा साँच्चै उमेर पुगेका पाको व्यक्तिले गरेका काम जस्तो लाग्थ्यो तर त्यहाँ त कक्षा एकसम्मका साना नानीहरुको प्रस्तुती मात्र थियो । उनीहरुले ४२ वटा स्टलमार्फत प्रदर्शनी गरेका थिए ।
विद्यार्थीका प्रतिभालाई प्रस्तुत गर्न र उनीहरुलाई थप जागरुक बनाउन शैक्षिक प्रदर्शनी गरिएको विद्यालयका प्रिन्सिपल वसन्त नेपालले बताउनुभयो । ‘साना नानीहरु काँचो माटो जस्तै हुन् । उनीहरुलाई भविष्यमा कस्तो बनाउने भनेर अहिल्यैदेखि सोच्नुपर्छ ।’ यहि उद्देश्यले विद्यालयले यस्तो कार्यक्रम बेलाबेलामा गर्दै आइरहेको र आगामी दिनमा पनि गरिरहने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बिनोदकुमार न्यौपानेले बालबालिकाको शिक्षामा विद्यालयको भन्दा बढी अभिभावकको भूमिका महत्वपूर्ण हुने भएकाले विद्यालयमा सिकेका कुरा घरमा गएर गृहकार्य गराउनमा उनीहरुलाई अभिभभावकले ध्यान दिनुपर्ने बताउनुभयो । यस विद्यालयका विद्यार्थीहरुका प्रतिभा देख्दा आफूले स्कूल पढ्दा ठूला मान्छेहरुसँग बोल्न पनि डराउने गरेको अवस्था रहेकोमा अहिलेका साना बालबालिकाहरुले निर्धक्कसँग खुलेर अभिभावकसँग कुरा राख्न सक्ने अवस्था रहेको उहाँले बताउनुभयो । यसमा विद्यालयको व्यवहारिक शिक्षाले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो । कार्यक्रममा सम्बन्धित विद्यार्थीका अभिभावकहरुको पनि उल्लेख्य उपस्थिती थियो ।
